Saturday, July 4, 2015

ब्युटिरोज

परम्परागत शैलीको चारकुने कोठा - ढोकाबाट प्रबेश गर्ने बित्तिकै प्रथमत: सबैको नजर शिशाको टेबलमाथी राखिएको ठुलो एलइडी टेलिभिजनमा पर्छ । दाहिने तिर भित्तामा काठको थ्रीपिस दराज ,दराजको बिशाल एेनामा कोठा लगभग आधा प्रतिम्बित भएको देखिन्छ । दराज कलात्मक र आधुनिकताको प्रतिक जस्तो छ जस भित्र शायद असंख्य कागज , कपडा र अन्य बस्तुहरुले कैदी जीवन बिताइ रहेका होलान । देब्रे तिर भने भित्तामै जोडेर कम्प्युटर टेबल , जस माथि एउटा कम्प्युटर मोनिटर शानसँग रहेको छ । मोनिटरको छेउमा स्पिकर , वेभक्याम र राउटर देखिन्छ भने टेबलको अली तल माउस र किबोर्ड त्यो भन्दा तल युपिएस र सिपियु राखिएको छ । कोठाको एक छेउमा अहिले निलो तन्ना ओछ्याएको किङ्ग साइजको पलङ्ग छ । उस्तै खोल हालेको शिरानी र ब्लान्केट मिलाएर राख्ने शैली पनि उत्तिकै प्रशंसनीय छ । ढोका माथि भित्तामा एउटा आकर्षक भित्ते घडी , अनी अर्को पट्टीको भित्तामा एउटा क्यालेन्डर र कुनै अङ्ग्रेज युवतीको मनमोहक पोस्टर छ । दूध झै सेतो सिलिङ्गमा चक्लेटी रङ्गको पंखा छ जो यस बेला आफ्नो सम्पूर्ण गतीमा फननन घुमी रहेको छ ।
आज उसको मष्तिस्क पनि त्यो पंखा जस्तै फनफनी घुमीरहेको छ । कुनै एक चिजमा ध्यान केन्द्रित हुन सकेको छैन । मानसपटलमा बिषय बस्तुहरु चलचित्रको बिज्ञापन जस्तो एकपछी अर्को आइरहेको अवस्था छ ।
न टेलिभिजनले उसको ध्यान खिंच्न सकेको छ न त कुनै पुस्तकले नै । आज मन चन्चल छ , प्रफुल्लित छ । सोच तिब्र गतीमा योजना बुन्दै-उधार्दै गर्दै छ । कुनै निश्चित बिषयमा अड्न सकेको छैन आज उ । यसको कारण हो - ब्युटीरोज ,उसको फेसबुक फ्रेन्ड । ब्युटिरोजलाई अहिले सम्म उसले भेटेको छैन , मात्र फेसबुकमा चिन्छ । ईन्टरनेटकै संसारमा उसले रोज सँग धेरै भेटेको छ ,गफिएको छ । कती रात उसले रोज सँग च्याट गर्दै बिताएको छ । फेसबुकमा उनिहरुको माया झाङ्गीएको छ , संसार जित्ने कसम खाएका छन त्यँही । उसले रोजमा नै आफ्नो जीवन डोरी गाँसिएको महशुस गरेको छ , मोबाइलमा ममीको डरले बोल्न नसक्ने रोजलाई फेसबुकको इनबक्समै कैयौ पटक रिचार्ज कार्ड्को पिन म्यासेज गरेको छ । हो त्यही रोजले भोली उसलाई भेट्न बोलाएकी छ । उसको मन र मष्तीस्क चन्चल हुनुको यो नै कारण हो ।
