Sunday, June 2, 2019

मन


“देवीरमणको घर कहाँ हो ? “
वृद्धले मलाई सोधे ।
देवीरमण , मेरा छीमेकी काका हुन् । शिक्षित छन् , आर्थिक रुपले सम्पन्न नै छन् । काकी पनि शिक्षित हुन् । दुबै जना जागीरे हुन् । थोरै मात्र फुर्सदिला मान्छे हुन् काकाकाकी नै । तथापि कोही एक जना त घरमा होलान् ।
मैले जवाफ फर्काएँ :
“ उ त्यहाँ पर त हो वहाँको घर “
“ ए पुरानो घर त यता थियो जस्तो लाग्छ , भेट नभएको पनि तिन दशक भयो “ वृद्धले पुरानो कुरा सम्झदैं भने । “ यो ठाउँ नआएको पनि त्यति नै भयो होला नानी । सबै कुरा परिवर्तन भएछ । सबै कुरालाई समयको कसिले चम्काईदिएछ , शिथिल त केवल हामी भएछौं । ”
उनी नोस्टाल्जिक भए । उनको भावना नजिकबाट बुझेको हुनाले मैलै उनलाई आफैं काकाको घर सम्म पुर्याईदिने निर्णय गरेर भने : “ हिड्नुहोस बुवा म तपाईलाई त्यहाँ सम्म पुर्याईदिन्छु ।”
उनलाई साथै लिएर म काकाको घरमा पुगें । प्राय सुनसान हुने घर । सिटींगरुममा काकी एक्लै टिभी हेर्दै बसेकी थिइन् । मैले वृद्ध बुवा काकालाई भेट्न आएको बताएर उनको परिचय काकी संग गराएँ । काकीले उनलाई राम्ररी चिनिन् । केही पुराना सम्झनालाई पुन: केलाईयो । त्यसै बिच काकालाई फोन गरियो । काका बिसपच्चिस मिनेटमा घर आईपुग्ने भए ।
हामी तिनै जना मौन थियौं । काकी संग गर्नु पर्ने उनको कुनै कुरा नै थिएन ।
काकीलाई अफ्ठ्यारो लागेछ की के हो औपचारिकता स्वरुप वृद्धलाई सोधिन् :
“ सर्वत पिउनुहुन्छ ?”
उनले पिउने स्वीकृतिमा टाउको हल्लाए ।
त्यसपछी काकी किचन तिर जादैं गर्दा म पटी फर्केर सुस्तरी बोलिन् :
“ फ्रीजको चिसो सर्वत खान्छन् की खादैनन् ? “
म केही बोलिन ।
काकी पनि जवाफ नपर्खी हिंडिन् ।
केही क्षण पछी एक गिलास सर्वत ल्याएर काकीले वृद्धलाई दिदैं गर्दा उनले भने : “ एक्लै नखानु भन्छन् । “
म संगै त्यहाँ गएका उनलाई एक्लै पिउन अफ्ठ्यारो लाग्यो होला ।
काकी बोलिन् :
“ म चिसो खादिंन ।”
बृद्धले मलाई पुलुक्क हेरे । उनको घाँटीबाट सर्वत तल जान मानेन । उनको मन मैले पढें । काकीको मन पनि पढें ।
मलाई पनि त्यहाँ बसिरहन सारै असहज महसूस भयो ।
अनि जुरुक्क उठेर काकीलाई भने :
“ काकी म जान्छु है”
उनको प्रतिकृया पर्खिरहनु आवश्यक थिएन ।

No comments:

Post a Comment