Wednesday, November 6, 2019

विपी अस्पताल धरानको ईमर्जेन्सीमा दश घण्टा

"विपी अस्पताल धरानको ईमर्जेन्सीमा दश घण्टा"

"तिमी कति वर्षकी भयौ "
डाक्टरले हामी छेउको बेडकी एकदमै सानि देखिने बिरामी केटीलाई सोधे ।
हामी पुगे देखी वाकवाक मात्र गरिरहेकी केटीले मसिनो स्वरमा उत्तर दिई : " सत्र । "
ऊ संगै उ जतिकै उमेरका अरू दुई केटीहरू पनि थिए । उनीहरू सुनेर मात्र उभिईरहे । अन्य बिरामी कुरूवा जस्तो बिरामीको हिष्ट्री बताउन अघि सरेनन् ।
डाक्टरले अर्को प्रश्न तेर्साए : " जाँड रक्सी खान्छौ ? "

बिरामी बोलिन :"खान्छु ।"
"ए , कहिले देखी खान थालेको नि ? " पुनः अर्को पुरक प्रश्न सोधियो ।
केटीले नहिचकिचाई जवाफ दिई  :" सानै देखी "
प्रश्नोत्तर मै बुझियो केटी पूर्वी नेपालको ताप्लेजुंगको कुनै गाउँपालिकाबाट उपचार गर्न आएकी रहिछन् ।
 नजिकैको अर्को बेडमा एक जना बुढा बा सुतिरहेका थिए । ग्यास्ट्राइटीस र कब्जियत भएर आउनु परेको बताउदै बुढा भन्दै थिए : " दुई दिन देखी ग्याँस्टीक भएर अनि गोटा दिसा भएर पेट दुखेर आएको । "
छालामा रातो कालो सानो सानो खटीरो जस्तो देखेर डाक्टरले के हो भनेर सोध्नु भन्दा पहले नै बुढाले उत्तर दिए  , " यो खै के हो अति चिलाउँछ  अनि यसरी कन्याउनु पर्छ । "
यति भनेर उनी साच्चि कै दाहिने हातको पाँचै औंलाले खर्याउ खर्याउ कन्याउन थाले ।
उनको जाँच पड्ताल गरेको रिपोर्ट हेरेपछी डाक्टरले उनलाई भाईरल हेपाटाईटीस हो भनेर "एचबिएसएजी" जाँच गर्न पठाए ।
अलि पर एक जना सानो भाई ऐया ऐया भन्दै थिए । डाक्टर आएर तल्लो पेट थिचथाच पारे । जति थिच्थे त्यति भाई ऐया भन्थे । डाक्टरले एपेन्डिसाईटीसको शंका गरेर सर्जनलाई खबर गरि भिडीयो एक्सरे गर्न पठाए ।
त्यस्तै उनकै देखी माथिल्लो बेडमा एक जना आमालाई नर्सले "नेसोग्याष्ट्रीक ईण्टुबेसन" गराउदैथिन् ।
पातलो पाईपलाई बिस्तारै नाक भित्र ठेल्दै उनी महिलालाई भन्दै थिन :"निल्नुहोस आमा बिस्तरै निल्नुहोस । मैले ठेलेको छुईन । "
आमा पनि अलि अफ्ठ्यारो गर्दै पाईपलाई निल्दै जादैथिन् ।

यि भए मेरो बिरामी र त्यस वरीपरीको दृश्य । यस बाहेक त्यँहा अरू धेरै विरामीहरू उपचारका लागी आएका थिए । तातो पानिले पोलेको ,  माईल्ड हार्ट एटेक भएको , काम जोरो र भमिटींग भइरहेको ,  गाडी एक्सीडेण्टमा घाईते भएको  , खुट्टा सुन्निएर भत्भति पोल्ने भएको लगायत अन्य धेरै बिरामीहरू त्यँहा निको हुन आएका थिए  ।
हेर्दा हेर्दै एक जनाको त ज्यान समेत त्यँहीबाट महाप्रस्थानको यात्रामा निस्कियो । वरिपरि घेरेर बसेका आफन्तको रूवाबासी चल्यो । वातावरण एक्कासी केही क्षण स्तब्ध भयो । शवलाई मोर्चरी लगेपछी त्यँहाको वातावरण पुनः पहीले जस्तै भयो , चहलपहल उस्तै । सबै बिरामीहरूको अनुहारमा रोगले दीएको कष्ट देखिन्थ्यो भने हस्पिटल प्रवेश गरेपछी आँखामा जिजिबिषाको चमक भने प्रष्टै देखिन्थ्यो  ।
यस्तो थियो विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी । डाक्टर  ,  नर्स र ईमर्जेन्सीमा कार्यरत सबैजना स्टाफहरू बिरामीको उपचार गर्न  र गम्भिर बिरामीहरूलाई बचाउन प्रयासरत थिए । मानिसहरूले भने जस्तो त्यँहाको स्टाफहरू आफ्नो मान्छेलाई मात्र हेरीरहेका थिएनन् । आवश्यकता र प्राथमिकताको आधारमा सबै बिरामीहरू निगरानी मै थिए । कोही कसै संग झर्केका थिएनन् । आफ्नो मेडिकल ज्ञानलाई सरसल्लाह र अनुभवको आधारमा बिरामी उपचारको क्रममा प्रयोग गरिरहेका थिए । खै किन हो एक प्रकारका मानिसहरू यहाँको ईमर्जेन्सीमा भेदभाव हुने कुरा बताउँछन्   । शायद मानिसहरूले आफ्नो बिरामीलाई पहिला हेरीदिओस्  भन्ने चाहन्छन् तर त्यँहा बिरामीको अवस्थालाई महत्व दिइने हुनाले पो यस्तो भ्रम बाहीर प्रचारित भएको हो की ?
मैले आफ्नो बिरामीलाई राखीएर "अब्जरवेसन"मा बसेको दश घण्टामा त्यहाँ नकारात्मक केही भेटीन । सबै कुरा काबिल-ए-तारिफ नै थियो ।
"डिस्चार्च" भएर निस्कने बेलामा छेउको बुढा मान्छेको कुरूवाले उनको "एचबिएसएजी"को रिपोर्ट ल्याएर नर्सलाई दिए । नर्सले हेरेर साथिलाई भनिन् :" ओई यिनको रिपोर्ट त एचबिएसएजी पोजेटीब आएछ । "
मलाई भने त्यस कुराले अचम्मित बनायो । " हेपाटाईटीस बि" सर्ने सम्भावना त लागू पदार्थ दुर्व्यसनिहरूले एउटै सुई प्रयोग गर्दा , संक्रमितको रगत कुनै अन्य माध्यमद्वारा शरिर प्रवेश गर्दा वा संक्रमित संग असुरक्षित यौन सम्बन्ध राख्दा मात्र सर्ने बुझेको छु ।
के यि बुढा मान्छेले कतै गल्लीको कुनामा सामुहिक रूपमा सुईले लागू औषध लिए होलान र ?
 के कोही संक्रमित महिला संग " अनप्रोटेक्टेड सेक्स" गरे होलान् र ?

विकास आचार्य
धरान

No comments:

Post a Comment