पैंतालिस साल भाद्र पाँच गते आईतवार, बिहान भईसकेको भए पनि मेरो लागी राति नै थियो । पन्ध्र बर्षे ठिटाहरु बिहान पाँच पनि नबजी कहाँ उठ्छन र ? चार बजेर चौवन्न मिनेट पैंतिस सेकेण्ड गएको रहेछ मस्त निन्द्रामा भएको मलाई सँगै सुतेको दाजुले "उठ भुँईचालो आयो " भनेर धकेल्नु भयो । म अत्तालिएर जुरुक्क उठे , देख्छु दाजु छेउको काठको भर्र्याङ्बाट दश खुड्किलो एकै पल्टमा झर्नु भयो । दाजु भुँईचालोको बेगले झर्नु भएको हो कि छिटो उत्रिनु भएको मैले बुझ्न सकिन । म भने नजिकै खाटको छेउमा रहेको चप्पल खोज्न लागेछु ।
भर्र्याङ्को पल्लो पट्टी सुत्नु भएको हाम्रो आमाबुवा पनि उठ्नु भईसकेको थियो । आमा एकोहोरो रुपमा राम राम भनी रहनु भएको थियो । आमाको आवाजको अनुमान गर्दा वहाँहरु दुबै जना आफुहरु सुतेको ओछ्यानबाट उठेर भर्र्याङ् नजिक आइपुग्नु भएको थियो । शायद बत्ती थिएन होला या कती बेला घर बाहिर निस्कने भन्ने ध्यान भएकोले बाल्न कसैले कोशीश नगरेको हुनाले कोठा भित्र अन्धकार थियो । मलाई भुँईचालोले हल्लाएको त्यस्तो केही अनुभव भएको थिएन , शायद निन्द्राको सुरमा थाहा नै पाइन होला । एक्कासी उत्तरपट्टीको भित्तोमा चट्ट्याङ परेको जस्तो बिजुलीको धर्को देखे । भुकम्पको धक्काले घरको भित्तो चर्केर फुट्दा बहिरको प्रकाश भित्र छिरेकोले मैले त्यस्तो देखेको रहेछु । निमेष भर मै पुन अन्धकार भयो । भयंकर आवाजका साथ
सरा घर धुलोको मुस्लो उडाउदै जमिनमा खस्यो। आमाको राम राम भन्ने आवाज पनि त्यही भयानक आवाजको बिचमा हरायो । कसरी हो ईश्वरको अनुकम्पाले मलाई केही भएन , मात्र केही इट्टा हो या माटोको डल्लाले दहिने काँधमा लगेको थियो । त्यो बेला त्यसले केही दु:खाएन । कसरी आफुलाई बाचाउदै म हाम्रो घरको भग्नावशेषको थुप्रो माथि पुगेछु । दोस्रो तल्लामा सुतेको म बडो अचम्मका साथ तीन तले घर भात्किएको थुप्रो माथि थिए । म आज सम्म यो कुरालाई चमत्कार नै ठान्दछु ।
धुलोको
मुस्लो अझै उडिरहेको देखिन्थ्यो । तीन तले घरको उत्तर पाटो माटोमा बिलिन भईसकेको थियो भने दक्षिणपटीको भित्तो सग्लो भएर उभिएको थियो । त्यो ढलेको भए म पनि आज २७ बर्ष पछी यि हरफहरु लेखी रहेको हुन्न थिए । घरको तेस्रो तलामा भएको बार्दलीको टिनको छानो परपर सम्म हुत्तिएको थियो । अली प्रष्ट देख्न थाले पछी आमा र बुवा सुतेको कोठा तिर हेर्दा त त्यहा माटो , काठ र इट्टाको थुप्रो मात्र छ । अनी पो मलाई आमाबुवाको बारेमा एक्कासी चिन्ता भयो ।" आमा
