Wednesday, November 6, 2019

विपी अस्पताल धरानको ईमर्जेन्सीमा दश घण्टा

"विपी अस्पताल धरानको ईमर्जेन्सीमा दश घण्टा"

"तिमी कति वर्षकी भयौ "
डाक्टरले हामी छेउको बेडकी एकदमै सानि देखिने बिरामी केटीलाई सोधे ।
हामी पुगे देखी वाकवाक मात्र गरिरहेकी केटीले मसिनो स्वरमा उत्तर दिई : " सत्र । "
ऊ संगै उ जतिकै उमेरका अरू दुई केटीहरू पनि थिए । उनीहरू सुनेर मात्र उभिईरहे । अन्य बिरामी कुरूवा जस्तो बिरामीको हिष्ट्री बताउन अघि सरेनन् ।
डाक्टरले अर्को प्रश्न तेर्साए : " जाँड रक्सी खान्छौ ? "

बिरामी बोलिन :"खान्छु ।"
"ए , कहिले देखी खान थालेको नि ? " पुनः अर्को पुरक प्रश्न सोधियो ।
केटीले नहिचकिचाई जवाफ दिई  :" सानै देखी "
प्रश्नोत्तर मै बुझियो केटी पूर्वी नेपालको ताप्लेजुंगको कुनै गाउँपालिकाबाट उपचार गर्न आएकी रहिछन् ।
 नजिकैको अर्को बेडमा एक जना बुढा बा सुतिरहेका थिए । ग्यास्ट्राइटीस र कब्जियत भएर आउनु परेको बताउदै बुढा भन्दै थिए : " दुई दिन देखी ग्याँस्टीक भएर अनि गोटा दिसा भएर पेट दुखेर आएको । "
छालामा रातो कालो सानो सानो खटीरो जस्तो देखेर डाक्टरले के हो भनेर सोध्नु भन्दा पहले नै बुढाले उत्तर दिए  , " यो खै के हो अति चिलाउँछ  अनि यसरी कन्याउनु पर्छ । "
यति भनेर उनी साच्चि कै दाहिने हातको पाँचै औंलाले खर्याउ खर्याउ कन्याउन थाले ।
उनको जाँच पड्ताल गरेको रिपोर्ट हेरेपछी डाक्टरले उनलाई भाईरल हेपाटाईटीस हो भनेर "एचबिएसएजी" जाँच गर्न पठाए ।
अलि पर एक जना सानो भाई ऐया ऐया भन्दै थिए । डाक्टर आएर तल्लो पेट थिचथाच पारे । जति थिच्थे त्यति भाई ऐया भन्थे । डाक्टरले एपेन्डिसाईटीसको शंका गरेर सर्जनलाई खबर गरि भिडीयो एक्सरे गर्न पठाए ।
त्यस्तै उनकै देखी माथिल्लो बेडमा एक जना आमालाई नर्सले "नेसोग्याष्ट्रीक ईण्टुबेसन" गराउदैथिन् ।
पातलो पाईपलाई बिस्तारै नाक भित्र ठेल्दै उनी महिलालाई भन्दै थिन :"निल्नुहोस आमा बिस्तरै निल्नुहोस । मैले ठेलेको छुईन । "
आमा पनि अलि अफ्ठ्यारो गर्दै पाईपलाई निल्दै जादैथिन् ।

यि भए मेरो बिरामी र त्यस वरीपरीको दृश्य । यस बाहेक त्यँहा अरू धेरै विरामीहरू उपचारका लागी आएका थिए । तातो पानिले पोलेको ,  माईल्ड हार्ट एटेक भएको , काम जोरो र भमिटींग भइरहेको ,  गाडी एक्सीडेण्टमा घाईते भएको  , खुट्टा सुन्निएर भत्भति पोल्ने भएको लगायत अन्य धेरै बिरामीहरू त्यँहा निको हुन आएका थिए  ।
हेर्दा हेर्दै एक जनाको त ज्यान समेत त्यँहीबाट महाप्रस्थानको यात्रामा निस्कियो । वरिपरि घेरेर बसेका आफन्तको रूवाबासी चल्यो । वातावरण एक्कासी केही क्षण स्तब्ध भयो । शवलाई मोर्चरी लगेपछी त्यँहाको वातावरण पुनः पहीले जस्तै भयो , चहलपहल उस्तै । सबै बिरामीहरूको अनुहारमा रोगले दीएको कष्ट देखिन्थ्यो भने हस्पिटल प्रवेश गरेपछी आँखामा जिजिबिषाको चमक भने प्रष्टै देखिन्थ्यो  ।
यस्तो थियो विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी । डाक्टर  ,  नर्स र ईमर्जेन्सीमा कार्यरत सबैजना स्टाफहरू बिरामीको उपचार गर्न  र गम्भिर बिरामीहरूलाई बचाउन प्रयासरत थिए । मानिसहरूले भने जस्तो त्यँहाको स्टाफहरू आफ्नो मान्छेलाई मात्र हेरीरहेका थिएनन् । आवश्यकता र प्राथमिकताको आधारमा सबै बिरामीहरू निगरानी मै थिए । कोही कसै संग झर्केका थिएनन् । आफ्नो मेडिकल ज्ञानलाई सरसल्लाह र अनुभवको आधारमा बिरामी उपचारको क्रममा प्रयोग गरिरहेका थिए । खै किन हो एक प्रकारका मानिसहरू यहाँको ईमर्जेन्सीमा भेदभाव हुने कुरा बताउँछन्   । शायद मानिसहरूले आफ्नो बिरामीलाई पहिला हेरीदिओस्  भन्ने चाहन्छन् तर त्यँहा बिरामीको अवस्थालाई महत्व दिइने हुनाले पो यस्तो भ्रम बाहीर प्रचारित भएको हो की ?
मैले आफ्नो बिरामीलाई राखीएर "अब्जरवेसन"मा बसेको दश घण्टामा त्यहाँ नकारात्मक केही भेटीन । सबै कुरा काबिल-ए-तारिफ नै थियो ।
"डिस्चार्च" भएर निस्कने बेलामा छेउको बुढा मान्छेको कुरूवाले उनको "एचबिएसएजी"को रिपोर्ट ल्याएर नर्सलाई दिए । नर्सले हेरेर साथिलाई भनिन् :" ओई यिनको रिपोर्ट त एचबिएसएजी पोजेटीब आएछ । "
मलाई भने त्यस कुराले अचम्मित बनायो । " हेपाटाईटीस बि" सर्ने सम्भावना त लागू पदार्थ दुर्व्यसनिहरूले एउटै सुई प्रयोग गर्दा , संक्रमितको रगत कुनै अन्य माध्यमद्वारा शरिर प्रवेश गर्दा वा संक्रमित संग असुरक्षित यौन सम्बन्ध राख्दा मात्र सर्ने बुझेको छु ।
के यि बुढा मान्छेले कतै गल्लीको कुनामा सामुहिक रूपमा सुईले लागू औषध लिए होलान र ?
 के कोही संक्रमित महिला संग " अनप्रोटेक्टेड सेक्स" गरे होलान् र ?