रोजलाई उसले छ महिना जती अगाडि फेसबुक चलाऊदा आफ्नो टाइमलाइनमा देखेको वा भनौ भेटेको थियो । सुन्दरताको नमुना झल्कने फोटोले उसलाई तत्क्षण आकर्षित गरेको हुनाले त्यो फोटोलाई लाइक गरेर एयाड रिक्वेस्ट सेन्ड गरेको थियो जसलाई दुई दिन पछी रोजले एसेप्ट गरेकी थिई ।त्यस पछी शुरु भएको थियो कहिले नरोकिने च्याटको शिलशिला । च्याटले नै उनिहरुको मित्रता प्रगाढ बनाइदिएको थियो । दुबै जना फेसबुक फ्रेन्ड भएकोमा खुशी थिए । उसको नजरमा मित्रता -एक किसिमको पवित्र सम्बन्ध , जहाँ विश्वास छ, माया छ अनी छ मर्यादाको नैतीक बन्धन । रोजले कुन अर्थ लगाउदी हो अहिले सम्म थाहा पाएको छैन , कैयौ पल्ट सोध्थ्यो उत्तर सधैं एउटै -" मलाई त्यती गहिराइमा कुरा गर्न आउँदैन " । जे जस्तो भए पनि दुबैले आफ्नो च्याटलाई मर्यादा भित्र सिमित राखेर अगाडि बढाएका थिए । उनिहरुको च्याट छिल्लिएको, यौनजन्य एबम अश्लील कहिले भएन । आजकल साइबरको दुनियाँमा जुन बिक्रिती आएको छ, त्यो उनिहरुको च्याटमा पाइदैन थियो ।
सम्झनाको गोरेटोबाट निस्केर उ झ्यालबाट बाहिर हेर्न थाल्छ । झ्याल बाहिर अध्यारोले संसारलाई घ्वाप्लाकै निलेको छ । मात्र सडकको बत्तीहरु परपर सम्म लाइन लागेर धिपधिप गरेको झैं लाग्छ । त्यही बत्तीहरुको सिधा लाइनमा एउटा ट्युबलाइट बल्न नसकेर झप्याक झुप्पुक गर्दै छ । त्यो बत्ती देखेर उ खिस्स हस्छ । त्यहाबाट फर्केर उसले ढोका पछाडिको ह्याङ्गरमा झुन्ड्याएको ज्याकेटको पकेटबाट चुरोटको बट्टा झिक्छ ,एउटा चुरोट निकालेर लाइटरले सल्काउन साथ अध्यारो कोठा निमेष भर उज्यालो देखिन्छ , फेरी अध्यारो भए पछी उ झ्यालमै आएर चुरोटको आनन्द लिन थाल्छ । चुरोटको एउटा लामो सर्को तानेर मुखबाट धुँवाको मुस्लो बहिर फ्यक्दै रोज र उसको च्याटका कुराहरु स्मरण गर्दा उ रोमान्चित हुन्छ । त्यो धुँवाको मुस्लो एउटा वक्र रेखामा कहिले यता कहिले उता गर्दै निस्पष्ट अन्धकारमा बिलिन हुन पुग्छ । उसलाई लाग्छ उसको फेसबुक मित्रता पनि त्यसै गरी अध्यारोमा हराउने त हैन । अहिले सम्मको जीवनमा उसलाई कुनै पनि युवतीले आकर्षित गर्न सकेका थिएनन । कुनै बिपरित लिङ्गी आकर्षण बिहिन उसको जीवनमा रोज उसलाई त्यो परको बल्न नसकेको ट्युबलाइट जस्तो लाग्छ । कतै बलि पो हाल्छ कि । स्मरण गर्छ एक दिनको च्याट , जसले उसलाई तरङ्गित बनाइ दिएको थियो । त्यो दिनको च्याटले उसको रक्त संचार प्रवाहमा नौलो अनुभुती भएको थियो ।
"हाइ"
"हेल्लो"
"सञ्चै छौ ?"