" भनेर कराउँदा त्यही थुप्रो बाट आमाको आवाज आए जस्तो लाग्यो । फेरी मैले "आमा कता हुनुहुन्छ" भनेर कराउँदा आमाले हामी सुतेकै ठाउँमा छौं छिटो निकाल भनेको सुने । त्यता जान भाग्नावशेषले गर्दा सजिलो थिएन । म के गरुम के गरुम को अवस्थामा थिए । धुलो छाँटिएर उज्ज्यलो भइसकेको थियो । देख्छु, हाम्रो घर अगाडि सडक पुर्वपटीको घरमा डेरा गरी बस्ने
अंकल मलाई तल आइज , भाग जस्ता शब्दले बोलाँउदै सतर्क गराउँदै हुनुहुन्थियो । मेरो ध्यान भने कसरी आमाबुवा भएको ठाउँ सम्म पुग्ने भन्नेमा थियो । जे भए नि होस भनेर म त्यता तिर पसे , धन्न केही भएन । आमा सुतेको सिरानीमा पुग्दा देक्छु वहाँको दहिने हत्केला इट्टा र माटोको बाहिर छ अरु केही देखिदैन । त्यही हत्केलालाई आधार बनाउदै माटो इट्टा पन्छाउदै जाँदा आमाको अनुहार देखियो । वहाँलाई सास फेर्न सजिलो भए पछी अब मलाई छोड मेरो ठीक देब्रे पटी बुवा हुनुहुन्छ वहाँलाई निकाल भन्नु भएकोले अझ आत्तालिदै त्यता खोतल्न थाले । एकछिन मै बुवाको पनि टाउको सम्म निकल्न सफल भए । वहाँहरुको शरीर र खुट्टा भने इट्टा र माटोको बिशाल थुप्रोले पुरेको थियो । भाग्यले गर्दा घरको दक्षिण पट्टीको भित्ता नढलेको हुनाले अनुहार पटी त्यती पुरेको रहेन छ । मैले सके सम्म अझ धेरै खोतल्ने प्रयास गर्न थाले । घरी आमाको टाउको र घाँटी माथि को इट्टा माटो हटाउँथे अनी घरी बुवाको टाउको माथिको हटाउँथे । केबल हातले यो काम गर्न म असमर्थ थिए । तर पनि मेरो एकल प्रयास जारी थियो । आमा र बुवाको टाउको निस्किसकेको थियो । अब केही हुँदैन भन्ने मनमा लागेपछी मैले नजिकको सग्लो भित्ताको झ्यालबाट बाहिर हेरें ।
त्यहाबाट हेर्दा हाम्रो घरको आँगन देखिन्थियो । मैले हेर्दा त त्यहा मेरो काका , काकी दाजु दिदी अनी छिमेकीहरु कोलाहाल गर्दै रहेछन । मलाई त्यहा देखेपछी र आमा र बुवाको अवस्था मैले भने पछी खै कताबाट एउता बाँसको भर्र्याङ् ल्यएर केही छिमिकी दाईहरु त्यही झ्यालबाट माथि चढ्नु भयो । अनी म चै त्यहाबाट भग्नावशेष माथि टेक्दै उत्तर तिरबाट बहिर निस्के । तल घर पछाडिको मकै बारीमा पुग्दा पो म घरको उछिट्टीएको टिनमा अल्झेर लडे अनी त्यसबेला चै मेरो पैतला टिनले काटेर रगताम्मे भएको थियो । त्यहाबाट सिधै म घर अगाडि सबैजना भएको ठाउँमा आएर उभिए । एकै छिन पछी अघी माथि चढ्ने छिमेकीले आमालाई त्यही झ्याल र बाँसको भर्र्याङ्बाट ओराले । अनी लगत्तै बुवालाई बोकेर ओराले । बुवा बेहोश हुनु भएको रहेछ । केही छिनमा नै वहाँको पनि होस खुल्यो । भाग्य नै भन्नु पर्छ त्यसरी पुरिएर निस्कदा पनि वहाँहरु दुबैजनालाई सामान्य चोट समेत लागेको थिएन । त्यस दिनको धेरै पछी पो बुवालाई बोकेर ओराल्ने छिमेकी दाईले आफुले बुवालाई जिउदै बोकेको छु भन्ने अनुभव नगरेको नमिठो कुरा सुनाउनु भएको थियो । धन्न वहाँले सोचे जस्तो केही भएको थिएन ।