विकास आचार्य
धरान

Sunday, August 25, 2019

निर्णय



मध्य श्रावण ।
धमिलो पानिको मोटोमोटो मुस्लोको रुपमा भयंकर गर्जनका साथ कोशी आफ्नो उच्चतम गतिमा अविरल दक्षिण प्रवाहित भइरहेको थियो । सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकालाई एकापसमा अंकमाल गराउने कोशी नदीको नवनिर्मित पुल अन्य समयमा हो भने रमणीय पर्यटकिय स्थलको रुपमा विकसित हुदै गएको भान हुन्थ्यो । भिंडभाड र चहलपहलले एक किसिमको माहौल निर्माण गराएको हुन्थ्यो किनकी स्थानिय र बरपरको शहरवासीहरुको छोटो दुरीको घुम्नजाने गन्तव्य बनेको थियो कोशी माथिको यो पुल ।
तर आज , मतलब अहिले त्यही पुल , त्यही डाँडाकाँडा , त्यही हरियाली , अनि त्यही नदी अत्यंत डरलाग्दो आभाष भएको छ । बिहानको यो झिसमिसेमा रजत असिन पसिन भएको छ , दिमाग कुनै चलचित्र झैं विगत देखी आज सम्म कुदिरहेको छ ।
जिवनलाई खुशी , सुखी , उज्यालो  र रमाईलो बनाउन संघर्षशील रजतले के गरेको थिएन ?
उसको परिश्रमले उसलाई न्यूनतम आवश्यकता पूर्ती गर्न अफ्ठ्यारो थिएन । जिवन खुशी साथ बितिरहेको थियो । समाएको सानो काम सफल हुदै गइरहेको अवस्थामा अचानक जिवनको एउटा दोबाटोमा आएर उसको संसार  अन्तै मोडीयो । मोहनीलाई भेटेको क्षण उसले आजको दिनको परिस्थिति कल्पना पनि गरेको थिएन । केहीदिनको संगतले नै एकअर्कामा एकदमै नजिक भएका उनीहरु “ लिभिंग टुगेदर” को रिलेसनसिपमा पुग्न बेर लागेन ।
तर आकाश सधैं स्वच्छ र सफा नहुने रहेछ । मोहनी बदलिन थालिन अनि बदलिन थाल्यो उनको माया र व्यवहार । छ महिनाको विश्वासको सम्बन्ध रहेको बेला कहिले हो उनले शारिरीक सामिप्यताको भिडीयो बनाएकी रहिछन् । यो कुराबाट रजत बेखबर रहेछ । आज त्यही भिडीयो उसको उज्यालो जिवनमा अँध्यारो खोंच भएको छ , खुशी माथि सानो क्लिप मानसिक उथलपुथलको कारक भएकोछ ।
तसर्थ आज एकबिहानै ऊ कोशीको यो पुल माथि विक्षिप्त उभिएको छ , आवेश र मानसिक आवेगमा छ अनि यो निर्जनताको घनघोर आवाजले उसलाई छपक्क छोपेको छ । ऊ प्रतिक्षामा छ फ्याट निमेष भित्र उसले लिने कुनै निर्णयको , जुन अहिले चै रिक्त छ , अनन्त छ ।

Wednesday, August 14, 2019

सपना


विज्ञान विषय लिएर १२ कक्षा पढ्दा पढ्दै दियाको हात माग्न प्रसुतका बा पुगे ।भरखरै १८ वर्ष टेकेकी अत्यन्त सुन्दरी दियाको न अहिले नै विवाह गर्ने चाहना थियो न त उसका बा आमा मानेका थिए तर केटा पक्षको बारबारको आग्रह पछी आखिर उनीहरु हारे ।
एक दिन धूमधाम संग प्रसुत र दियाको शुभविवाह सम्पन्न भयो । भरखर १२ कक्षाको परिक्षा दिएकी दिया नर्स बन्न चाहन्थिन् ।तर विवाह भएको उमेर र रहरले फस्टाएको मायाप्रितीमा एक वर्ष बितेको उनलाई पत्तै भएन । यस बिच उनी १२ कक्षा राम्रो अंक ल्याएर उत्तिर्ण भईन । यस संगै उनको नर्स बन्ने सपना पनि पुन: जागृत भयो । उनी दिनरात प्रसुतलाई आफु पढ्न चाहेको र पढेर नर्स बन्ने आकांक्षा राखेको कुरा कर गर्न लागिन ।
 प्रसुतको कुनै कमाई थिएन । पूर्ण रुपमा बाआमामा आस्रित थियो । उसले दियाको इच्छा नै आफ्नो पनि इच्छा भएको भन्दै धेरै पटक बालाई दियालाई पढाउने पैसा माग्यो तर बुहारी पढाउनु हुदैन भनेर उसको कुरा ठाडै अस्वीकार भयो ।
आफ्नो कमाई नभएको र आफूले प्राण भन्दा प्यारी मानेकी पत्नीको इच्छा पुरा गर्न नसकेकोमा उ धेरै दुखी थियो । धेरै सोच विचार गरेपछी उसले विदेश जाने निर्णय गर्यो । यसमा पनि बाको साथ नपाएकोले व्यापारी साथिसंग डेढ लाख ऋण काढेर यता श्रीमतीलाई नर्सिंग कलेजमा एडमिशन गराएको एक महिना मै उ मलेशिया उडेयो ।
कडा मिहेनत गरेर प्यारी श्रीमतीको इच्छा पुरा गरेर खुशी बनाउने सपनामा उसले दिनरात नभनी काम गर्यो । साथीभाईहरुले मिठो खाँदा , राम्रो लगाउँदा पनि उसले आफूलाई सम्झेन , दिया नै मेरो जीवन हो भनेर अनावश्यक खर्च गरेन । हरेक महिना घरमा दियालाई पैसा पढ़ाई रह्यो ।
यसरी नै चार वर्ष बित्यो । दियाको पनि पढाई सकिएर परिक्षाको रिजल्ट आउन बाँकी थियो । उसले अर्को हफ्ता घर आउने भनेर दियालाई भनिसकेको थियो ।
काठमाडौंबाट अलमल नगरी उ सिधै आफ्नो घर , सुनसरी तिर हानियो । घर पुग्दा सबैलाई उदास देख्छ , कोही केही बोल्दैन । सिधै आफ्नो कोठा पसेर हेर्दा सबै अस्तव्यस्त , नयाँ र मूल्यवान सामान केही छैन । उ थचक्क पलंगमा बसेको बेला आमा आएर भनिन् “ तेरो बुढीले तलाई  छोडेर काठमाडौं तिरको केटो च्यापेर हिंडी ।”
ठिक त्यही बेला पल्लो कोठाको भित्तामा झुण्डीएको टिभीले त्यस बर्षको नर्सिंग परिक्षाको परिक्षाफल प्रकाशित गरेको सूचना सम्प्रेषण गर्यो ।
- २०७६/०४/२९

Tuesday, July 23, 2019

तारा

एउटा उदीयमान तारा
हाम्रो आकाशमा उदाउँदा
सारा धरती चम्कने
सपना देखेको थिएँ मैले !
कृत्रिम होस या प्राकृतिक
यहाँको सुन्दरता निखार्न
तिम्रो शितल प्रकाश छरिने छ
एउटा उचाइमा पुग्न सकेका तिमी
आफ्नो विशेषता र गुण
मेरो माटोको उन्नतिको लागी पोख्छौ !!
विश्वास गरेको थिएँ
मृत्यु शैयामा सुताइएको मेरो भूमीलाई
तिम्रो चम्कँदो नेतृत्वले
आफू संगै उचाईमा पुर्याउने छ !
कहिले काँही अँधेरी रातमा
कालो बादलले तिमीलाई छोप्दा
मन हुँडलिएर आउँथ्यो
एउटा पिडाको लहर
अनायसै रजमा प्रवाहित हुन्थ्यो  !!
तिमी उदाएको बिहानीमा
सुस्तरी मेरो माटो प्रदीप्त हुदैथ्यो
यसलाई सिंगार्न तिमीले गरेका
प्रत्येक प्रयास पारितोषिक थिए !
तिम्रो प्रकाशको शितलताले
निर्माण शुरू गरेको मेरो माटोले
प्रथम वर्षाले सिंचेपछी छर्कने
सुगन्ध नाकबाट हट्न नसक्दै
एक रात अविरल वर्षा भईरह्यो
बफादार भनि चिनिएको
पल्लो घरको राते कुकुर पनि
त्यो रात एकोहोरो रोइरह्यो !
झस्किएको मेरो मन
अप्रिय कुनै आशंकाले
सगरमाथाको उचाइबाट
एक्कासी तल झर्दा
ऐंठन परेर अत्तालिएको थियो !
अर्को  दिन रातमा
सफा आकाशमा देखिएका
लाखौं ताराहरुको चमचम माझ
एउटा तारा तेजस्वी देखियो
हेर्दा हेर्दै  अनायस
त्यो तारा खसि गयो  ! !

