Saturday, October 3, 2015

बिहे

उन्नाइस पुरा भएर बिस लाग्ने बित्तिकै इशालाई परिवारका जेठा–बाठाहरु अनी छरछिमेकका महिलाहरुले बिहेको उमेर भयो भनेर जिस्काउन थालेका थिए । साथीसंगीले पनि बाँकी राखेका    थिएनन् । बिहे गर्नु पर्छ भन्ने कुरा पनि कहींकहींबाट आइरहन्थ्यो । पल्लो घरकी छिमेकी दिदिले उसलाई भेटेपिच्छे गाँउमा आफ्नो मामाको छोरा उसलाई जोडी मिल्ने खालको छ भनेर जिस्काउने पारामा बिहाको प्रस्ताव राख्थिन । घरमै पनि बुढी भै सकेकी हजुरआमा गम्भीर मुद्रामा उसलाई बिहाको लागि उक्साउने गर्नु हुन्थ्यो । त्यो मर्ने बेलामा नातिनीको बिहा हेरेर मर्ने वहाँको प्रवल इच्छा हुन सक्थ्यो । तर कालले वहाँको यो इच्छा पुरा हुन दिएन । पोहर साल मात्रै एक हफ्ताको बिरामीले गर्दा वहाँले जीवनको बाटोमा आफुलाई अगाडि डोर्‍याउन सक्नुभएन । मन भरी नातिनिको बिहे हेर्ने इच्छा दबाएर हजुरआमाले संसार छोड्नु भयो । 

Monday, September 14, 2015

"शिर्षक" के लेखौं सुझाव गर्नुहोला ....