"हो सञ्चै छु , अनी तिमी नि? "
यस्तै केही औपचारिक अनी धेरै अनौपचारिक कुराहरुको निरन्तर प्रवाह शुरु भएको थियो । च्याटको क्रममा उ काम बिशेषले पहाड घर जानु पर्दा एक हफ्ता फेसबुकमा अनलाइन आउन नसकेको प्रसंग आएको थियो । उतिखेरै उसले सम्झेको थियो कि उसलाई त्यती बेला आफु अधुरो भएको जस्तो लागेको थियो । त्यो सात दिन बिताउन उसलाई एउटा युग बिताउनु परेको भान भएको थियो । उसले रोज सँग भद्र माफि माग्दै आफु त्यो बेला ईन्टरनेटबाट टाढा रहेको बताउदा रोजले रोएको इमोटिकन पठाउदै आफु त्यति बेला धेरै छटपटीको क्षणबाट गुज्रेको बताएकी थिई । त्यो इमोटिकन हेर्दा उ एउटा कुरा सोच्न वाध्य भएको थियो - के रोज पनि उ जस्तै आफु सँग च्याट गर्न नपाउदा आधुरो महशुस गर्छे त? अनी त्यही दिन कुरा हुँदै गर्दा रोजले लेखेकी थिई -
"तिमी सँग म एकदम आशक्त भैसकेकी छु ,यो कुरा मलाई भन्न लाज लाग्नु पर्ने हो तर हृदय देखी बिबश छु । म तिमीलाई मुटुको गहिराइ देखी माया गर्न थालेकी छु ।"
उसले अझ स्पष्ट पारेकी थिई, " तिम्रो भौतिक आस्तित्व मेरो लागि गौण भइसक्यो , म केवल तिमीसंग च्याटमा घण्टौ बिताउन चाहन्छु । मेरो यो भावना ब्यक्त गर्ने म सँग कुनै शब्दहरु छैनन ।"
रोजको यो स्पष्टबादिताबाट उ छक्क परेको थियो । उसको मनमा पनि यही कुरा रुमल्लिएको भए पनि उसले भन्ने हिम्मत गर्न सकेको थिएन । उसले लामो समय सम्म जवाफ नलेख्दा रोजले अझ धरै कुरा ब्यक्त गरिसकेकी थिई । दुबै जनाको मनमा एउटै भावनाले डेरा जमाएको निस्कर्षमा उ पुगेको थियो ।
उसलाई पनि त्यस्तै हुन्थ्यो , अझ उसले त रोजलाई प्रेमिकाको नजरले हेर्न थालेको थियो । आजको च्याट पछी उसलाई उसको भावना ब्यक्त गर्दा रोजले पागल भन्दिन भन्ने विश्वास लाग्यो र अगाडि लेख्यो -
" मलाई पनि तिमी सँग यसरी नै सदा च्याट गरीरहु जस्तो लाग्छ , तिमी अफलाइन हुँदा मेरो हृदय रिक्त भएको जस्तो लाग्छ । "
त्यस पछी यसरी नै उनिहरु घण्टौ च्याटमा बिताउन थालेका थिए । मायाको अनेकौ परिभाषा गर्दै विश्व प्रसिद्द जोडीहरु सँग उनिहरु आफ्नो तुलना गर्दथे । फेसबुकको च्याटमै कती कसम खाए भनी साद्दे छैन । कती तर्क बितर्क मायालु पारामा भए, कती भबिश्यका योजना कल्पदै रोमान्चक क्षण साइबरको संसारमै बिताए । रोज कहिले हार्न नजान्ने, अनी मायामा डुबेर उ जहिले पनि रोजको कुरामा अन्तिम समर्थन गर्दिने गर्थ्यो । च्याट गर्नकै लागि अब त झन उसले रोजलाई पहिले भन्दा अझ धेरै मोबाईल रिचार्ज पिन फेसबुकको म्यासेज इनबक्समा सेन्ड गर्न थाल्यो ।
दिन यसरी नै बित्दै जाँदा उसलाई रोज सँग च्याटमा मात्र हैन भेटेर नै कुरा गर्न मन लाग्न थाल्यो । उसले रोजलाई च्याटमा नै आफ्नो संसार नहुने र वस्तबिकताको संसारमा अब आउनु पर्ने कुरा बिगत केही दिन देखी भन्दै आएको थियो । रोज उसलाई भेट्न अनी प्रतक्ष्य कुरा गर्न , माया साट्न सधैं तयार भएको बताउथी तर ममीको डर लाग्छ भनेर सधैं तर्कने गर्दथी । उ सधैं च्याटबाट वस्तबिकतामा निस्कने कुरा गर्थ्यो । अर्को तिर रोजको ममीसँगको डरलाई पनि महिलाको स्वाभाबिक बानी भनेर सहज रुपमा लिएको थियो ।
