Sunday, June 2, 2019

नग्न लाश



घरको बार्दलीमा बसेर अघि देखी मैले अगाडी सडकको किनारमा उभिएकी केटीलाई हेरीरहेछु । बिजुलिको खम्बालाई आड बनाएर उनी निकैबेर देखी सेलफोनमा व्यस्त छिन् । म घरको दैनिकीमा अलमलिदैं भए पनि ति कन्या तिर पनि नजर लगाउँदैछु । उनी फोन मैं घरी उत्तेजित हुन्छिन् , अलि रिसाएको र ठूलो स्वरमा बोल्छिन् त क्षण मै सानो स्वरमा केही भन्दै रुने गर्दैछिन् । यो क्रम आधा घण्टा भन्दा बढी देखी जारी रहेको छ । 
केटीको पहिरनले उनी अत्यन्त आधुनिक र शरिर प्रदर्शन गर्न नहिचकिचाउने देछिन्छीन् । अहिले पनि हिपमै टाँसिएको छोटो जिन्सको हाफपेन्ट र पातलो स्लिभलेस टप लगाएकीछिन जुन पहिरन जो कोहीलाई अलि बढी उच्छ्रींखल लाग्ने प्रकारको छ । तर यसलाई सामान्य रुपमा लिएकी उनी खै किन हो एउटा फरक र असामान्य परिस्थितिमा रहेको झैं लागीरहेको छ । एउटा मानसिक उथुलपुथुलको अवस्थामा गुज्रिरहेकी उनी त्यही बिजुलिको खम्बालाई आफ्नो आड बनाएर असामान्य रुपमा घरी मेरो घर तिर त कहिले मेरो घरको बिपरित दिशा तिर आउने जाने गरिरहेको मैले देखिरहेको छु । मेरो घर छेउ आँउदा मैले उसको अनुहार राम्ररी देखें । सुन्दर चेहरामा केही भय , केही आत्मग्लानि र धेरै पश्चताप पोतिएको थियो । देब्रे तिघ्रामा गहुँको बाला जस्तो ट्याटु खोपिएको थियो । 
म आफ्नो बेलुकाको कार्यमा व्यस्त भँए । केही पछी बाहिर हेर्दा केटी त्यहाँ थिइनन् । बिजुलिको खम्बा नजिक एउटा केटो उभिएको थियो । फोन हेर्दै , थिच्दै कानमा लगाउँदै गरिरहेको केटो झन अल्ट्रामोर्डन देखिन्थ्यो । कपाल उसको पहेंलो र हरियो रंगले सजिएको थियो भने कपडा पनि एउटा नमूना नै थियो । उसको फोन लागेछ क्यारे मैले ठूलो स्वरमा कराएको सुनें : “ कता छस् , छीटो आइज ?”
आवाज सुनेर बाहिर हेर्दा अघिकी केटी सुस्तरी छीमेकी घरको पर्खालको चेपबाट बाहिर निस्किइन् । केटोले च्याप्प हातमा समाएर , लगभग घिसारेर नै उसलाई अलि अगाडी रोकेको बाईकमा पछाडी राखेर हुँइकियो । म पनि आफ्नै काममा व्यस्त भँए । 
बिहानै पत्रिका पल्टाउँदै गर्दा फ्रन्ट पेजमै रंगिन फोटो सहितको समाचारको शिर्षकमा आँखा पर्यो । 
“ किशोरीको नग्न लाश भेटीयो : बलात्कार पछी हत्या भएको आशंका “ । फोटो राम्ररी हेरें । कपडाले छोपिएको किशोरीको शवको खुट्टाको माथिल्लो भाग अलिकति देखिएको थियो । म झसंग भँए । एक छीन बिचलित भँए । 
लाशको तिघ्रामा गहुँको बाला जस्तो ट्याटु प्रष्ट देखिईरहेको थियो ! 
२०७६/०२/०२

No comments:

Post a Comment