धरान वडा नं ४ लक्ष्मी सडक स्थित, लगभग बिसं २००० तिर बनेको हाम्रो त्यो घर धेरै पुरानो भईसकेको थियो । सुर्कीचुनाले गरेको छाना ढलान पुरानो भएको हुनाले बर्षायाममा चुहुन थालेको थियो । नियमित मर्मतसंभार शायद पुगेको थिएन । माटोको जोडाइ भएको गारो श्रावण भाद्रको बर्षामा चुहिने छानाबाट पसेको पानिले भिजेर भित्रभित्रै कमजोर भएको थियो । घरको पछाडि पट्टी ( उत्तर पट्टी ) छानाको मुनी पिपल र समी गारोमा टाँसिएर झांगिएका थिए । तिनका जराहरु पनि भित्र सम्म पसेर गारोलाई कमजोर बनाएका थिए । सिंगै रूख जत्रा काठको बिशाल बीमहरुको साथमा छत ढलाई समेत थम्नु पर्ने गारो नै कमजोर भएको अवस्था थियो । यसरी सबै तिरबाट कमजोर हुँदै गएको त्यो हाम्रो परिवारको ऐतिहासिक घरले
उदयपुर जिल्लाको मुर्कुचे सिम्ले केन्द्रबिन्दु भएर ४५ सेकेण्ड सम्म गएको ६.९ रेक्टर स्केलको भुकम्पको भयानक धक्कालाई थाम्न सकेन । जम्मा ४५ सेकेण्डमा प्रक्रितीले झन्डै ४५ बर्ष पुरानो
हाम्रो घरलाई इतिहास बनाइदियो । सोही बिनाशकारी भुकम्पले हामी लगायत पुर्वन्चल र मध्यमान्चलमा
गरी जम्मा २७ जिल्लाका पैँसाट्ठी हजार घरपरिवारलाई प्रभावित बनाएको थियो । जम्मा ७२१
जनाले ज्यान गुमाएको यो भुकम्पमा धरानमा मात्र
११६ जनाको मृत्यु भएको थियो । ६५५३ जना घाइते भएकाहरु मध्ये धरानका मात्र लगभग १५००
जना थिए । यसै गरी २१९७६ घरहरु हाम्रो घर जस्तै पूर्णरुपमा क्षतिग्रस्त भएका थिए ।
अती प्रभावित धरानमा मात्र जम्मा १७०० घरपरिवार बिस्थापित भएका थिए ।
भुकम्पको त्यो पिडा धरानबासीमा अझै छ । आफ्ना आफन्त गुमाएका , आफ्ना अग्रजले बनाएका घर गुमाएकाहरु अझै त्यो दिनलाई सम्झदा मलिन हुन्छन । त्यो पिडा मनसपटलमा अझै ताजा भएकोले नै हुनु पर्छ
गत बैशाख १२ गते आएको अर्को ७.९ रेक्टर स्केलको बिनाशकारी महाभुकम्पले मुलुकको मध्यभाग
लगभग ध्वस्त बनाउदा धरानबासिले आफ्नै पिडा सम्झेर खुला हृदयले सहयोग गरे । कैंयौ सहयोगी
हातहरु प्रभाबित स्थान मै पुगेर राहत बाँडे , अझै बाँडिरहेका छन । यसरी सहयोग गर्दा
पिडा साट्ने कार्य हुने हुँदा त्यसले झन ठुलो मानसिक राहत दिन्छ । आशा गरौ जसरी २७
बर्ष अगाडिको भुकम्पले म्रित शहरको रुपमा पारीचित भएको धरानले पुनर्निर्माण गरेर आजको
स्थितीमा आउन सफल भयो त्यसै गरी गत बैशाख १२
गतेको भुकम्पले ध्वस्त भएका स्थानहरुको उचित पुनर्निमाण होस । ध्वस्त भएका हाम्रा विश्वसंपदाहरु
पहिला कै जस्तो रुपमा फेरी निर्माण होस । यस कार्यमा धरानेहरुको साथ र सहयोग सदा रहने
छ ।

No comments:
Post a Comment