तारा खसेको त्यो रात सम्झदा
आज पनि मन उद्वेलित हुन्छ
एकोहोरो शंख बजेको त्यो रातले
कहालिलाग्दो याद बोकेको छ
तारा खसेको माटोमा विहानै
समवेत भएका जनसागर देख्दा
तिम्रो अस्तित्व खड्किन्छ  !
त्यस पछी
हरेक रात आकाशमा
त्यही तारा खोज्ने गर्छु
बिहान नभई अस्ताएका तिमी
फेरी कहिल्यै उदाएनौ
हरेक रात मेरा नयनले
गगनमा तिमीलाई खोज्ने गर्छ
एउटा चम्किलो तारा
सधैं देंखिने
फेरी कहिल्यै देखिएन !!

विकास आचार्य
२०७६/०३/०२

Monday, June 3, 2019

मेरो धरान

माथि सगरमा टिलपिल टिलपिल गर्छ तारा
तल नगरमा झिलमिल झिलमिल गर्छ सारा
निस्पष्ट अँध्यारो डुवेको छ गर्दै यहाँ आराम
हेरीरहेको छु निशामा आज मेरो प्यारो धरान !

निष्पस्ट निशा छ अन्धकार डुबेको
बलेको देह छ हेर सर्वांग खुलेको
फक्रेकी कली निम्त्याउने सबै लोचन
मन चन्चल बनाउँछ केही त सोच न  !

लालीमा बोकेको पुरा यौवनको
भवँरा जति छन् यो कंकृट वनको
पछी लाग्दछन् बलेकी सुन्दरीको
सब एकछन् रूप अप्सरा सरिको !

युवा पनि झन् के मा कम छन्
सिनेमा खेल्ने नायक सम छन्
वलिश्ठ शरिरको चटक्क छ ज्यान
सान मान सबै हुने हाम्रो धरान  !

सरदु सेउती सारंगा छ माथि
भय छैन यहाँ ठूलो छ छाति
देखिए यहाँ कुनै खराब समाज
सबै मिलि सुधार्न नमान्ने नि लाज !

सफा छन् सडक उस्तै छन् शाखा
भब्य छन् शहरका सबै भित्र पाखा
रंगीविरंगी घरले सजिएको छ जान
म जन्मी हुर्केको मेरो प्यारो धरान !

-बिकास आचार्य
धरान

Sunday, June 2, 2019

यथार्थ


आज श्रावण ६ गते , विपि कोइरालाको स्मृति दिवस, साँझको समयमा परमधामको कुनै स्थानमा एक्लै बसेर नेपाली राजनितिका महानायक एवं नेपाली कांग्रेसका संस्थापक , जननेता विपी कोइराला आफ्नो एण्ड्रोइड मोवाइलको चौडा स्क्रिनमा लामा लामा औंलाले स्क्रोल गर्दै आफ्नो फेसबुक हेर्दै थिए । काठमाण्डौ लगायत धेरै जिल्लाहरूमा बिभिन्न विचार गोष्ठीहरू सम्पन्न भएछन् । त्यसैगरि कहीं वृक्षारोपण त कहीं बृद्ध , असहाय , अशक्त र बिरामीहरूलाई फलफुल वितरण गरेका रहेछन् । 
यिनै सन्दर्भहरूमा स्थानिय नेता कार्यकर्ताहरूले अपलोडेका बर्गेल्ती फोटाहरू माथि उनी एकछिन टक्क अडिदै अगाडी स्क्रोल गर्दै जाँदैछन । कुनै कुनै पुरानो महत्वको स्थानमा केही गरेनछन् , उनलाई पूर्ण रूपमा बिर्सेछन् । यो थाहा पाउँदा उनलाई कार्यक्रम गर्नेले पनि केवल झारो टार्न केही गरेको जस्तो लागेको छ भनेर उनको स्निग्ध मुहारले देखाइरहेको थियो । 
सबैले आ-आफ्नो पोष्टमा उनले धेरै बर्ष पहिले बोलेको "सुकिलो मुकिलो " वाला भनाईलाई महत्वका साथ पोस्ट्याएको देखेर उनले मनमनै सोचे : " मैले अधुरो बोलेको कुरालाई सबैले समय सापेक्ष भनेर प्रचार गरेका रहेछन् तर यो अब अपूर्ण राख्न हुदैन , मैले त्यसलाई पुरा गर्नु आवश्यक भइसकेको रहेछ त्यसैले म पनि अब एउटा स्टाट्याटस पोष्ट्याइदिनुपर्यो । "
यस पछी उनले एउटा फेसबुक स्ट्याटस लेखे जुन यस्तो थियो - " मुलुकमा गणतन्त्र आएपछी ठूलाठूला भिडको नेतृत्व गर्ने , त्यस्तै महलहरूमा बस्ने , महंगा एवं चिल्ला गाड़ी चढ्ने , पहुँच , पैसा र पाखुरा भएकाहरू पार्टीमा हावी हुनेछन र त्यस्तो बिरुद्ध एकपल्ट फेरी नेपाली कांग्रेसको लागी रगत र पसिना बगाउने निष्ठावान कार्यकर्ताहरूले ठूलो संघर्ष गर्नु पर्ने छ । अब त्यो बेला आइसक्यो । "

" धन र मन "


उनको घरमा लक्ष्मीपूजालाई भनेर सेल रोटी पाक्दै थियो । एक डालो रोटी पोलिसकेको र अरू त्यति नै हुने गिलो पिठो बाँकी नै थियो ।
त्यही बेला एकजना करेसा जोडिएकी छीमेकी आइन , रोटी पोलेको देखेको हुनाले मिठो भएको सुनाएर एउटा रोटी डालोबाट झिकेर चार टुक्रा पारेर एक टुक्रो खान भनेर उनले छीमेकीलाई दिइन ।
एक टुक्रो सेल बडो अफ्ठ्यारो मान्दै घाँटीबाट तल निलेर छीमेकी बहीनि घर बाहीर निस्कदा तल पसलमा त्यही स्थानमा बनिबुतो गरेर जिविकोपार्जन् गर्ने माईला दाईलाई भुक्के पाउरोटी किन्दै गरेको देखीन । एउटा पाउरोटीको पैसा तिरेर हातमा बोकी फर्के पछी मात्र माइलादाईले राते कुकुरले उनको खुट्टा सुंघ्दै पुच्छर हल्लाउदै गरेको थाह पाए । यसलाई जति ख्वाए पनि पुग्दैन भनेर हातको पाउरोटी कुकुरलाई दिएर उनि अर्को किन्न फेरी पसल तिर नै फर्किए ।

