अचानक आफ्नो सामाजिक संजालको एउटा कुनामा "तपाईं
चिन्नु हुन्छ कि" भनेर उनको तस्बिर र नाम देख्दा प्रेमसागरको मनमा एउटा अनौठो तरंग उत्पन्न
भयो । दुई दशक देखी मनमा गुम्सिएको आकर्षणको बिम्ब थियो त्यो तस्बिर । मनमा अनेकानेक
बिजुली बत्ती बलेको अनुभूती हुने । एकाएक त्यो तेजले बिजुली चम्कदा आँखामा निमेष भर
हुने उज्ज्यालो बनाएर गयो । हो बिस बर्ष अगाडि देखी टाढा गएकी आफ्नै छेमिकी मौनतालाई
उसले आज भेटेको थियो । त्यो क्रीतिम संसारको रंगमन्चमा आज बर्षौं पछी देख्दा पनि त्यो
अनुहारमा भएको तेज र आकर्षणमा किन्चित कमी आएको थिएन । कम्प्युटरमा ठुलो बनाएर हेर्दा
होस या अझ त्यसलाई “जुम” गरेर हेर्दा होस त्यो कुनै हालतमा परिवर्तित मुहार लागेन उसलाई
। उत्तिखेर नै पचासौं पटक मौनताको त्यो तस्बिर उसले त्यसरी हेर्यो । जबर्जस्त ढंगले मनमा
बसेको आकर्षणको कुन्ठा अनी नयनको प्यास त्यती छोटो समयमा मेटिन सक्ने कुरा थिएन ।
पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टाले
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यस पाली त मनै फाट्यो
के ले सिउने के ले टाल्ने हो ?
धेरै पहिला , जीवनको एउटा फर्केर नआउने कालखण्डमा , यौवनको उन्मादले मस्त भएको बेला पहिलो बिपरित लिंगी आकर्षणको रुपमा मौनताले प्रेमसागरको आँखाको माध्यमबाट मुटुमा प्रवेश गरेकी हुन । त्यो पल देखी आज सम्म प्रेमसागरको त्यो निस्छल मुटुमा त्यही तस्बिर अमिट भएर अंकित भएको छ । कती खोज्यो उसले त्यसलाई मेट्न, अँह सकेन । कुन मसीले छापिएछ त्यो तस्बिर , मनको हरेक कुनामा त्यही तरंग पुगेको छ । लाग्छ त्यो तरंग उ संगसंगै महाप्रस्थानको यात्रामा जान लालायित भएर बसेको छ । उसलाई त विश्वास छैन सम्झनाबाट पाइने आनन्दमा । सम्झना त एउटा ढोंग हो चित्त बुझाउने । वास्तविक आनन्द त विर्सनुमा छ , तर बिर्सनु एउटा कठिन योग हो । मानिसले बिर्सन सिक्नु पर्छ सम्पूर्ण खराबीहरुलाई , कर्म क्षेत्रमा बिर्सिदिनु पर्छ आफ्ना कमजोरिहरुलाई र सधैं सम्झना दिलाउने र बाधा गर्ने अतितलाई बिर्सन बिर्सनु हुन्न । त्यसैले बिर्सन जान्नु मानिसको ठूलो विशेषता हो । अहा...........! कती आनन्द छ एउटा आदर्शको निमित्त स्वयमलाई बिर्सिदिनुमा । तर उ किन बिर्सन सक्दैन उनलाई ?
त्यो बेलाको आकर्षण र मनले चाहेको कुरा व्यक्त गर्ने एक मात्र माध्यम भनेको चिट्ठी ! आफ्नो मनको तमाम कुरा ,आफ्नो माया पोखेर लेखेको हुन्थ्यो प्रेमसागरले मौनतालाई चिट्ठीहरु । उसका हरेक चिट्ठीहरुको जवाफमा उनले पठाउने जवाफी चिट्ठीहरुमा पनि त्यसै गरी आफ्नो मन पोखेर उसको हात लगाइ दिएकी हुन्थिन । केवल चिट्ठीहरुमा उनिहरु एक अर्कामा नजिक थिए । मनमा समिप्यताको अथाह चाहना , मुटुमा उम्लिएको युवा र स्निग्ध मायाको छालहरु चिट्ठीबाट कहिले यथार्थमा निस्कन सकेनन् । किन किन अन्जान भयले उनिहरुले त्यो आँट गर्न सकेनन् । कैयौं रातहरु अनिदों बिताएको छ प्रेमसागरले । पचासौं पटक एक रातमा पढेको छ एउटा चिट्ठी । नजिकबाट आफ्नो मनकी मलिकालाई नदेखेको वासना रहित मायाको यो अध्याय एक दिन अचानक काँच झैं टुक्रिएर चकनाचूर भएको थियो । त्यो दिन उसले आफ्नो मनोभावना पोखेको हृदयको सबै पन्नाहरु कागजको खोस्टो सरह फिर्ता पाएको थियो । उ जिवित लाशमा परिणत भएको थियो त्यो क्षण । संसार टक्क अडिएको थियो । सारा जगत उ संगै किमकर्तव्यबिमुढ भएको थियो । नदीको प्रवाह रोकिएको जस्तो उसको मस्तिस्कले आफ्नो कार्य गर्न पनि रोकेको थियो ।
सास फेरे जस्तो लाग्छ
तर भन्छन मरी सकिस
तेरो भाग्य तेती नै हो
भोग चलन गरी सकिस
सलहको भाग्य मेरो
मर्ने बाच्ने ठेगान छैन
भाग्य फाटे सिउथे बरु
तर मन सिउने के ले हो ?
