Thursday, April 10, 2014

मेरो स्मृतिको पानामा गिरिजाप्रसाद कोइराला


                 
विकास आचार्य

भू.पू. अध्यक्ष ने.वि. संघ सुनसरी

      हाल ने.का. जिल्ला सह सचिब सुनसरी
                प्रगतिमन विरुद्धको आन्दोलन निरन्तर जारी थियो । आन्दोलन कै एउटा अंशको रुपमा नेपाल विद्यार्थी संघको राष्ट्रिय भेला काठमाडौंमा आयोजना गरिएको थियो । प्रसङ्ग त्यस घडीको हो जब पूर्व राजा ज्ञानेन्द्रले देशको सम्पूर्ण निर्वाचित अङ्गहरुलाई प्यारालाइज्ड बनाएका थिए । स्थानीय सरकारको समयावधि सकिएको अवस्था थियो, प्रतिनिधि सभा विघटन गरिएको थियो, यहाँ सम्मकी विद्यार्थी राजनीतिको धरोहर स्वतन्त्र विद्यार्थी युनिनको निर्वाचन पनि हुन नदिने जस्तो घोर अलोकतान्त्रीक क्रियाकलापहरु मुलुकमा हावी भइरहेको थियो ।  लोकतान्त्रिक संरचनाहरु भत्काउँदै निरंकुशता थोपर्ने ज्ञानेन्द्रको षड्यन्त्र मुलुकमा क्यान्सर फैलिए झैं फैलिँदै थियो । 