अचानक आफ्नो सामाजिक संजालको एउटा कुनामा "तपाईं चिन्नु हुन्छ कि" भनेर उनको तस्बिर र नाम देख्दा प्रेमसागरको  मनमा एउटा अनौठो तरंग उत्पन्न भयो । दुई दशक देखी मनमा गुम्सिएको आकर्षणको बिम्ब थियो त्यो तस्बिर । मनमा अनेकानेक बिजुली बत्ती बलेको अनुभूती हुने । एकाएक त्यो तेजले बिजुली चम्कदा आँखामा निमेष भर हुने उज्ज्यालो बनाएर गयो । हो बिस बर्ष अगाडि देखी टाढा गएकी आफ्नै छेमिकी मौनतालाई उसले  आज भेटेको थियो । त्यो क्रीतिम संसारको रंगमन्चमा आज बर्षौं पछी देख्दा पनि त्यो अनुहारमा भएको तेज र आकर्षणमा किन्चित कमी आएको थिएन । कम्प्युटरमा ठुलो बनाएर हेर्दा होस या अझ त्यसलाई “जुम” गरेर हेर्दा होस त्यो कुनै हालतमा परिवर्तित मुहार लागेन उसलाई  । उत्तिखेर नै पचासौं पटक मौनताको त्यो तस्बिर उसले त्यसरी हेर्यो । जबर्जस्त ढंगले मनमा बसेको आकर्षणको कुन्ठा अनी नयनको प्यास त्यती छोटो समयमा मेटिन सक्ने कुरा थिएन ।
पोहोर साल खुशी फाट्दा 
जतन गरी मनले टाले 
त्यही साल माया फाट्यो 
त्यसलाई पनि मनले टाले 
यस पाली त मनै फाट्यो 
के ले सिउने के ले टाल्ने हो ? 
धेरै पहिला , जीवनको एउटा फर्केर नआउने कालखण्डमा , यौवनको उन्मादले मस्त भएको बेला पहिलो बिपरित लिंगी आकर्षणको रुपमा मौनताले प्रेमसागरको आँखाको माध्यमबाट मुटुमा प्रवेश गरेकी हुन । त्यो पल देखी आज सम्म प्रेमसागरको त्यो निस्छल मुटुमा त्यही तस्बिर अमिट भएर अंकित भएको छ । कती खोज्यो उसले त्यसलाई मेट्न, अँह सकेन । कुन मसीले छापिएछ त्यो तस्बिर , मनको हरेक कुनामा त्यही तरंग पुगेको छ । लाग्छ त्यो तरंग उ संगसंगै महाप्रस्थानको यात्रामा जान लालायित भएर बसेको छ । उसलाई त विश्वास छैन सम्झनाबाट पाइने आनन्दमा । सम्झना त एउटा ढोंग हो चित्त बुझाउने । वास्तविक आनन्द त विर्सनुमा छ , तर बिर्सनु एउटा कठिन योग हो । मानिसले बिर्सन सिक्नु पर्छ सम्पूर्ण खराबीहरुलाई , कर्म क्षेत्रमा बिर्सिदिनु पर्छ आफ्ना कमजोरिहरुलाई र सधैं सम्झना दिलाउने र बाधा गर्ने अतितलाई बिर्सन बिर्सनु हुन्न । त्यसैले बिर्सन जान्नु मानिसको ठूलो विशेषता हो । अहा...........! कती आनन्द छ एउटा आदर्शको निमित्त स्वयमलाई बिर्सिदिनुमा । तर उ किन बिर्सन सक्दैन उनलाई ? 
त्यो बेलाको आकर्षण र मनले चाहेको कुरा व्यक्त गर्ने एक मात्र माध्यम भनेको चिट्ठी ! आफ्नो मनको तमाम कुरा ,आफ्नो माया पोखेर लेखेको हुन्थ्यो प्रेमसागरले मौनतालाई चिट्ठीहरु । उसका हरेक चिट्ठीहरुको जवाफमा उनले पठाउने जवाफी चिट्ठीहरुमा पनि त्यसै गरी आफ्नो मन पोखेर उसको हात लगाइ दिएकी हुन्थिन । केवल चिट्ठीहरुमा उनिहरु एक अर्कामा नजिक थिए । मनमा समिप्यताको अथाह चाहना , मुटुमा उम्लिएको युवा र स्निग्ध मायाको छालहरु चिट्ठीबाट कहिले यथार्थमा निस्कन सकेनन् । किन किन अन्जान भयले उनिहरुले त्यो आँट गर्न सकेनन् । कैयौं रातहरु अनिदों बिताएको छ प्रेमसागरले । पचासौं पटक एक रातमा पढेको छ एउटा चिट्ठी । नजिकबाट आफ्नो मनकी मलिकालाई नदेखेको वासना रहित मायाको यो अध्याय एक दिन अचानक काँच झैं टुक्रिएर चकनाचूर भएको थियो । त्यो दिन उसले आफ्नो मनोभावना पोखेको हृदयको सबै पन्नाहरु कागजको खोस्टो सरह फिर्ता पाएको थियो । उ जिवित लाशमा परिणत भएको थियो त्यो क्षण । संसार टक्क अडिएको थियो । सारा जगत उ संगै किमकर्तव्यबिमुढ भएको थियो । नदीको प्रवाह रोकिएको जस्तो उसको मस्तिस्कले आफ्नो कार्य गर्न पनि रोकेको थियो । 
सास फेरे जस्तो लाग्छ 
तर भन्छन मरी सकिस 
तेरो भाग्य तेती नै हो 
भोग चलन गरी सकिस 
सलहको भाग्य मेरो 
मर्ने बाच्ने ठेगान छैन 
भाग्य फाटे सिउथे बरु 
तर मन सिउने के ले हो ? 
त्यो दिन देखी उसको मन साँचै मरेको थियो । उसको मायामा के त्यस्तो खोट भएछ त्यो नै थाह पाउन सकेको थिएन । रात गए , दिन गए , भोक प्यासको आभाष हरायो । तर मनबाट त्यो कुँदिएको प्रतिमा हट्न सकेन । कती मेट्न खोज्यो तर मेटिएन । केही दिन पछी नसा भित्र नशा बगाउदा बिर्सन सक्छु कि भनेर नशाको शरणमा गयो । तर झन चम्किलो भएर आउने रहेछ त्यो मुहार । मुटु कब्जा गरेर बसेको त्यो मुहारले त्यती बेला उसलाई जिउन पनि दिएन अनी मर्नबाट पनि सधैं रोक्यो । महिना बित्यो, एक दुई गर्दै । उसले आफ्नो हृदयको रगतले लेखेको पन्नाहरु किन वापस पायो बुझ्न कहिले सकेन । शायद कुनै गलती भएको हुन सक्छ । उसको मनले राम्रो गरेको भन्दा भन्दै उनको नजरमा त्यो कुरा गलतीको रुपमा देखापरेको हुन सक्छ भन्ने सोचलाई अगाडि राख्दै एक दिन त्यो अज्ञात गलती स्विकार गरेर पुन अर्को चिट्ठी पठाउने आँट गरेर उनको हात लगाउने अन्तिम प्रयास गर्‍यो । जसमा उसले क्षमा याचना गरी जिउने आधार मागेको थियो । तर नियती कती निस्ठुरी हुँदो रहेछ । कती पिडादायक हुँदो रहेछ माया । उसको त्यो मनको पिडा छछल्कीएको वेदनाको पातो पनि उनले हातले पनि नछोइ हुत्याइदीईछिन । यस पटक त मन थाम्न नसकेर कुदेर एकान्तमा पुगी भक्कानिएर रुएको थियो उ । अब त आफ्नो भाग्य भनेको नै उनको दर्शन पाउनु मात्र हो भन्ने जस्तो भयो उसलाई । केवल उनको दर्शन पाउनको लागि उ आफ्नो घर भन्दा बढी उनको घर भएको स्थानमा बिरक्तिएर बस्न थाल्यो । घर त खान र सुत्न पनि आउन छाड्यो । उसलाई पर कतै उनको आकार देख्न पाउदा ब्रम्हाण्ड खुशीले हासेको जस्तो लाग्दथियो । त्यो निस्कपट रुपले धोखा दिएको विश्वास उसले आज सम्म गर्न सकेको छैन । बाध्यताको भुमरीमा गरेको निर्णय हुन सक्छ । उसको भन्दा ठुलो घाऊ लिएर पो बाँची रहेकि छिन् कि ? 
सुख के हो दु:ख के हो ?
मनले खोज्ने खुशी के हो ?
भावीले निधारमा कर्म
लेखिदिने मसी के हो ?
कर्म लेख्ने मसी के हो ?
भाग्य तोक्ने कसी के हो ?
कर्म फुटे जोड्थे बरु , 
तर मन जोड्ने के ले हो ? 
जसरी भए पनि उ निरस जीवन डोर्‍याएर यहाँ सम्म आएको नै थियो । समय सँग दु:ख भोग्ने शक्ती बरदान पाएकै थियो । सहने सामर्थ्य हुर्कदै जाँदा संसारिक व्यवहारले छोप्दै जाँदो रहेछ । मरी हाल्न नसके पछी समाजको लागि जिउनु पर्ने कस्तो बिवशता ? जे होस् उसको जीवन अगाडि बढी रहेको थियो । मनमा रहेको उनको तस्बीर माथि अर्को तस्बिर टाँसी सकेको परिस्थितीमा समयको चक्का गूड्दै थियो । मुटुको भित्तामा अमिट भएर टाँसिएको उनको तस्बिरले नै मनको धेरै ताप पाएको थियो । कैयौ पटक उ एकान्तमा हुँदा अनी आफ्नो जीवन सँग जोडीएको घटना सम्झन खोज्दा उनलाई नै सम्झिने हुनाले अरु कुनै घटना ताजा रुपमा आउन सक्दैन थियो । अचानक पुन उनिसँग समयको नयाँ प्रबिधीको माध्यम र सहयोगमा भेट भयो । मनको बेदना , अनुभुती र कुण्ठा पोखिन महिना लाग्यो । एक अर्काको भावना साटासाट हुन बेर लाग्दो रहेन छ । आफ्नो सम्पूर्ण मनको भावना पोखिसके पछी बाँकी के नै रहेको थियो । एउटा असल मित्रता जीवन भरी निभाउने सोच उसको मनमा थियो । सोचेको कुरा सधैं नभएको , भाग्यले सधैं ठगेको उसलाई भोक, निन्द्रा र प्यासको इच्छा गौण भएको यो कस्तो नयाँ अनुभूती भन्ने लाग्दै थियो उसलाई । अचानक मौनताले फेरी एकपल्ट अब पुन: कहिले संवाद नगर्ने निर्णय सुनाइदिएको हुनाले प्रेमसागर रन्थनिएको छ । तर पनि बज्र भई सकेको उसको त्यो छातीले यो प्रहार पनि सहन सकोस भन्ने प्रार्थाना गर्दै भविष्यको दुरगामी यात्राको निरन्तरतामा अगाडि बढीरहनु उसको नियती भएको छ ।
पोहोर साल खुशी फाट्दा 
जतन गरी मनले टाले 
त्यही साल माया फाट्यो 
त्यसलाई पनि मनले टाले 
यस पाली त मनै फाट्यो 
के ले सिउने के ले टाल्ने हो ?