आज पनि अघी भरखर त्यस्तै कुरा हुँदा अब उनिहरु दुईजना प्रतक्ष्य भेट्ने कुरा तय भएको थियो । आज रोजले पनि आफु उसलाई भेट्ने निश्कर्षमा पुगेको र भोली नै उसलाई भेट्ने कुरा गरेकी थीइ । भेट्ने स्थान समेत फिक्स गरेका थिए - मेट्रो मलको चौथो तलामा भएको सेल्फहोम रेस्टुरेन्ट । समय बेलुका पाँच बजे । भोली रोज सँग भेट हुने कुराले नै उसको मन आज चन्चल भएको हो , पुलकित भएको हो ।
********************************************************************************
आज उसको रोजसँग भेट्ने दिन । कसरी दिन बिताउने होला भन्दा भन्दै चार बजी सकेको रहेछ । किन हो आज दिन भर रोजलाई उसले अनलाइन देखेन । काम बिशेषले अनलाइन हुन नपाएको होला एकछिनमा अैहाल्छे भन्ने सोच्दा सोच्दै चार बजिसकेको पत्तो समेत पाएन उसले । बिशेष रुपले तयार भएर आफ्नो मनले प्रेमिका स्विकार गरेको रोजलाई पहिलो पल्ट भेट्न उ पाँच बज्न अगाडि नै सेल्फहोम रेस्टुरेन्ट पुगिसकेको छ । उसको मन रोमन्चित छ । धेरै कुरा कल्पनामा आउँदै जाँदै गर्दै छ । रेस्टुरन्टको कुना पट्टीको एउटा टेबल रोजेर त्यहा बस्छ । अनी वेटरलाई एक कप कफी मगाएर मोबाईलमा वाइफाइ सर्च गरेर अभेलेबल देखाएपछि फेसबुकमा लगइन गरेर हेर्न थाल्छ । रोजको नाममा अहिले सम्म ग्रिन सिग्नल देखाको छैन । सोच्छ ,उ आइहाल्ने त हो किन यता खोज्नु भन्दै कफीको चुस्की लिन थाल्छ । कफी सकिसक्दा पनि रोज आइन । अर्को कफी र चुरोट सक्यो त्यै पनि उसको आउने छाँटकाँट देखिएन ।
झन्डै पौने छ बजी सक्यो उसले रोज आउने कुनै लक्षण देखेन । निरशाको भुमरीमा परेको उ साढे छ बजीसके पछी त्यहाबाट निस्कियो । उसको अंकुरण हुन बाँकी नै रहेको पहिलो प्रेम सुकेको अनुभती गर्यो । पहिलो डेटिङ्ग असफल भएको पिडालाई कम गर्न उसले एक्लै हाल्फ बोटल विस्की गलाबाट भित्र छिराएर मातेको अवस्थामा घर पुग्यो । आफ्नो आमाले खाना खान बोलाँउदा पनि सरासर आफ्नो कोठामा पसेर ड्यम्म ढोका लगाएर बेडमा लड्यो । लुगा खोल्न त के जुत्ता खोल्न पनि उसले होश गरेन । उसको सपना को संसार एकै पटक तासको घर जस्तो भत्किएको थियो । के के कल्पना गरेको थियो उसले सबै भताभुङ भएको थियो । फेसबुकमा भेटेको एउटा आइडीलाई विश्वास गर्दा आज उसको हृदय घाइते हुन पुग्यो । ब्युटीरोज आइडीले केबल उसलाई मनोरन्जन गर्ने साधन बनाएको उसले अहिले नशा लागेको अवस्थामा बुझ्यो । प्रेमको नशाले कल्पनामा पुर्याउदो रहेछ भने रक्सीको नशाले यथार्थ अवगत गराउने रहेछ भन्ने सत्य उसको सामु छर्लङ्ग भयो । उसलाई इडियट ठानी रिचार्ज मात्र झन्डै पाँच हजार ठगेको कुरा तितोसत्य बनेर उसको दिमागमा आयो । एकपल्ट के भन्दी रहेछ भनेर फेरी फेसबुकमा हेरेको अझै उसलाई अनलाइन देखाएन । इन्भीजिवल बसेकी पो छे कि भनेर उसको प्रोफाइल हेर्दा फेसबुकले "सरी दिस पेज इजन्ट अभाइलेबल" भनेर मेसेज पो गर्यो । रोजले उसलाई अनफ्रेण्ड मात्र हैन ब्लक नै पो गरिछे । साइबर कानुन अनुसार उजुर गरेर कारवाही अगाडि बनाउदा दुनियाँको सामु आफु मुर्ख भएको प्रमाणित हुने हुनाले त्यता उसले पहल नगर्ने निर्णय गर्यो । बिकल्पमा आफु मुर्ख बनिएकोमा दु:ख मान्दै हास्नु बाहेक उसले केही उपाय देखेन ।
बिकास आचार्य , धरान
************* **************** ********************** *****************

No comments:

Post a Comment