जितौरी


आज पनि कविन्द्रले हजार हजारको पन्ध्रवटा नोट कविताको हातमा राखीदिदैं भन्यो :" ल यो पन्ध्र हजार राख , आज पनि झण्डै अस्सी हजार मारें ।"
राति डेढ बजि सकेको थियो , अर्ध निन्द्रामा रहेकी उसले जितौरी रूपी पैसा हातले थाप्दै गर्दा पतिको मुखबाट ह्वास्स रक्सीको गन्ध आएको थाहा पाई । उसले अब बुढाले खाना पनि नखाने भन्ने अनुमानले सोधि :" खाना के गरौं ? कि बाहिर नै खाईसकेको ? "
कविन्द्रले नखाने संकेत गरि टाउको हल्लाएर लुगा शरिरबाट फुकालेर फुत्फुति भुँईमा फ्याक्न थाल्यो । बुढीचैंले सबै समेटेर एउटा कुनामा भोलि धुने भनेर थन्काई । राति सुत्दा लगाउने कपडा , एउटा हाफपेण्ट र भेष्ट लगाएर बुढा भने डंग्रंग पलंगमा पल्टीयो । 
कविताले अघि हात परेका पन्ध्रवटा नोटहरू टेबलबाट उठाएर पुनः एक पटक गनी दराज भित्र राखी । 
सोर्हश्राद्ध शुरू हुनु भन्दा अगाडि देखी बुढाले आज सम्म एक लाख पच्चीस हजार रूपैंया त जितौरी नै दिएको रहेछ । बिचमा दुई खेप कविन्द्रले आज हारें भनेको उसलाई सम्झना छ नत्र कहिले आज साउँकासाउँ भएँ भनेको छ भने कहिले आज धेरै जित्न सकिन भनेको छ । धेरै जसो त उसले पाँच देखी पच्चीस हजार सम्म जितौरी नै पाएकी छ ।
पलंगमा लडेको बुढालाई उसले पुलुक्क हेरि । भित्ता पटी पल्टीएको कविन्द्र निदाएको छैन भनेर उसले थाह पाई हालि । केही गहिरिएर सोच्दै गरेको जस्तो उसले दाहिने हातको चोर औंलोले प्याट प्याट आफ्नै दाहिने तिघ्रामा हिर्काइ रहेको छ ।
"निन्द्रा लागेन र ? के कुरामा गहिरिएर सोचिरहेको ? "कविताले बुढाको हात माथि आफ्नो हत्केला राखेर सोधि ।
"केही हैन , घर व्यवहार बारे सोचिरहेको नि । मोटरसाइकल पनि थोत्रो भईसक्यो नयाँ किन्नु पर्ने , उ हेर न घरको भित्तामा पुरै फोहोरको टाटा देखिन थालिसक्यो रंगरोगन गर्नु पर्ने । " कविन्द्र चिन्चित देखियो ।
"घरमा रंग त अस्ति दशैं अगाडी नै लगाउनु पर्ने हो नि , तपांईलाई साथिहरूसंग तास खेल्नबाट फुर्सत नै छैन । अँ साच्चि घर बनाउँदा लिएको ऋण चुक्ता गर्नु भयो हैन ? साथिभाईसंग लिएको ऋण बेलैमा चुक्ता गरेन भने सम्बन्ध बिग्रन्छ , तिर्छु भनेको म्याद नजिक आइसक्यो नि " बुढीले सम्झाउँने पाराले सोधि ।
"एक हफ्ता अघि नै ऋण त तिरीसकेको नि । मैले तिमीलाई भनेको थिएँ त । यसपालिको दशैं अघिको खेलमा जितेको पैसाले घरको ऋणबाट चै पार पाइयो , एक मुष्ट बाँकी रहेको किस्ता चुक्ता गरि ऋण मुक्त भईयो ।" यति भन्दा कविन्द्रको अनुहारको रंग फुंग उडेको कविताले देख्न सकिन ।
छरछीमेक र आफन्तकामा जाँदा आउँदा तासमा जितेरै ऋण तिरेको कुरा ऊ गर्वका साथ सुनाउने गर्न थालेकी थिई । ऊ खुशी देखीई ।
लक्ष्मीपूजाको दिन बिहान देखी नै उसले घर बढारेर सफा गरी । कविन्द्र अझै सुतिरहेकै छ । आज राति त तिन बजे मात्र घर आइपुगेको । अलि ज्यादा रक्सी पिएजस्तो थियो । कोठामा पस्ने बित्तिकै जुत्ता पनि नफुकालि पलंगमा लडेको थियो । उसले नै जुत्ता र सर्ट फुकालेर राखिदिएकी थिई । 
"भरे बेलुका लक्ष्मीपूजाको तयारी गर्नु पर्ने । आवश्यक सामग्री जुटाउनु पर्ने कस्तो खालको मान्छे होला " कविन्द्रले सुनोस भनेर ठूलो स्वरमा बोल्दै कोठा तिर जान लागेकी उसले बाहिर गेट चलाएको आवाज सुन ।
" कविन्द्र दाई , ओ कविन्द्र दाई कता हुनुहुन्छ बाहिर निस्कनु त ।"
बाहिर चारजना केटाहरू आएर बोलाउँदै रहेछन् । 
"गलेर सुतिरहनु भएको छ , कामबाट राति आउनु भएको । किन के काम पर्यो ? " 
अघिपछी कहिले नआउने , देख्दैनदेखेको केटाहरू तर्फ शंकाले उसले सोधि ।
"ओई केटा त्यो बाईक निकाल त " 
नाइके जस्तोले उसको साथिलाई निर्देशन दिएर कविता पटी फर्केर भन्यो , 
"हेर्नुहोस भाउजु कविन्द्र दाईले म संग यो बाईक राखेर एक लाख रूपैया लिनुभएको छ महिना भईसक्यो दिने लक्षण देखाउनु हुन्न । अनि मैले कडाई गर्नै पर्यो , आज म यो मोटरसाइकल लान्छु एक महिनामा पैसा तिरेर फिर्ता लैजानुहोस नत्र राम्रो हुदैन ।" 
यतिन्जेलमा बाहिर निस्कीसकेको बुढालाई कविताले किंकर्तव्यबिमुढ भएर पुलुक्क हेरी । उसले नजर जुधाउन नसकेर भुईमा हेर्यो । 
"यो घरजग्गा पनि सन्त दाईकोमा राखेर पचास लाख ऋण लिएको छ । तिहार सम्म पनि उकास्नु भएन भने घर पनि उम्केला ।" 
नाइकेको आवाज कविताको कानमा तातो झोल जस्तो पस्यो । सन्तदाई बारे उसले सुनेकी थिई । सन्त भन्नेले शहरमा जुवा खेलाउँछ भनेर उसलाई थाह थियो । उसले बुढालाई हेरी , अनुहारमा कुनै प्रतिकृया देखीएन , जमीन तिर एकोहोरो हेरीरहेको मात्र देखी । 
उसको स्मृतिमा हरेक रातको जितौरी , रक्सीले मातेको बुढा र बुढाको मलिन अनुहार अनि निदाउन नसकी ओल्टेकोल्टे फेरेको दृश्य आइरह्यो । 
हेर त हरेक रात उसको लोग्ने लाखौं हार्दै जितेको ढोंग गरेर हजारमा उसलाई जितौरी दिदैं आएको रहेछ ।

गलति कसको ?


" मामु , यो कसरी गर्ने सिकाईदिनुहोस न । "
होमवर्क गर्दै गरेको दश बर्षे सरलले आमालाई सहयोग माग्यो । सोफामा ढल्केर आफ्नो मोवाइलमा फेसबुक म्यासेन्जरमा व्यस्त लिजा आफ्नी साथी रमना संग हिजोको पार्टीको गहन विश्लेषण गर्दैथी । कसले कस्तो कपड़ा लगाएका थिए , गहना कसको कस्तो थियो , खाना कति भेराइटी र कस्तो थियो अनि कसले के गर्यो , के भन्यो केही छुटेको थिएन । इमोटीकन , स्टिकर र जिआइएफको आदानप्रदान व्यापक हुदै थियो । 
छोराको कुराले लिजालाई डिस्टर्व भयो । 
"एक छिन पख न । बरू एक पल्ट आफै गर्ने कोशिश गर ।"
सरल एक छिन आमा कै छेउमा बसिरह्यो । एक पटक आफै गणितको प्रब्लम हल गर्ने कोशिश समेत गर्यो । केहि सिप नलागेर पछी कम्प्यूटरमा जिटीए खेल्न थाल्यो । 
लिजाको च्याट चलि रह्यो । करिब आधा घण्टा पछी ऊ उठी । सरललाई कम्प्यूटरमा खेल्दै गरेको देखेर हकार्न थाली , "जति बेला हेर्यो कम्प्यूटर मैं झुण्डिराख्छस , पढ्नु कहिले छैन । आखिर तँ कहिले नसुध्रीने भइस । "