Saturday, July 4, 2015

ब्युटिरोज

परम्परागत शैलीको चारकुने कोठा - ढोकाबाट प्रबेश गर्ने बित्तिकै प्रथमत: सबैको नजर शिशाको टेबलमाथी राखिएको ठुलो एलइडी टेलिभिजनमा पर्छ । दाहिने तिर भित्तामा काठको थ्रीपिस दराज ,दराजको बिशाल एेनामा कोठा लगभग आधा प्रतिम्बित भएको देखिन्छ । दराज कलात्मक र आधुनिकताको प्रतिक जस्तो छ जस भित्र शायद असंख्य कागज , कपडा र अन्य बस्तुहरुले कैदी जीवन बिताइ रहेका होलान । देब्रे तिर भने भित्तामै जोडेर कम्प्युटर टेबल , जस माथि एउटा कम्प्युटर मोनिटर शानसँग रहेको छ । मोनिटरको छेउमा स्पिकर , वेभक्याम र राउटर देखिन्छ भने टेबलको अली तल माउस र किबोर्ड त्यो भन्दा तल युपिएस र सिपियु राखिएको छ । कोठाको एक छेउमा अहिले निलो तन्ना ओछ्याएको किङ्ग साइजको पलङ्ग छ । उस्तै खोल हालेको शिरानी र ब्लान्केट मिलाएर राख्ने शैली पनि उत्तिकै प्रशंसनीय छ । ढोका माथि भित्तामा एउटा आकर्षक भित्ते घडी , अनी अर्को पट्टीको भित्तामा एउटा क्यालेन्डर र कुनै अङ्ग्रेज युवतीको मनमोहक पोस्टर छ । दूध झै सेतो सिलिङ्गमा चक्लेटी रङ्गको पंखा छ जो यस बेला आफ्नो सम्पूर्ण गतीमा फननन घुमी रहेको छ ।
आज उसको मष्तिस्क पनि त्यो पंखा जस्तै फनफनी घुमीरहेको छ । कुनै एक चिजमा ध्यान केन्द्रित हुन सकेको छैन । मानसपटलमा बिषय बस्तुहरु चलचित्रको बिज्ञापन जस्तो एकपछी अर्को आइरहेको अवस्था छ ।

