Sunday, June 2, 2019

जितौरी


आज पनि कविन्द्रले हजार हजारको पन्ध्रवटा नोट कविताको हातमा राखीदिदैं भन्यो :" ल यो पन्ध्र हजार राख , आज पनि झण्डै अस्सी हजार मारें ।"
राति डेढ बजि सकेको थियो , अर्ध निन्द्रामा रहेकी उसले जितौरी रूपी पैसा हातले थाप्दै गर्दा पतिको मुखबाट ह्वास्स रक्सीको गन्ध आएको थाहा पाई । उसले अब बुढाले खाना पनि नखाने भन्ने अनुमानले सोधि :" खाना के गरौं ? कि बाहिर नै खाईसकेको ? "
कविन्द्रले नखाने संकेत गरि टाउको हल्लाएर लुगा शरिरबाट फुकालेर फुत्फुति भुँईमा फ्याक्न थाल्यो । बुढीचैंले सबै समेटेर एउटा कुनामा भोलि धुने भनेर थन्काई । राति सुत्दा लगाउने कपडा , एउटा हाफपेण्ट र भेष्ट लगाएर बुढा भने डंग्रंग पलंगमा पल्टीयो । 
कविताले अघि हात परेका पन्ध्रवटा नोटहरू टेबलबाट उठाएर पुनः एक पटक गनी दराज भित्र राखी । 
सोर्हश्राद्ध शुरू हुनु भन्दा अगाडि देखी बुढाले आज सम्म एक लाख पच्चीस हजार रूपैंया त जितौरी नै दिएको रहेछ । बिचमा दुई खेप कविन्द्रले आज हारें भनेको उसलाई सम्झना छ नत्र कहिले आज साउँकासाउँ भएँ भनेको छ भने कहिले आज धेरै जित्न सकिन भनेको छ । धेरै जसो त उसले पाँच देखी पच्चीस हजार सम्म जितौरी नै पाएकी छ ।
पलंगमा लडेको बुढालाई उसले पुलुक्क हेरि । भित्ता पटी पल्टीएको कविन्द्र निदाएको छैन भनेर उसले थाह पाई हालि । केही गहिरिएर सोच्दै गरेको जस्तो उसले दाहिने हातको चोर औंलोले प्याट प्याट आफ्नै दाहिने तिघ्रामा हिर्काइ रहेको छ ।
"निन्द्रा लागेन र ? के कुरामा गहिरिएर सोचिरहेको ? "कविताले बुढाको हात माथि आफ्नो हत्केला राखेर सोधि ।
"केही हैन , घर व्यवहार बारे सोचिरहेको नि । मोटरसाइकल पनि थोत्रो भईसक्यो नयाँ किन्नु पर्ने , उ हेर न घरको भित्तामा पुरै फोहोरको टाटा देखिन थालिसक्यो रंगरोगन गर्नु पर्ने । " कविन्द्र चिन्चित देखियो ।
"घरमा रंग त अस्ति दशैं अगाडी नै लगाउनु पर्ने हो नि , तपांईलाई साथिहरूसंग तास खेल्नबाट फुर्सत नै छैन । अँ साच्चि घर बनाउँदा लिएको ऋण चुक्ता गर्नु भयो हैन ? साथिभाईसंग लिएको ऋण बेलैमा चुक्ता गरेन भने सम्बन्ध बिग्रन्छ , तिर्छु भनेको म्याद नजिक आइसक्यो नि " बुढीले सम्झाउँने पाराले सोधि ।
"एक हफ्ता अघि नै ऋण त तिरीसकेको नि । मैले तिमीलाई भनेको थिएँ त । यसपालिको दशैं अघिको खेलमा जितेको पैसाले घरको ऋणबाट चै पार पाइयो , एक मुष्ट बाँकी रहेको किस्ता चुक्ता गरि ऋण मुक्त भईयो ।" यति भन्दा कविन्द्रको अनुहारको रंग फुंग उडेको कविताले देख्न सकिन ।
छरछीमेक र आफन्तकामा जाँदा आउँदा तासमा जितेरै ऋण तिरेको कुरा ऊ गर्वका साथ सुनाउने गर्न थालेकी थिई । ऊ खुशी देखीई ।
लक्ष्मीपूजाको दिन बिहान देखी नै उसले घर बढारेर सफा गरी । कविन्द्र अझै सुतिरहेकै छ । आज राति त तिन बजे मात्र घर आइपुगेको । अलि ज्यादा रक्सी पिएजस्तो थियो । कोठामा पस्ने बित्तिकै जुत्ता पनि नफुकालि पलंगमा लडेको थियो । उसले नै जुत्ता र सर्ट फुकालेर राखिदिएकी थिई । 
"भरे बेलुका लक्ष्मीपूजाको तयारी गर्नु पर्ने । आवश्यक सामग्री जुटाउनु पर्ने कस्तो खालको मान्छे होला " कविन्द्रले सुनोस भनेर ठूलो स्वरमा बोल्दै कोठा तिर जान लागेकी उसले बाहिर गेट चलाएको आवाज सुन ।
" कविन्द्र दाई , ओ कविन्द्र दाई कता हुनुहुन्छ बाहिर निस्कनु त ।"
बाहिर चारजना केटाहरू आएर बोलाउँदै रहेछन् । 
"गलेर सुतिरहनु भएको छ , कामबाट राति आउनु भएको । किन के काम पर्यो ? " 
अघिपछी कहिले नआउने , देख्दैनदेखेको केटाहरू तर्फ शंकाले उसले सोधि ।
"ओई केटा त्यो बाईक निकाल त " 
नाइके जस्तोले उसको साथिलाई निर्देशन दिएर कविता पटी फर्केर भन्यो , 
"हेर्नुहोस भाउजु कविन्द्र दाईले म संग यो बाईक राखेर एक लाख रूपैया लिनुभएको छ महिना भईसक्यो दिने लक्षण देखाउनु हुन्न । अनि मैले कडाई गर्नै पर्यो , आज म यो मोटरसाइकल लान्छु एक महिनामा पैसा तिरेर फिर्ता लैजानुहोस नत्र राम्रो हुदैन ।" 
यतिन्जेलमा बाहिर निस्कीसकेको बुढालाई कविताले किंकर्तव्यबिमुढ भएर पुलुक्क हेरी । उसले नजर जुधाउन नसकेर भुईमा हेर्यो । 
"यो घरजग्गा पनि सन्त दाईकोमा राखेर पचास लाख ऋण लिएको छ । तिहार सम्म पनि उकास्नु भएन भने घर पनि उम्केला ।" 
नाइकेको आवाज कविताको कानमा तातो झोल जस्तो पस्यो । सन्तदाई बारे उसले सुनेकी थिई । सन्त भन्नेले शहरमा जुवा खेलाउँछ भनेर उसलाई थाह थियो । उसले बुढालाई हेरी , अनुहारमा कुनै प्रतिकृया देखीएन , जमीन तिर एकोहोरो हेरीरहेको मात्र देखी । 
उसको स्मृतिमा हरेक रातको जितौरी , रक्सीले मातेको बुढा र बुढाको मलिन अनुहार अनि निदाउन नसकी ओल्टेकोल्टे फेरेको दृश्य आइरह्यो । 
हेर त हरेक रात उसको लोग्ने लाखौं हार्दै जितेको ढोंग गरेर हजारमा उसलाई जितौरी दिदैं आएको रहेछ ।

No comments:

Post a Comment