Wednesday, August 14, 2019

सपना


विज्ञान विषय लिएर १२ कक्षा पढ्दा पढ्दै दियाको हात माग्न प्रसुतका बा पुगे ।भरखरै १८ वर्ष टेकेकी अत्यन्त सुन्दरी दियाको न अहिले नै विवाह गर्ने चाहना थियो न त उसका बा आमा मानेका थिए तर केटा पक्षको बारबारको आग्रह पछी आखिर उनीहरु हारे ।
एक दिन धूमधाम संग प्रसुत र दियाको शुभविवाह सम्पन्न भयो । भरखर १२ कक्षाको परिक्षा दिएकी दिया नर्स बन्न चाहन्थिन् ।तर विवाह भएको उमेर र रहरले फस्टाएको मायाप्रितीमा एक वर्ष बितेको उनलाई पत्तै भएन । यस बिच उनी १२ कक्षा राम्रो अंक ल्याएर उत्तिर्ण भईन । यस संगै उनको नर्स बन्ने सपना पनि पुन: जागृत भयो । उनी दिनरात प्रसुतलाई आफु पढ्न चाहेको र पढेर नर्स बन्ने आकांक्षा राखेको कुरा कर गर्न लागिन ।
 प्रसुतको कुनै कमाई थिएन । पूर्ण रुपमा बाआमामा आस्रित थियो । उसले दियाको इच्छा नै आफ्नो पनि इच्छा भएको भन्दै धेरै पटक बालाई दियालाई पढाउने पैसा माग्यो तर बुहारी पढाउनु हुदैन भनेर उसको कुरा ठाडै अस्वीकार भयो ।
आफ्नो कमाई नभएको र आफूले प्राण भन्दा प्यारी मानेकी पत्नीको इच्छा पुरा गर्न नसकेकोमा उ धेरै दुखी थियो । धेरै सोच विचार गरेपछी उसले विदेश जाने निर्णय गर्यो । यसमा पनि बाको साथ नपाएकोले व्यापारी साथिसंग डेढ लाख ऋण काढेर यता श्रीमतीलाई नर्सिंग कलेजमा एडमिशन गराएको एक महिना मै उ मलेशिया उडेयो ।
कडा मिहेनत गरेर प्यारी श्रीमतीको इच्छा पुरा गरेर खुशी बनाउने सपनामा उसले दिनरात नभनी काम गर्यो । साथीभाईहरुले मिठो खाँदा , राम्रो लगाउँदा पनि उसले आफूलाई सम्झेन , दिया नै मेरो जीवन हो भनेर अनावश्यक खर्च गरेन । हरेक महिना घरमा दियालाई पैसा पढ़ाई रह्यो ।
यसरी नै चार वर्ष बित्यो । दियाको पनि पढाई सकिएर परिक्षाको रिजल्ट आउन बाँकी थियो । उसले अर्को हफ्ता घर आउने भनेर दियालाई भनिसकेको थियो ।
काठमाडौंबाट अलमल नगरी उ सिधै आफ्नो घर , सुनसरी तिर हानियो । घर पुग्दा सबैलाई उदास देख्छ , कोही केही बोल्दैन । सिधै आफ्नो कोठा पसेर हेर्दा सबै अस्तव्यस्त , नयाँ र मूल्यवान सामान केही छैन । उ थचक्क पलंगमा बसेको बेला आमा आएर भनिन् “ तेरो बुढीले तलाई  छोडेर काठमाडौं तिरको केटो च्यापेर हिंडी ।”
ठिक त्यही बेला पल्लो कोठाको भित्तामा झुण्डीएको टिभीले त्यस बर्षको नर्सिंग परिक्षाको परिक्षाफल प्रकाशित गरेको सूचना सम्प्रेषण गर्यो ।
- २०७६/०४/२९

No comments:

Post a Comment