काठमाडौंको एउटा आलिशान घर अगाडीको सडक पल्लो किनारमा उभिएर एउटा फुच्चे लोभ र आशा मिस्रित नजरले घर तिर एक टकले हेर्दै थियो । यो दृश्य घरबेटीले देखे । पटक पटक झ्याल बाहिर आउँदा एउटै दृश्य देखेपछी घरबेटी सडकपार पुगेर फुच्चेलाई सोधे-
"तिमीलाई मेरो घर राम्रो लाग्यो हो ?"
"हो" फुच्चे बोल्यो ।
यसलाई मेरो घर झन भित्रैबाट देखी देखाई दिनु पर्यो भन्ने सोचेर घरबेटीले फुच्चेलाई घर लिएर गए । घरको किचन , सिटींग रूप , बेडरूम , गेष्टरूम , ट्वाइलेट बाथरूम लगायत घरको सबै कुनाकाप्चा उनले फुच्चेलाई देखाइदिए । आधुनिक स्टाइलको सबै सुबिधा जडित घर देखेर उक्त फुच्चेको आँखा खुलेको खुले भयो । घरको चमकदमकले उसलाई मोहीत बनायो । भित्ता , भुँइ र हरेक फर्निचर उसले स्पर्श गर्यो । उसको मनोदशा देखेर घरबेटीले सोधे -
" के मेरो घर तिमीलाई मन पर्यो हो ? "
फुच्चेले जवाफ दियो -
" हजुर , यो घर बनाउन करोडौं रूपैया लाग्यो होला , जमिन किन्न पनि त्यतिनै लाग्यो होला हैन ? "
"हो जमीन र घर दुवैलाई पाचौं करोड खर्च लाग्यो ।"
" तपांईले यति निर्माण गर्ने पैसा कमाउन धेरै मिहेनत गर्नु भयो होला ? "
घरबेटीले हाँस्दै भन्यो -
" हैन यो घरजग्गा त मेरो बुवाले मलाई मेरो चालिसौं जन्म दिनको उपहार दिनुभएको हो । "
केटो-
" वाह तपांईको बुवा कति असल हुनुहुँदो रहेछ ।"
"तिमी अहिले म जस्तै भाग्यमानि हुन पाए हुन्थ्यो भनेर सोच्दैछौ हैन ।" घरबेटीले फुच्चेको मन टोटल्यो ।
"हैन नि , म त तपांईको बुवा जस्तो हुने सोच्दै छु ।" फुच्चेको आँखामा गजबको आत्मविश्वास र चमक थियो ।
No comments:
Post a Comment