सोच


काठमाडौंको एउटा आलिशान घर अगाडीको सडक पल्लो किनारमा उभिएर एउटा फुच्चे लोभ र आशा मिस्रित नजरले घर तिर एक टकले हेर्दै थियो । यो दृश्य घरबेटीले देखे । पटक पटक झ्याल बाहिर आउँदा एउटै दृश्य देखेपछी घरबेटी सडकपार पुगेर फुच्चेलाई सोधे-
"तिमीलाई मेरो घर राम्रो लाग्यो हो ?" 
"हो" फुच्चे बोल्यो । 
यसलाई मेरो घर झन भित्रैबाट देखी देखाई दिनु पर्यो भन्ने सोचेर घरबेटीले फुच्चेलाई घर लिएर गए । घरको किचन , सिटींग रूप , बेडरूम , गेष्टरूम , ट्वाइलेट बाथरूम लगायत घरको सबै कुनाकाप्चा उनले फुच्चेलाई देखाइदिए । आधुनिक स्टाइलको सबै सुबिधा जडित घर देखेर उक्त फुच्चेको आँखा खुलेको खुले भयो । घरको चमकदमकले उसलाई मोहीत बनायो । भित्ता , भुँइ र हरेक फर्निचर उसले स्पर्श गर्यो । उसको मनोदशा देखेर घरबेटीले सोधे -
" के मेरो घर तिमीलाई मन पर्यो हो ? " 
फुच्चेले जवाफ दियो -
" हजुर , यो घर बनाउन करोडौं रूपैया लाग्यो होला , जमिन किन्न पनि त्यतिनै लाग्यो होला हैन ? "
"हो जमीन र घर दुवैलाई पाचौं करोड खर्च लाग्यो ।"
" तपांईले यति निर्माण गर्ने पैसा कमाउन धेरै मिहेनत गर्नु भयो होला ? "
घरबेटीले हाँस्दै भन्यो -
" हैन यो घरजग्गा त मेरो बुवाले मलाई मेरो चालिसौं जन्म दिनको उपहार दिनुभएको हो । "
केटो- 
" वाह तपांईको बुवा कति असल हुनुहुँदो रहेछ ।"
"तिमी अहिले म जस्तै भाग्यमानि हुन पाए हुन्थ्यो भनेर सोच्दैछौ हैन ।" घरबेटीले फुच्चेको मन टोटल्यो । 
"हैन नि , म त तपांईको बुवा जस्तो हुने सोच्दै छु ।" फुच्चेको आँखामा गजबको आत्मविश्वास र चमक थियो ।

मन


“देवीरमणको घर कहाँ हो ? “
वृद्धले मलाई सोधे ।
देवीरमण , मेरा छीमेकी काका हुन् । शिक्षित छन् , आर्थिक रुपले सम्पन्न नै छन् । काकी पनि शिक्षित हुन् । दुबै जना जागीरे हुन् । थोरै मात्र फुर्सदिला मान्छे हुन् काकाकाकी नै । तथापि कोही एक जना त घरमा होलान् ।
मैले जवाफ फर्काएँ :
“ उ त्यहाँ पर त हो वहाँको घर “
“ ए पुरानो घर त यता थियो जस्तो लाग्छ , भेट नभएको पनि तिन दशक भयो “ वृद्धले पुरानो कुरा सम्झदैं भने । “ यो ठाउँ नआएको पनि त्यति नै भयो होला नानी । सबै कुरा परिवर्तन भएछ । सबै कुरालाई समयको कसिले चम्काईदिएछ , शिथिल त केवल हामी भएछौं । ”
उनी नोस्टाल्जिक भए । उनको भावना नजिकबाट बुझेको हुनाले मैलै उनलाई आफैं काकाको घर सम्म पुर्याईदिने निर्णय गरेर भने : “ हिड्नुहोस बुवा म तपाईलाई त्यहाँ सम्म पुर्याईदिन्छु ।”
उनलाई साथै लिएर म काकाको घरमा पुगें । प्राय सुनसान हुने घर । सिटींगरुममा काकी एक्लै टिभी हेर्दै बसेकी थिइन् । मैले वृद्ध बुवा काकालाई भेट्न आएको बताएर उनको परिचय काकी संग गराएँ । काकीले उनलाई राम्ररी चिनिन् । केही पुराना सम्झनालाई पुन: केलाईयो । त्यसै बिच काकालाई फोन गरियो । काका बिसपच्चिस मिनेटमा घर आईपुग्ने भए ।
हामी तिनै जना मौन थियौं । काकी संग गर्नु पर्ने उनको कुनै कुरा नै थिएन ।
काकीलाई अफ्ठ्यारो लागेछ की के हो औपचारिकता स्वरुप वृद्धलाई सोधिन् :
“ सर्वत पिउनुहुन्छ ?”
उनले पिउने स्वीकृतिमा टाउको हल्लाए ।
त्यसपछी काकी किचन तिर जादैं गर्दा म पटी फर्केर सुस्तरी बोलिन् :
“ फ्रीजको चिसो सर्वत खान्छन् की खादैनन् ? “
म केही बोलिन ।
काकी पनि जवाफ नपर्खी हिंडिन् ।
केही क्षण पछी एक गिलास सर्वत ल्याएर काकीले वृद्धलाई दिदैं गर्दा उनले भने : “ एक्लै नखानु भन्छन् । “
म संगै त्यहाँ गएका उनलाई एक्लै पिउन अफ्ठ्यारो लाग्यो होला ।
काकी बोलिन् :
“ म चिसो खादिंन ।”
बृद्धले मलाई पुलुक्क हेरे । उनको घाँटीबाट सर्वत तल जान मानेन । उनको मन मैले पढें । काकीको मन पनि पढें ।
मलाई पनि त्यहाँ बसिरहन सारै असहज महसूस भयो ।
अनि जुरुक्क उठेर काकीलाई भने :
“ काकी म जान्छु है”
उनको प्रतिकृया पर्खिरहनु आवश्यक थिएन ।