त्यो दिन देखी उसको मन साँचै मरेको थियो । उसको मायामा के त्यस्तो खोट भएछ त्यो नै थाह पाउन सकेको थिएन । रात गए , दिन गए , भोक प्यासको आभाष हरायो । तर मनबाट त्यो कुँदिएको प्रतिमा हट्न सकेन । कती मेट्न खोज्यो तर मेटिएन । केही दिन पछी नसा भित्र नशा बगाउदा बिर्सन सक्छु कि भनेर नशाको शरणमा गयो । तर झन चम्किलो भएर आउने रहेछ त्यो मुहार । मुटु कब्जा गरेर बसेको त्यो मुहारले त्यती बेला उसलाई जिउन पनि दिएन अनी मर्नबाट पनि सधैं रोक्यो । महिना बित्यो, एक दुई गर्दै । उसले आफ्नो हृदयको रगतले लेखेको पन्नाहरु किन वापस पायो बुझ्न कहिले सकेन । शायद कुनै गलती भएको हुन सक्छ । उसको मनले राम्रो गरेको भन्दा भन्दै उनको नजरमा त्यो कुरा गलतीको रुपमा देखापरेको हुन सक्छ भन्ने सोचलाई अगाडि राख्दै एक दिन त्यो अज्ञात गलती स्विकार गरेर पुन अर्को चिट्ठी पठाउने आँट गरेर उनको हात लगाउने अन्तिम प्रयास गर्यो । जसमा उसले क्षमा याचना गरी जिउने आधार मागेको थियो । तर नियती कती निस्ठुरी हुँदो रहेछ । कती पिडादायक हुँदो रहेछ माया । उसको त्यो मनको पिडा छछल्कीएको वेदनाको पातो पनि उनले हातले पनि नछोइ हुत्याइदीईछिन । यस पटक त मन थाम्न नसकेर कुदेर एकान्तमा पुगी भक्कानिएर रुएको थियो उ । अब त आफ्नो भाग्य भनेको नै उनको दर्शन पाउनु मात्र हो भन्ने जस्तो भयो उसलाई । केवल उनको दर्शन पाउनको लागि उ आफ्नो घर भन्दा बढी उनको घर भएको स्थानमा बिरक्तिएर बस्न थाल्यो । घर त खान र सुत्न पनि आउन छाड्यो । उसलाई पर कतै उनको आकार देख्न पाउदा ब्रम्हाण्ड खुशीले हासेको जस्तो लाग्दथियो । त्यो निस्कपट रुपले धोखा दिएको विश्वास उसले आज सम्म गर्न सकेको छैन । बाध्यताको भुमरीमा गरेको निर्णय हुन सक्छ । उसको भन्दा ठुलो घाऊ लिएर पो बाँची रहेकि छिन् कि ?
सुख के हो दु:ख के हो ?
मनले खोज्ने खुशी के हो ?
भावीले निधारमा कर्म
लेखिदिने मसी के हो ?
कर्म लेख्ने मसी के हो ?
भाग्य तोक्ने कसी के हो ?
कर्म फुटे जोड्थे बरु ,
तर मन जोड्ने के ले हो ?
जसरी भए पनि उ निरस जीवन डोर्याएर यहाँ सम्म आएको नै थियो । समय सँग दु:ख भोग्ने शक्ती बरदान पाएकै थियो । सहने सामर्थ्य हुर्कदै जाँदा संसारिक व्यवहारले छोप्दै जाँदो रहेछ । मरी हाल्न नसके पछी समाजको लागि जिउनु पर्ने कस्तो बिवशता ? जे होस् उसको जीवन अगाडि बढी रहेको थियो । मनमा रहेको उनको तस्बीर माथि अर्को तस्बिर टाँसी सकेको परिस्थितीमा समयको चक्का गूड्दै थियो । मुटुको भित्तामा अमिट भएर टाँसिएको उनको तस्बिरले नै मनको धेरै ताप पाएको थियो । कैयौ पटक उ एकान्तमा हुँदा अनी आफ्नो जीवन सँग जोडीएको घटना सम्झन खोज्दा उनलाई नै सम्झिने हुनाले अरु कुनै घटना ताजा रुपमा आउन सक्दैन थियो । अचानक पुन उनिसँग समयको नयाँ प्रबिधीको माध्यम र सहयोगमा भेट भयो । मनको बेदना , अनुभुती र कुण्ठा पोखिन महिना लाग्यो । एक अर्काको भावना साटासाट हुन बेर लाग्दो रहेन छ । आफ्नो सम्पूर्ण मनको भावना पोखिसके पछी बाँकी के नै रहेको थियो । एउटा असल मित्रता जीवन भरी निभाउने सोच उसको मनमा थियो । सोचेको कुरा सधैं नभएको , भाग्यले सधैं ठगेको उसलाई भोक, निन्द्रा र प्यासको इच्छा गौण भएको यो कस्तो नयाँ अनुभूती भन्ने लाग्दै थियो उसलाई । अचानक मौनताले फेरी एकपल्ट अब पुन: कहिले संवाद नगर्ने निर्णय सुनाइदिएको हुनाले प्रेमसागर रन्थनिएको छ । तर पनि बज्र भई सकेको उसको त्यो छातीले यो प्रहार पनि सहन सकोस भन्ने प्रार्थाना गर्दै भविष्यको दुरगामी यात्राको निरन्तरतामा अगाडि बढीरहनु उसको नियती भएको छ ।
पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टाले
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यस पाली त मनै फाट्यो
के ले सिउने के ले टाल्ने हो ?
No comments:
Post a Comment