                यसै सन्दर्भमा प्रतिगमन विरुद्ध एउटै मोर्चामा एकीकृत भएका लोकतन्त्रवादी राजनीतिक दलहरु आन्दोलनमा होमिएका थिए । २०५९ भाद्र २४ गते देखि आन्दोलनलाई अझ सशक्त बनाउने उद्देश्यले हामी राष्ट्रिय भेलामा उपस्थित भएका थियौं । नेपाल विद्यार्थी संघ सुनसरीको अध्यक्षको हैसियतमा मैले पनि त्यस भेलामा आफ्ना झण्डै चालिस जना विद्यार्थी साथीहरु सहित सहभागिता जनाएको थिएँ । हामी सबै त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा बास बसेका थियौं । त्यस्तै भादै १७ या १८ गते दिउँसो देखि नै त्यस क्षेत्रमा प्रहरी चहलपहल बढेको आभाष हुँदैथ्यो । हुनत प्रहरी कार्यालय क्याम्पसमा जोडिएकै हुनाले साधारणतया विद्यार्थीहरुले त्यस चहलपहललाई अस्वभाविक रुपमा लिइरहेका थिएनन् तर हामी नेतृत्वमा रहेका दुई चार जनाले आज हामीलाई पक्राउ गर्ने छनक पाइसकेका थियौं । मुलुकमा भएरहेको लोकतान्त्रिक आन्दोलनमा नयाँ उर्जा थप्न हामीले गिरफ्तारी दिने निर्णय गरेका थियौं । समय छिप्पँदै जाँदैथ्यो । आधा भन्दा ज्यादा साथिहरु मीठो निन्द्रामा हराइसकेका थिए । रातको झण्डै ११:३० बजे महेन्द्र पुलिस क्लबका डि.एस.पि. जगदिश चन्दको नेतृत्वमा एक हुल पुलिसहरु सरस्वती सदनमा प्रवेश गरी हामीलाई तथानाम गाली गर्न थाले । तत्पश्चात हामी सम्पूर्ण ८०/८२ जनाको विद्यार्थी समूहलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा पुर्‍याइयो । न त हामीलाई पक्राउ परेका कारण भनियो न त पक्राउ पुर्जी नै दिइयो । नशामा मात्तिएका प्रहरीले ८०/८२ जनालाई गन्न झण्डै दुई घण्टा समय लगायो । बल्ल बिहान २ बजेतिर चिसो भुइँमा पल्टिन पाइयो ।             
  बिहान ५ बजे देखि नै दैनिक कृयाकलाप गर्नका लागि पक्राउ परेका विद्यार्थीहरुले माग राखे । त्यहाँ भएको चार पाँच वटा ट्वाइलेटले हामीलाई अपुग भयो । पानी लगायत अन्य आवश्यक कुराहरुको माग राख्दै हामीले त्यहाँ भित्र नै नारा बाजी गर्‍यौं । हामीले हाम्रो अवस्था बारे आफ्नो संगठन र पार्टीमा जानकारी गराउने उद्देश्यले टेलिफोन गर्न पाउनु पर्ने माग राख्यौं । हामी नेतृत्वमा रहेका पाँच जना अर्थात्, म ने.वि.संघ सुनसरी अध्यक्ष, ने.वि. संघ केन्द्रीय सदस्यहरु मुकेश थापा, बाबुराम कोइराला, ने.वि.संघ मोरङ अध्यक्ष ललित श्रेष्ठ र नेपाल तरुण दलका सुनसरी अध्यक्ष दुर्गा देवकोटालाई सार्थीहरुसँग अलग्याई फोन गर्न दिने भन्दै वडा प्रहरी कार्यालय सिंहदरवार (अनामनगर) मा ल्याएर थुनियो । हामी पाँच जनालाई कहाँ थुनिएको छ भनेर न संगठनलाई जानकारी थियो, न पारिवारजन न त सञ्चार जगतलाइ । बाहिरी दुनियाँको लागि हाम्रो उपस्थिति अज्ञात थियो । न त हामीलाई कसैसँग सम्पर्क गर्न दिइन्थ्यो न त त्यहाँ खोज्न आएका हाम्रो संगठनका नेताहरुलाई हामी त्यहाँ भएको जानकारी दिइन्थ्यो, मात्र पत्रपत्रिकाहरुमा हामी पाँच जना अज्ञात रहेको हामी पढ्न पाउँथ्यौं । दुई दिन त्यसरी नै बितेपछि तेस्रो दिन बिहानै हामीलाई प्रधानमन्त्री भेट्न आउने भन्ने जानकारी दिइयो । हामीलाई त्यस कार्यालयको अण्डर ग्राउण्ड जस्तो लाग्ने भुइँतलामा थुनिएको थियो, कार्यालय हामीभन्दा माथि थियो । इन्स्पेक्टर स्वयम् तल आएर हामीलाई पूर्व प्रधानमन्त्री भेट्न आउँदैछन् । तपाईंहरु माथि नै हिँड्नुहोस् भने । बल्ल हामीले थाहा पायौं प्रहरीले प्रधानमन्त्री आउँदैछन् भनेको त पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई भनेका रहेछन् । हामीलाई हाम्रा आदरणीय पार्टी सभापतिलाई, जहाँ हामीलाई थुनिएको छ त्यहीँ भेट्ने अडान लियौं । हाम्रो अडान कायम रहेपछि प्रहरीले नै पानी छम्केर कोठा बदारीदियो हामी सुतेको बिछ्यौना पनि आफैं मिलाएर राखिदियो । पछि थाहा भयो, अख्तियारको फन्दामा परेर नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्का पनि त्यहीँ थुनिएका रहेछन् ।
                बिहान त्यस्तै आठ बजेतिर प्रहरीले कोइराला हामीलाई भेट्न आएको जानकारी गराउँदै माथि आउन आग्रह गरे । हामी माथि नजाने भन्दै थियौं पत्रकार ऋषि धमला आएर कोइरालाले माथि नै बोलाउनु भएको छ भनेपछि हामी बाध्य भएर माथि इन्स्पेक्टरको कार्यालयमा पस्यौं । सम्माननिय कोइरालाको उपस्थिति देख्ने बित्तिकै हामी सबैले उहाँलाई जय नेपालको अभिवादन टक्र्यौं । पार्टी सभापति स्वयम् हामी फुच्चे केटाहरुलाई भेट्न आउनु भएको छ भन्ने कुराको अनुभुतिले हाम्रो छति चौडा भएको थियो । आन्दोलनको दौरानमा हामी जस्ता युवा विद्यार्थीको अनिवार्यतालाई मध्यनजर राख्दै उहाँ स्वयम्ले एउटा प्रहरीको तल्लो तहको कार्यालयमा उपस्थिति जनाएको सायद त्यो नै २०४६ सालको आन्दोलन पछिको पहिलो घटना हो । उहाँको गरिमामय उपस्थिति केवल हाम्रो धैर्यता