आमा


आज अनायस मैले आफुलाई केही साल अघिको नवरात्रीको तेस्रो दिनको बिहानमा फर्केको पाँए । मृत्‍युको पिडालाई मैले अत्यन्त नजिकबाट हेरेको छु त्यो दिन । मेरी आमाको देहावासान भएको त्यो बिहान झिसमिसै देखी म अत्यन्त अत्तालिएको थिंए । आमाको घाँटीबाट केवल घ्यार घ्यार आवाज मात्र आइरहेको थियो । शरीरको भित्र कतैबाट निस्किएको आलो रगत गलामा पुगेपछी श्वासप्रश्वासको क्रमा त्यस्तो आवाज निस्कदैं थियो । बिहानको पहिलो प्रहर देखी नै अत्यंत पिडाका साथ आमाले जीवनको अन्तिम सास फेर्दै हुनुन्थ्यो । हामी स्तब्ध भएर आमाको मृत्‍यु आफ्नै आँखा अगाडि हेर्दै थियौं । आमा बेहोश हुनुहुन्थ्यो , आँखा अगाडि हत्केला हल्लाउँदा पनि कुनै प्रतिकृया जनाउनु हुँदैन थियो । रगत गलामा राखेर कुल्ला गरेको जस्तो आवाज सहित निरन्तर सास फेरेको झन्डै छ -सात घण्टाको पिडादायी घडीबाट मुक्त हुँदै साढे दश बजे आमाले हामीलाई सधैंको लागि छोडेर जानु भएको थियो ।
आमाको मृत्‍युको कारण मनुष्यले अहिले सम्म जित्न नसकेको निर्दयी रोग क्यान्सर थियो ।
देहावसान हुनु भन्दा करिब छ महिना अगाडि पेट दुखेको समस्या लिएर हामिले आमालाई अस्पताल लगेका थियौं । सामान्य रोग सम्झिरहेका हामीलाई अस्पतालले कल्पनातित रिपोर्ट दियो । रिपोर्टमा आमालाई कलेजोमा क्यान्सर भएको अप्रिय सूचना थियो । त्यो क्षण म किंमकर्तव्यविमुढ भएको थिए । अझ रोग छिप्पीसकेको र आमा अब केवल ५-६ महिना मात्र हामी बिचा रहन सक्ने कुरा थाहा पाउँदा शरीर एबम मस्तिष्क दुबैले काम गर्न सकेको थिएन। बिस्तारै समय र नियती सँग सम्झौता गर्दै मैले आफुलाई नियन्त्रण गर्न सकेको थिंए । अब केही महिनामा त्यो दिन आउँदै छ भन्ने थाहा पाउँदा पाउँदै उपचार तर्फ समग्र ध्यान लगाएको थिँए । बिस्तारै आमालाई रोगले चेप्दै लगेको आँखा अगाडि हेर्दै आमा ब्रम्हलीन हुने दिन पर्खनुको सिवाय अरु कुनै उपाय स्वास्थ्य जगत सँग थिएन । हेर्दा हेर्दै आमाको स्थिती बिग्रदै गयो । त्यो बर्ष हामीलाई नौरथा (नवरात्रि )लागेन । आमाको स्वास्थ्यको अगाडि चाडबाडको के अर्थ रहन्थ्यो । दशैंको त्रितियाको बिहान आमाको निधन भएको मैले हेरी रहे । आसुँ आइरह्यो ,मनविव्हल भयो तर धर्यधारण गर्नुको बिकल्प केही थिएन। त्यो दिन बुवा भक्कानिएर रुनु भएको थियो । मैले बुवालाई जिन्दगीको जस्तो सुकै दु:खमा पनि रुएको देखेको थिइन । तर त्यो दिन वहाँ ठुलो स्वरमा रुनु भएको थियो , वहाँको रूवाईमा असिम वेदना थियो। मैले सम्झाउँन खोजेको थिए , जीवन पछी मृत्‍यु अनिबार्य हो भनेर , सम्झाउँदै गर्दा वहाँले भन्नु भएको शब्दहरु आज पनि मेरो कानमा गुन्जीरहेको छ । "५० बर्ष जीवनको हरेक सुख दु:खमा साथ दिंदै आएकी मेरी श्रीमतीको आज मृत्‍यु भएको छ , तिमीहरु मलाई नरोउ भन्छौ किन्तु मेरी श्रीमती अब छैन भन्ने पिडा कस्तो हुन्छ मलाई थाहा छ ।"

यो कस्तो सपना ?


नैना आफूलाई त्यो समय खुब भाग्यशाली ठान्दथी । उमेरले दुई दशक पार नगर्दै रोजी केटो संग जोड़ी बाँधिएको पनि अहिले झण्डै तिन बसन्त हुन लाग्यो । 
उसबेला टोल भरिकै केटाहरू मध्ये बब उसलाई कुनै फिल्मको हिरो भन्दा कम लाग्दैन थियो । नाम बलभद्र भए पनि उसलाई सबैले बब भन्दा मात्र चिन्दथे । चुज पेन्ट , टाइट टिसर्ट उसको मनपर्ने ड्रेस । कपाल एकदम स्टाइलिस । त्यो संगै बजारमा नँया फेसन प्रवेश हुने बितिक्कै किनेको ब्राण्डेड जुत्ता र गगल्सले ऊ कुनै कोरियन सिनेमाको नायक झैं देखिन्थ्यो । 
नैना पनि कहाँ कम थिइ र ?
थाइटाइट हाफपेण्ट माथि स्लिभलेस टपले ऊ कुनै समुद्रको तटमा खेल्ने जलपरी जस्तै देखिन्थी । बिस वर्षे जोवनमा धपक्कै बलेकी । बबको ऊ संग लभ एट फस्ट साइट भएको रे । एक दुई डेट मै डिप भएर भागेर बिहे गरेको उसलाई आज जस्तो लाग्छ । 
तर अचेल बब परिवर्तित भएको छ । उसको फक्रेको यौवनलाई त्यति वास्ता गर्दैन । शायद भमराले अर्को फूल पायो होला । कुनै बेला उ बिना बाँच्न नसक्ने केटो अहिले उसको बैंसलाई समेत तिरस्कार गर्दैछ ।
उ कुण्ठित भएकी छे । मौरीले फूल माथि परागशेचन गरेको दृश्यले समेत उसलाई कुत्कुत्याँउछ , तरंगीत बनाउँछ। तेइस वर्षको मदमस्त देहको तापक्रम अनायस वृद्धि भएर निमेष भरमै बिलाएर जान्छ । 
यस्तै कुनै क्षण उ एउटा बगैंचामा पुग्छे । अनगिन्ती रंगीचंगी पुतलीहरू अनेकानेक फूलहरूसंग कृडारत छन । उसको मन पनि खेल्न व्याकुल छ । बगैंचाको मध्य भागमा सुन्दर प्राकृतिक दह भएता पनि त्यसको जलले उसको अनौठो तृष्णा मेटीएको छैन । सिमसिम पानिमा पनि उसको प्यास मेटीने नाम लिदैन । उ भाग्दै घर तिर आउँछे । सधै भन्दा घर धेरै टाढा भएको छ । बल्ल तल्ल घर पुग्नै लाग्दा मुल सडकको दाहिनेपटी एक जोडि कुकुर देख्दछे । कुकुर पनि एउटा पूर्व फर्केको छ भने अर्को पश्चिम । किन हो उ भयले थर थर काम्नथाल्छे । घर भित्र पस्ने बित्तिकै डरले मूलढोका ड्याम्म लगाउँदा त्यसको ठूलो आवाज संगै उ झल्याँस्स बुउँझन्छे। 
यो कस्तो सपना ? 

हेडसरको चिन्ता


हेडसर बडो गम्भिर मुद्रामा आफ्नो कुर्सीमा बसेका थिए । 
आफ्नो बिद्यालयको अवस्था बारे चिन्तित थिए । विद्यार्थी संख्या नै सबभन्दा बढी चिन्ताको बिषय थियो । एक त सय भन्दा कम विद्यार्थीको भर्ना थियो , त्यसमा पनि आधा जसो बिद्यालय आउँदैन थिए ।
हिजो मात्रै बिद्यालय निरिक्षकले निरिक्षण गरेका थिए । उपस्थिती सदा झैं कम थियो । 
आज तिनैले तीन दिन भित्र किन विद्यार्थीहरु भर्ना भएका भन्दा कम उपस्थित भए भनेर चित्त बुझ्दो लिखित स्पष्टीकरण पेश गर्न सचेतना पत्र पठाएका छन् । 
हेडसरको चिन्ता यही थियो । उनी मनमनै कड्किए , " के अब म तिनिहरुलाई घर घर पुगेर घिसारेर बिद्यालय ल्याउनु ? "
शहरको बिचमा अवस्थित सरकारी बिद्यालय , हुनेखाने सबैले प्राइभेट अंग्रेजी बोर्डींगमा आफ्न छोराछोरीलाई पढाउँथे । छेउछाउका अत्यन्त गरीब जनताका बच्चाहरु मात्र हुन हेडसरको बिद्यालयमा पढ्ने । 
बिद्यालय निरिक्षकले आगामी शुक्रबार जिल्ला शिक्षा अधिकारीको समेत उनको बिद्यालयमा निरीक्षण भ्रमण हुने बताएका थिए । यदी त्यो बेला पनि विद्यार्थी उपस्थिती कम भयो भने नराम्रो असर हुने पक्का छ । 
बिचरा हेडसर हतासमा विद्यार्थीको घर नै पुग्छन । 
पहिलो घरमा पुग्ने बितिकै उनलाई बस्नको लागी पुरानो मुढा सारेर पञ्चबहादुरले अभीबादन गरे , " नमस्कार सर !" 
उनी बस्दै अली कडा स्वरमा बोले , ' के हो पञ्चबहादुर तिम्रो छोरा र छोरी दुबै जना एक महिना देखी बिद्यालय आएका छैनन् त ? " 
अझ डर देखाउन थपे , " बिद्यालय पठाएनौ भने फेल हुन्छन नि, शुक्रबार झन सबै कुरा हेर्न जिल्ला शिक्षा अधिकारी नै आउँदैछन " 
पञ्चबहादुर डराउँछ भनेको उल्टै बहादुर पो भयो , " जती पढ्नु पर्ने थियो पढि सके सर , अब हाम्रो छोराछोरी घरको काम गर्दैछन , किताबले खान दिदैन । " 
उसले अझ झर्कदै थप्यो , " हाम्रो खसी बोका कसले चराउन लाने ? बिहान भात कसले पकाउने ?
उल्टै रिसायो पो । 
" जे भए पनि पञ्चबहादुर पढेर बच्चाहरु राम्रा र असल गुण सिक्छन , जिबनमा प्रगती गर्छन् । " हेडसरले प्रयास जारी रखे । 
" सर तपाईंको ज्ञान तपाईं सँगै राख्नुहोस् , हामी गरीबका छोराछोरी त सिर्फ सरकारले दिने नगद छत्राब्रित्ती र तपाईंको बिद्यालयले दिने दिउसोको खाजाको लागि मात्रा बिद्यालय जान्छन् । पढिलेखी हाकिम बन्नु छ र तिनिहरुलाई ? " पञ्चबहादुरले उल्टै हेडसरलाई नै उच्च ज्ञान दियो ।
" सर हाम्रा बच्चाहरुलाई अझ सम्म छात्रब्रित्ती किन बितरण नगरेको ? शुक्रबार जिल्ला शिक्षा अधिकारी आउँदै हुनुहुन्छ भने हामी यही कुरा वहाँलाई गुनासो गर्छौ । " उसले अझै सरलाई नै थर्कायो । 
हेडसरको चिन्ता झन थपियो । दुईदिन भित्र छात्रब्रित्ती बितरण पनि गर्नु पर्ने भयो । बिद्यलयको खातामा एक रुपैयाँ नगद मौजात छैन । कहाँ बाट ल्याउने त्यत्रो पैसा ??

