Friday, April 25, 2014

महाकुम्भको दर्शन र स्नान तीन दर्जन तस्बिरहरुको सँगालो समेत

      
     आज बिसं २०७१  बैशाख १२ गते शुक्रबार  बिहान सखारै उठेर महाकुम्भ मेलामा स्नान गर्न सपरिवार बराहक्षेत्र गाबिसको चतराधाम जानको लागि हामी तयार भएका थियौ  । हामी जम्मा ८ जना ,काका लोकेन्द्र अनी काकी तारा साथमा यसु र लक्ष्मी पनि त्यस्तै भिमा काकी पनि साथ हुनुहुन्थ्यो । म सँगै छोरा बिभव र राधा थिए । एक घण्टाको यात्रा पछी चतरा पुगियो । बिहानै हिंडेको हुनाले अन्य सवारी साधन फाट्ट फुट्ट मात्र भएकोले धुलो खानु परेन ( स्मरण रहोस् धरान देखी चतरा सम्मको बाटो कच्ची छ )। बिहानीको समयमा पुग्दा आफ्नो सवारी साधन नदी सम्म नै पुर्याउन पाइदो रहेछ । अत्यन्त रमाइलो बातावरण थियो नदी किनारमा । कुम्भ स्नानका लागि आएका नरनारिहरु कोही त्यसै बसेका , हिंडेका तथा धेरै जसो स्नानमा ब्यस्त देखिन्थे । सात वटा नदी मिलेर बनेको सप्त कौशिकी नदी आफ्नो नियमित गतीमा अविरल बगिरहेको द्रिष्य अत्यन्त मनोरम थियो । स्वच्छ निलो पानी सललल बगेको देख्दा कसको मन बिभोर नहोला । मेला ब्यबस्थापन पक्षले संभावित दुर्घटनालाई मध्य नजर गर्दै सक्दो सुरक्षा र बचावको काम हुने तारताम्य मिलाएको रहेछ । नदीमा बासको घेरा देखी लिएर जीवन रक्षक प्रहरी तयार पारीएको रहेछ ।


                   स्नानको लागि गएको हुनाले हामीले पहिलो कार्य त्यही गर्यौं । चैत बैशाखको गर्मीमा पनि हिमालयको गर्भबाट बगेर आएको चिसो पानीले जाडोको अनुभुती दिलाउने रहेछ । पानी स्पर्शले नै शरीर चङ्गा हुने कस्तो शक्ती होला त्यो हिमरसमा । जे होस् सबैले त्यो चिसो चिसो , रमाइलो र रोमान्चित अनुभव गरिसके पछी हामी धाम (मेला ) घुम्ने कार्यमा लाग्यौ । मान्छेको भीड केबल एक आध घण्टामा बढीसकेको थियो । अघि त्यती कम मानिस थिए भने अहिले अत्यन्त धुलो र भीड भइसकेको रहेछ । सब भन्दा पहिला कुम्भ स्तम्भको दर्शन गरियो । काठमाडौंको धरहरा जस्तो लाग्ने यो स्तम्भ हेर्नेको भीड छिचोली नसक्ने भसकेको रहेछ । त्यस पछी हामी राधाकृष्ण भगवानको दर्शन गर्न राधाकृष्ण मन्दिरको माथि चढ्यौ । दर्शन गर्न जानेको त्यहा पनी हुल थियो ।  
               यती बेला सम्म कुम्भमेलाले आफ्नो आकार ग्रहण गरी सकेको थियो । जहाँ त्यहा मान्छे नै मान्छे देखिन्थे । हल्ला खल्ला र धुलोले बातावरण कोलाहलमय भइसकेको थियो । तर यस कोलाहलमा पनी एक किसिमको निरन्तर सुनिने आवाजको धुन कानमा गुन्जीरहने रहेछ । अन्तरिक्ष्यमा केवल ॐ को एकोहोरो धुन सुनिएजस्तै लाग्ने यस प्रकारको कोलाहलले झन स्फुर्ती ल्याउने रहेछ । पर खै कता बाट " माता मोरी मै नेही माखन खायो " भन्ने भजनको धुन सुन्दा मन हर्षले बिभोर हुने । कतै कोटी होम हुँदै गरेको त कतै भण्डारा लगाइ मेलामा आउने सबैलाई प्रसादी बितरण गरिरहेको देख्न पाउदा स्वर्गिय आनन्द प्राप्त हुने रहेछ । त्यहाबाट हामी मान्छेको भीड पन्छाउदै जगद्गुरु बालसन्त महाराजको दर्शन गर्न वहाँको कुटी तर्फ लाग्यौ । जगद्गुरु बिहानको आरतीमा ब्यस्त भएको समय रहेछ । एकछिनको पर्खाइ पछी सबैले जगद्गुरुको आशिर्वाद थाप्यौ । जगद्गुरुबाट अली भीड थोरै भएको बेलामा आए भेटघाट राम्रै हुने भन्ने सदासयता प्राप्त भए पनी हाम्रो आफ्नै ब्यस्तताले हामी त्यहा बाट हिड्यौ ।
                 चतराधामको अर्को आकर्षण भनेको यस पटक स्थापित बिशाल हनुमानको प्रतिमा हो । हामी सबैले पवन पुत्र हनुमानको बिशेष स्तुती गर्दै उक्त बिराट मुर्तीको दर्शन गर्यौ मनमनै हनुमान चालिसा पाठ गर्दै । "जय हनुमान ज्ञान गुण सागर , जै कपीस तिहुँलोक उजागर " भन्दै बजरंगवलीको दर्शन गरेपछी हामी धरान फर्कने भन्दै आफ्नो सवारी भएको स्थान तिर लाग्यौ । बिहानको त्यती निर्मल बातावरण अहिले गर्मी र धुलोले ढाकीसकेको रहेछ भने मान्छे र सवारी सधानको चाप पनी बढेर छिचोल्न नै अफ्ठ्यारो हुने भएको रहेछ ।
                   यसरी आज हाम्रो धरान देखी महाकुम्भ सम्मको यात्रा अत्यन्त सफल , मनोरम र आत्मालाई नै शान्ती प्रदान गर्ने किसिमको भएको मैले अनुभव गरे । सो अवसरमा लिइएका केही तस्बिरहरु यहाँ राखेको छु ।         

   

No comments:

Post a Comment