Sunday, June 2, 2019

हाम्रो नैतिकता

आफू निर्वाचित भएको स्थानलाई राजधानी बनाउन जुनसुकै त्याग र काम गर्न तयार रहेको र अर्कों स्थानमा राजधानी तोकिए आन्दोलनको आँधिबेहरी सृजना हुने चर्को भाषण माननिय ज्युले गर्दा भिंडले गडडडडडड तालि बजायो । उनले अन्तमा बोले :
“अब म यहाँबाट सिधै तपाईहरुको आवाज लिएर संसदीयदलको बैठकमा जाँदैछु , तपाईहरु हाम्रो सहरलाई राजधानि बनाउन जस्तो सुकै कदम चाल्न पनि तयार भएर बस्नु होस ।”
प्रदेशसभाको यिनै माननीयले आफ्नो पार्टीको संसदीय दलको वैठकमा टेबल ठटाएर आफ्नो कुरा राखे :
“हेर्नुहोस माननियहरु , हाम्रो प्रदेशको राजधानी हामीले भन्दैमा , सोच्दैमा हुन्छ भन्ने छैन ।यो राजनीति हो , यहाँ जुन देखिन्छ त्यो हुदैन , जुन कुरा बोलिन्छ त्यो पनि हुनैपर्छ भन्ने छैन । “
अर्का माननीयले उनलाई रोक्दै भने :
“ हैन हामीले चुनावी घोषणा पत्रमा लेखेका छौं , धेरै भाषण गरेका छौं , अहिले चट्टै अर्कों ठाउँमा राजधानी बनाउँदा जनताले के भन्छन् ? फेरी हाम्रो नैतिकता ....”
उनको कुरो नसकिंदै पहिलो माननिय गर्जिए :
” के को नैतिकता ? तपाईको महत्वाकांक्षा चै सम्झनुस । यो भन्दा माथि जानु मन छैन क्या हो ? त्यत्रो पार्टी नेतृत्वले निर्देशन गरेको विर्सनु भयो । जनता भनेको त भेंडा न हुन , उनीहरुलाई त फेरी उल्लु बनाइहालिन्छ नि !”
दोस्रो माननिय यस पछी चुप भए । उनलाई पनि मन्त्री बन्नु थियो । पार्टी नेतृत्वमा आउनु थियो ।
यस पछी सर्वसम्मत रुपमा अर्कै स्थानलाई राजधानि तोक्ने निर्णय गरेर संसदमा प्रस्ताव समेत दर्ता भयो । माननियको क्षेत्रको कुनै प्रस्ताव आउने कुरै भएन ।
भोलि पल्ट आन्दोलन चोकमा तिनै नेता कुर्लदै थिए :
“ आउनुहोस ! यो हाम्रो शहरको जिवनमरणको प्रश्न हो , सबै मिलेर एक पटक पुन: अन्तिम युद्ध लडौं ।”
उनले भने जस्तै जनता भेंडा न थिए । सबै उनको पछी गुटुटुटु कुदे ।
-विकासाचार्य
धरान

No comments:

Post a Comment