म एक नेपाली


उसलाई देखेर मलाई धेरै आश्चर्य लाग्यो । उसको सम्पुर्ण शरीर रक्तरञ्जित थियो । सारा शरीरबाट आगोको ज्वाला दनदनी बलिरहेको जस्तो देखिन्थ्यो । मैले बडो उत्सुकताका साथ उसलाई सोधें , 
" तिमीलाई के भएको छ ?"
"मलाई जातिवाद , गरिबी , बेरोजगारी , पृथकतावाद , भ्रष्टाचार , अनैतिकता , बेइमानी जस्ता धेरै रोगले आक्रांत पारेको छ । यो जुन आगो मेरो शरीरबाट निस्किरहेको छ , यो जातिवाद र पृथकतावादको ज्वाला हो । यदि चाँडैनै मेरो उपचार भएन भने यो आगोले सबैलाई भस्म बनाउँछ । "
उसको मनको वेदना अनुहार सम्म आएको प्रष्ट देखिन्छ । 
उसको रहस्यमय कुराले म झन आश्चर्यचकित भएँ ।
" कस्तो बुझ्न नसकिने कुरा गरेको , तिमी को हौ ? "
" म एक नेपाली हुँ ।"

संमृद्धि , मैले तिमीलाई देखीन !


मेरो देशमा तिमी आयौ भन्छन्
एक थरीले तिम्रो बखान गर्छन्
भाषणहरुमा त खुब आयौ रे
तर खै कहाँ आयौ मैले देखीन !
के तिमी उत्तरबाट चुच्चे रेलमा आयौ ?
की दक्षिणबाट पानीजहाजमा छीर्यौ ?
पूर्वबाट सूर्य संगै कतै हावाको बिजुली
अनि पश्चिमबाट ग्याँसपाइपबाट आयौ की ?
तिम्रो दर्शन पाउने आशामा मैले
कति पसिना शरीर मै सुकाएँ
ठेला उठेका हत्केला जोडेर
तिम्रो स्वागतमा रातदिन बिताएँ !
तिमी कस्ति छौ समेत थाह नहुँदा
तिम्रो नाम बिजुलीको खम्बामा टांगीएछन्
अनि शहर भरीको भित्ता रंगीएछन्
तर पनि मैले तिमीलाई देख्न सकिन !
तिम्रो आगमनको आशामा पर्खदा
उमेर ढल्कने खतराको भयले म
चालीस कटेपछी रमाउला भनेर
मरुको प्रचण्ड तापमा रगत सुकाउँदैछु !
सुन्दछु मेरो पसिनाको मूल्यले गर्दा नै
मेरो जन्मभूमीको अर्थतन्त्र थामिएको छ
नेपाल आमाका लाखौं सपुतहरूको श्रम
पराइ माटोमा पसिना बनी बगिरहेको छ !
समुन्नतिको पर्खाईमा सुकेका यि नयन
तिम्रो आगमनको आशामा टोलाइरहेछन्
मेरो जिवनमा तिमी संग भेट नभए पनि
आगतका पुस्ता संग तिम्रो भेट होस ,
आगतका पुस्ता संग तिम्रो भेट होस ! !
-विकास आचार्य, धरान
२०७५/०१/०३/०३

हाम्रो नैतिकता

आफू निर्वाचित भएको स्थानलाई राजधानी बनाउन जुनसुकै त्याग र काम गर्न तयार रहेको र अर्कों स्थानमा राजधानी तोकिए आन्दोलनको आँधिबेहरी सृजना हुने चर्को भाषण माननिय ज्युले गर्दा भिंडले गडडडडडड तालि बजायो । उनले अन्तमा बोले :
“अब म यहाँबाट सिधै तपाईहरुको आवाज लिएर संसदीयदलको बैठकमा जाँदैछु , तपाईहरु हाम्रो सहरलाई राजधानि बनाउन जस्तो सुकै कदम चाल्न पनि तयार भएर बस्नु होस ।”
प्रदेशसभाको यिनै माननीयले आफ्नो पार्टीको संसदीय दलको वैठकमा टेबल ठटाएर आफ्नो कुरा राखे :
“हेर्नुहोस माननियहरु , हाम्रो प्रदेशको राजधानी हामीले भन्दैमा , सोच्दैमा हुन्छ भन्ने छैन ।यो राजनीति हो , यहाँ जुन देखिन्छ त्यो हुदैन , जुन कुरा बोलिन्छ त्यो पनि हुनैपर्छ भन्ने छैन । “
अर्का माननीयले उनलाई रोक्दै भने :
“ हैन हामीले चुनावी घोषणा पत्रमा लेखेका छौं , धेरै भाषण गरेका छौं , अहिले चट्टै अर्कों ठाउँमा राजधानी बनाउँदा जनताले के भन्छन् ? फेरी हाम्रो नैतिकता ....”
उनको कुरो नसकिंदै पहिलो माननिय गर्जिए :
” के को नैतिकता ? तपाईको महत्वाकांक्षा चै सम्झनुस । यो भन्दा माथि जानु मन छैन क्या हो ? त्यत्रो पार्टी नेतृत्वले निर्देशन गरेको विर्सनु भयो । जनता भनेको त भेंडा न हुन , उनीहरुलाई त फेरी उल्लु बनाइहालिन्छ नि !”
दोस्रो माननिय यस पछी चुप भए । उनलाई पनि मन्त्री बन्नु थियो । पार्टी नेतृत्वमा आउनु थियो ।
यस पछी सर्वसम्मत रुपमा अर्कै स्थानलाई राजधानि तोक्ने निर्णय गरेर संसदमा प्रस्ताव समेत दर्ता भयो । माननियको क्षेत्रको कुनै प्रस्ताव आउने कुरै भएन ।
भोलि पल्ट आन्दोलन चोकमा तिनै नेता कुर्लदै थिए :
“ आउनुहोस ! यो हाम्रो शहरको जिवनमरणको प्रश्न हो , सबै मिलेर एक पटक पुन: अन्तिम युद्ध लडौं ।”
उनले भने जस्तै जनता भेंडा न थिए । सबै उनको पछी गुटुटुटु कुदे ।
-विकासाचार्य
धरान