Tuesday, May 19, 2015

बैशाख १२ ले २०४५ साल सम्झाउँदा

पैंतालिस साल भाद्र पाँच गते आईतवार, बिहान भईसकेको भए पनि मेरो लागी राति नै थियो पन्ध्र बर्षे ठिटाहरु बिहान पाँच पनि नबजी कहाँ उठ्छन ? चार बजेर चौवन्न मिनेट पैंतिस सेकेण्ड गएको रहेछ मस्त निन्द्रामा भएको मलाई सँगै सुतेको दाजुले "उठ भुँईचालो आयो " भनेर धकेल्नु भयो अत्तालिएर जुरुक्क उठे , देख्छु दाजु छेउको काठको भर्र्याङ्बाट दश खुड्किलो एकै पल्टमा झर्नु भयो दाजु भुँईचालोको बेगले झर्नु भएको हो कि छिटो उत्रिनु भएको मैले बुझ्न सकिन भने नजिकै खाटको छेउमा रहेको चप्पल खोज्न लागेछु

Tuesday, April 14, 2015

गीत


मनमा तिमि छौ
नजरमा तिमि छौ
जिन्दगिमा सधै
साथमा तिमि छौ

तिमि छैनौ भने
खाली हुन्छ मन
नजरबाट टाढा हुदा
आशु बन्छ झन

सधै बस मेरो नजिक
हृदयको स्पन्दन बनि
नयनबाट हट्नु हुन्न
उज्ज्यालो त्यो नानी बनि

Friday, March 13, 2015

राजनीति

उसको पार्टी मुलुककै अगुवा पार्टी भनिने गर्थ्यो । लोकतन्त्रको पर्यायबाची भनेर पनि धेरैले भन्ने गर्थे । यस्तो पार्टीको सदस्य हुन पाउँदा उसलाई पनि अत्यन्त गर्व महशुस हुन्थ्यो । कुनै कालखण्डमा देशको राजनीतिमा प्रतिबन्ध भएको आफ्नो पार्टी खुला राजनीतिक गतिबिधीमा संलग्न हुन पाउने भई सकेपछी अब देशले मुहार फेर्ने कुरामा उ निश्चिन्त थियो । आफ्नो पार्टीको संगठन सुढ्रीडिकरणका लागि उ अहोरात्र खट्थ्यो । हरेक कार्यक्रमहरुमा सकृय सहभागिता जनाउथ्यो ।
समय बग्दै जाँदा मुलुकमा आमुल परिवर्तन गर्छौ भन्दै एउटा समुह जंगल प्रवेश गरेर सशस्त्र बिद्रोह गर्न थाल्यो भने अली पछी दाजुको रहस्यमय हत्या भए पछी भाईले श्रीपेच लगाएर सकृय हुन खोजे । दाजु जस्तो टुलुटुलु हेरेर नबस्ने घोषणा गरेका उनले लोकतन्त्रलाई आत्मसात गर्ने सबै पार्टी र ब्यक्तिहरुलाई नियन्त्रण पनि गरे । आधुनिक संसारको मेरुदण्डको रुपमा स्थापित भइसकेको संचारका सबै साधनहरुको समेट घाँटी निमोठे । झन्डै एक दशक अगाडिको आन्दोलनबाट प्राप्त उपलब्धीहरु कुन्ठित गरियो । तत्पश्चात पुन: अर्को आन्दोलनको बिगुल फुकियो । अबको आन्दोलनले जंगल बस्नेहरुलाई घर फर्काउने र सकृय हुन चाहने भाईलाई तह लगाउने मूल उद्देश्य साथ आँधीबेहरी ल्याउन सफल भयो । उ फेरी अत्यन्त खुशी भयो । अब आफ्नो देशमा शान्ती स्थापना हुने आशाले उसको रक्तसंचार प्रबाहमा समेत नौलो तरंग उत्पन्न भयो ।