आज अनायस मैले आफुलाई केही साल अघिको नवरात्रीको तेस्रो दिनको बिहानमा फर्केको पाँए । मृत्युको पिडालाई मैले अत्यन्त नजिकबाट हेरेको छु त्यो दिन । मेरी आमाको देहावासान भएको त्यो बिहान झिसमिसै देखी म अत्यन्त अत्तालिएको थिंए । आमाको घाँटीबाट केवल घ्यार घ्यार आवाज मात्र आइरहेको थियो । शरीरको भित्र कतैबाट निस्किएको आलो रगत गलामा पुगेपछी श्वासप्रश्वासको क्रमा त्यस्तो आवाज निस्कदैं थियो । बिहानको पहिलो प्रहर देखी नै अत्यंत पिडाका साथ आमाले जीवनको अन्तिम सास फेर्दै हुनुन्थ्यो । हामी स्तब्ध भएर आमाको मृत्यु आफ्नै आँखा अगाडि हेर्दै थियौं । आमा बेहोश हुनुहुन्थ्यो , आँखा अगाडि हत्केला हल्लाउँदा पनि कुनै प्रतिकृया जनाउनु हुँदैन थियो । रगत गलामा राखेर कुल्ला गरेको जस्तो आवाज सहित निरन्तर सास फेरेको झन्डै छ -सात घण्टाको पिडादायी घडीबाट मुक्त हुँदै साढे दश बजे आमाले हामीलाई सधैंको लागि छोडेर जानु भएको थियो ।
आमाको मृत्युको कारण मनुष्यले अहिले सम्म जित्न नसकेको निर्दयी रोग क्यान्सर थियो ।
देहावसान हुनु भन्दा करिब छ महिना अगाडि पेट दुखेको समस्या लिएर हामिले आमालाई अस्पताल लगेका थियौं । सामान्य रोग सम्झिरहेका हामीलाई अस्पतालले कल्पनातित रिपोर्ट दियो । रिपोर्टमा आमालाई कलेजोमा क्यान्सर भएको अप्रिय सूचना थियो । त्यो क्षण म किंमकर्तव्यविमुढ भएको थिए । अझ रोग छिप्पीसकेको र आमा अब केवल ५-६ महिना मात्र हामी बिचा रहन सक्ने कुरा थाहा पाउँदा शरीर एबम मस्तिष्क दुबैले काम गर्न सकेको थिएन। बिस्तारै समय र नियती सँग सम्झौता गर्दै मैले आफुलाई नियन्त्रण गर्न सकेको थिंए । अब केही महिनामा त्यो दिन आउँदै छ भन्ने थाहा पाउँदा पाउँदै उपचार तर्फ समग्र ध्यान लगाएको थिँए । बिस्तारै आमालाई रोगले चेप्दै लगेको आँखा अगाडि हेर्दै आमा ब्रम्हलीन हुने दिन पर्खनुको सिवाय अरु कुनै उपाय स्वास्थ्य जगत सँग थिएन । हेर्दा हेर्दै आमाको स्थिती बिग्रदै गयो । त्यो बर्ष हामीलाई नौरथा (नवरात्रि )लागेन । आमाको स्वास्थ्यको अगाडि चाडबाडको के अर्थ रहन्थ्यो । दशैंको त्रितियाको बिहान आमाको निधन भएको मैले हेरी रहे । आसुँ आइरह्यो ,मनविव्हल भयो तर धर्यधारण गर्नुको बिकल्प केही थिएन। त्यो दिन बुवा भक्कानिएर रुनु भएको थियो । मैले बुवालाई जिन्दगीको जस्तो सुकै दु:खमा पनि रुएको देखेको थिइन । तर त्यो दिन वहाँ ठुलो स्वरमा रुनु भएको थियो , वहाँको रूवाईमा असिम वेदना थियो। मैले सम्झाउँन खोजेको थिए , जीवन पछी मृत्यु अनिबार्य हो भनेर , सम्झाउँदै गर्दा वहाँले भन्नु भएको शब्दहरु आज पनि मेरो कानमा गुन्जीरहेको छ । "५० बर्ष जीवनको हरेक सुख दु:खमा साथ दिंदै आएकी मेरी श्रीमतीको आज मृत्यु भएको छ , तिमीहरु मलाई नरोउ भन्छौ किन्तु मेरी श्रीमती अब छैन भन्ने पिडा कस्तो हुन्छ मलाई थाहा छ ।"
No comments:
Post a Comment