“पुरुष आँखा”


कुण्ठा मिश्रित दृष्टि
वासना युक्त आँसुले सिंचित नयनको
प्राकृत अंगप्रत्यंगको सयर गर्छन्
कोमलता स्पर्शको नयनानुभुत हुन्छ
सुन्दरताको नग्न विम्ब
कामदेव बनेर आँखाबाट प्रवेश गर्छ
प्रत्येक पुरूष भित्र
भँवराले परागसेचन गर्दैगर्दा
रक्तप्रवाहले उच्चता प्राप्त गर्छ
सृष्टि निरन्तरताको यो लक्षण
नहुँदो हो त के हुन्थ्यो
संसार, संसार रहदैनथ्यो की ?
त्यसको आकर्षणमा यो
आसक्त हुँदैन थियो की ?
यदि साँच्चै यस्तै हुन्थ्यो भने
प्रकृति असफल हुन्थिन
अनि रहन्थ्यो मात्र रिक्तता
किन की पुरुष दृष्टिको तृष्णा
अतृप्त रहन्थ्यो
पृथ्वी रोकीन्थ्यो
प्रकाशले यात्रा स्थगित गर्थ्यो
तारा खस्दथ्यो
आकाश कमजोर भएर
सम्पूर्ण खगोल झर्दथ्यो
तथापि पुरुष आँखा सदैब
सृष्टि सृजनाको लागी
यसरी नै वासनाँसु सिंचित भइरहन्छ
निरन्तर ! !
-विकास आचार्य
धरान
२०७६/०१/२७/०६

नग्न लाश



घरको बार्दलीमा बसेर अघि देखी मैले अगाडी सडकको किनारमा उभिएकी केटीलाई हेरीरहेछु । बिजुलिको खम्बालाई आड बनाएर उनी निकैबेर देखी सेलफोनमा व्यस्त छिन् । म घरको दैनिकीमा अलमलिदैं भए पनि ति कन्या तिर पनि नजर लगाउँदैछु । उनी फोन मैं घरी उत्तेजित हुन्छिन् , अलि रिसाएको र ठूलो स्वरमा बोल्छिन् त क्षण मै सानो स्वरमा केही भन्दै रुने गर्दैछिन् । यो क्रम आधा घण्टा भन्दा बढी देखी जारी रहेको छ । 
केटीको पहिरनले उनी अत्यन्त आधुनिक र शरिर प्रदर्शन गर्न नहिचकिचाउने देछिन्छीन् । अहिले पनि हिपमै टाँसिएको छोटो जिन्सको हाफपेन्ट र पातलो स्लिभलेस टप लगाएकीछिन जुन पहिरन जो कोहीलाई अलि बढी उच्छ्रींखल लाग्ने प्रकारको छ । तर यसलाई सामान्य रुपमा लिएकी उनी खै किन हो एउटा फरक र असामान्य परिस्थितिमा रहेको झैं लागीरहेको छ । एउटा मानसिक उथुलपुथुलको अवस्थामा गुज्रिरहेकी उनी त्यही बिजुलिको खम्बालाई आफ्नो आड बनाएर असामान्य रुपमा घरी मेरो घर तिर त कहिले मेरो घरको बिपरित दिशा तिर आउने जाने गरिरहेको मैले देखिरहेको छु । मेरो घर छेउ आँउदा मैले उसको अनुहार राम्ररी देखें । सुन्दर चेहरामा केही भय , केही आत्मग्लानि र धेरै पश्चताप पोतिएको थियो । देब्रे तिघ्रामा गहुँको बाला जस्तो ट्याटु खोपिएको थियो । 
म आफ्नो बेलुकाको कार्यमा व्यस्त भँए । केही पछी बाहिर हेर्दा केटी त्यहाँ थिइनन् । बिजुलिको खम्बा नजिक एउटा केटो उभिएको थियो । फोन हेर्दै , थिच्दै कानमा लगाउँदै गरिरहेको केटो झन अल्ट्रामोर्डन देखिन्थ्यो । कपाल उसको पहेंलो र हरियो रंगले सजिएको थियो भने कपडा पनि एउटा नमूना नै थियो । उसको फोन लागेछ क्यारे मैले ठूलो स्वरमा कराएको सुनें : “ कता छस् , छीटो आइज ?”
आवाज सुनेर बाहिर हेर्दा अघिकी केटी सुस्तरी छीमेकी घरको पर्खालको चेपबाट बाहिर निस्किइन् । केटोले च्याप्प हातमा समाएर , लगभग घिसारेर नै उसलाई अलि अगाडी रोकेको बाईकमा पछाडी राखेर हुँइकियो । म पनि आफ्नै काममा व्यस्त भँए । 
बिहानै पत्रिका पल्टाउँदै गर्दा फ्रन्ट पेजमै रंगिन फोटो सहितको समाचारको शिर्षकमा आँखा पर्यो । 
“ किशोरीको नग्न लाश भेटीयो : बलात्कार पछी हत्या भएको आशंका “ । फोटो राम्ररी हेरें । कपडाले छोपिएको किशोरीको शवको खुट्टाको माथिल्लो भाग अलिकति देखिएको थियो । म झसंग भँए । एक छीन बिचलित भँए । 
लाशको तिघ्रामा गहुँको बाला जस्तो ट्याटु प्रष्ट देखिईरहेको थियो ! 
२०७६/०२/०२

“बिस्फोटन”


उसले महेन्द्रमाला पढेर नै
महेन्द्रको बिरोध गर्न सिक्यो
भक्कभकी उम्लिएको रगत 
रातो पुस्तक पढेर सेलाउदै हिड्यो 
बल , बन्दुक र बारुदमा
बिश्वास गरेको उसलाई
एक जोडी परेवाले शान्ति दिएन
कुशासन र भ्रष्टाचारको अजिंगरले बेरेको
प्यारो माटोको नक्सालाई
कसैले पेल्दै सागुँर्याएको
रगतले सहन सकेन
क्रान्तिको विगुलको ध्वनीसंगै
जनताको चित्कार अनि
शासकको अट्टहास
उसले चालेका पाइलाहरुलाई प्रेरणा बने
उम्लिएको तातो यही रगत-
प्यारो नेपाली रगत
अचानक पोखिएर खेर गयो
नेपाली माटोमा सिंचित भयो
उसको सपनाको लाश माथि
उ जस्तै रुप भएको
एउटा अर्को अजिंगर
रगतले लत्पतिएको
उसको देशको नक्सा बोकेर
सिंगै निल्न अट्टहास गर्दैछ

“ घाम र हामी “


आज बिहान पनि घाम 
पूर्वी कुईनेटोबाट हाँस्दै चिहायो ।
झुक्किएका नागरिक हामी
हाम्रो निरिहतामा घाम 
यसरी नै हाँस्दै आउँछ
दिन भरिको प्रितीले
सन्ध्या संगै
निराश निराश भएर
विदा लिन्छ ।
हामीले भोगेको नियति
हाम्रो माटोको गन्ध
पहिलो पटकको वर्षा संगै
नाकबाट प्रवेश गर्दा
उर्लिने राष्ट्रप्रेम संगै
पासपोर्ट बोकेर
पर परका मुलुकमा
पसिना बगाउनु हो
आफ्नो मायाले बनाएको
गुँड छोडेर एक्लै
परदेशिनुको भोगाई
हाम्रै नाममा जन्मभुमी माथि
बलात्कार गर्नेहरुलाई के थाह
थाह पाएर पनि मौन भईदिने
हाम्रो यो कायर स्वभाव
अनि दासत्व स्वीकार गर्ने
प्रवृति देखेर
घाम सधैं हाँस्दै उदाउँछ
अट्टहास गर्दै ! !