र उत्प्रेरणाको लागि मात्र हो भन्ने आभाषले हाम्रो निरंकुशता विरोधी मस्तिष्कमा त्यसका विरुद्ध लाग्ने थप उर्जा प्रदान गरेको थियो त्यस अवसरमा उहाँबाट लोकतान्त्रिक र निरंकुश सत्ताको डरले स्वयम्लाई समर्पण नगरीकन निर्भिकताका साथ आन्दोलनको मैदानमा डटेर रहन आग्रह भएको थियो । उहाँले पक्राउ परेको छ भन्दैमा नआत्तिन अनुरोध गर्दै आफू पनि भदौ २४ भित्र हामीसँगै पक्राउ परी आउने कुरा बताई हाम्रो युवा रगतलाई अझ जोशले प्रवाह गराउँदै हामीलाई लोकतन्त्रको पक्षमा अझ बलियो एवं आन्दोलनमा नविन जोशका साथ लड्ने उत्प्रेरणा दिनु भएको थियो । यसरी कुशल संगठनकर्ता मानिनु हुने स्व. श्री गिरिजाप्रसाद कोइरालाले केवल हामीलाई मात्र होइन, हाम्रो उमेर समूहका सम्पूर्ण युवा विद्यार्थीहरुलाई आन्दोलनमा उत्रन उत्प्रेरित गर्नुभएको थियो, त्यस भेटघाटको माध्यमबाट स्मृतिमा अझै ताजा छ त्यस भेटघाटको अन्त्यतिर सम्म सायद हामीले गिरिजाबाबुसँग परिचय नगरेको देखेर हुन सक्छ, इन्स्पेक्टर स्वयम्ले उहाँसँग परिचय गराउन खोज्दा सानो बुबास्वयम्ले सुनसरीमोरङका युवा विद्यार्थीसँग मैले परिचय गरिरहुन पर्दैन, म व्यक्तिगत रुपमा सबैलाई चिन्दछुभन्दा हामीलाई गर्व लागेको थियो । हामीले आफैंलाई त्यो इन्सपेक्टर भन्दा धेरै माथि रहेको अनुभव गरेका थियौं ।
                गिरिजाप्रसाद कोइरालाको सामिप्यता र स्पर्श कति महत्त्वपूर्ण हुन्थ्यो सर्वसाधारण तथा नेपाली काङ्ग्रेसको तल्लो तहका कार्यकर्ताका लागि भन्ने कुराको पुष्टि निम्न घटनाले पनि पुष्टि गर्दछ । २०५७ सालको कुनै महिना हो । उहाँ प्रधानमन्त्री पदमा वहाल हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेसले सप्तरीको राजविराजमा विशाल आमसभाको आयोजना गरेको थियो । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा तथा पहाडी जिल्लाहरुको नेता कार्यकर्ताहरुको विशाल उपस्थिति त्यस आमसभामा थियो । कोइरालाको आगमन भइसकेको थिएन । हामी युवा विद्यार्थीहरुलाई स्वयम्सेवकको रुपमा भीड नियन्त्रण गर्न कठिन भइरहेको थियो । आम जनसमुदाय केवल नजिकबाट कोइरालालाई हेर्न चाहन्थ्यो । उहाँले आमसभा स्थलको मञ्च पुग्न करिब २५ मिटर गाडी बाटी उत्रेर हिँड्नु पर्ने थियो । त्यो २५ मिटरको क्षेत्रमा बाटोको दुवैतिर हातमा फूलमाला लिएर तछाडमछाड गर्दै जनताहरु भीडमा उभिइरहेका थिए । सबै जना बहालाई पुष्प अर्पण गर्न चाहन्थे, उहाँको नजिकबाट दर्शन गर्न चाहन्थे । सम्पूर्ण जनसमुदायको आँखा उहाँ आउने बाटोतिर एकोहोरिएको थियो । मञ्चको माइकबाट कोइरालाको आगमन भइसकेको उद्घोष भयो । प्रहरीको सायरनसँगै उहाँको गाडी आएर निर्धारित स्थानमा रोकियो । शालिन शैलीमा उहाँ गाडीबाट उत्रेर सम्पूर्ण स्वगतार्थीहरुको भव्य स्वागत र जिन्दावादको नारालाई स्वीकार गर्दै उहाँ अगाडि बढ्न थाल्नुभयो । भीड अनियन्त्रित भइसकेको थियो । हामी मुकदर्शक भएर हेर्दै थियौं । प्रधानमन्त्री त्यो २५ मिटरको दूरी पार गरेर मञ्चमा उक्ली सक्नुभएको थियो । विस्तारै त्यहाँबाट भीड कुइरो छाँटिए झैंहराएर गयो । हामीले देख्यौं एउटा अर्धवैसे पुरुष आफ्नो दाहिने हात अलग्गै राखेर आफ्नो समकालीनहरुलाई सुनाउँदै थिए, “मलै गिरिजाबाबुलाई छुएँ ।उनको त्यो हात आफ्नो शरीरभन्दा पनि पर थियो, मानो गिरिजाप्रसाद कोइरालाको त्यो स्पर्श उनी बाचाइ राख्न चाहन्थे । उनलाई त्यो स्पर्शले एउटा भिन्न अनुभूति दिलाएको थियो, जसलाई त्यो विशाल मानव सागरमा केवल उनले मात्र अनुभव गर्न पाएका थिए । यसले प्रमाणित गर्दछकी गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष दर्शन पाउन स्पर्श गर्न र श्रवण गर्न सर्वसाधारण कति लालायित थिए ।
                दश वर्षे द्वन्द्वबाट मुलुकलाई अलग गरेर, जनयुद्धमा होमिएको माओवादीलाई राजनैतिक मुल धारमा ल्याउन सफल नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला आज हामी माझ हुनुहुन्न । उहाँको नेतृत्वमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, नयाँ संविधान निर्माण सँगसँगै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन हामीले सदा उहाँको अनुपस्थितिले रिक्तता महशुस गर्नेछौं । उहाँको जीवनभर देखिएको राजनीतिक सकृयताको अभावले हरेक राष्ट्रिय निर्णयहरु प्रभावित रहने छ । राजनैतिक जीवनमा उहाँले भोगेका उतार चढावका अतिरिक्त उहाँ वर्तमान परिपेक्ष्यमा कति लोकप्रिय हनुभुएको रहेछ भन्ने कुराको उहाँको अन्तिम यात्रामा सहभागी भएका लाखौं जनसागरले पुष्टि गर्दछ । महाप्रस्थान पश्चात स्व. श्री गिरिजाप्रसाद कोइराला सम्पूर्ण नेपाली जनताको स्मृतिशेष रहनु भएको छ । परमात्माले उहाँको आत्मालाई शान्ति दिउन् । अस्तु ।

No comments:

Post a Comment