Saturday, August 1, 2020

आस्थाको ज्वाला

केही थान निचोरीएका सपनाहरु
अलिकति बाँचेका सफलता संगै
परिवेशले चिमोटीएर
यो स्वार्थी सृष्टिमा
घस्रीरहेको एउटा जिवन ! !

हो हजुर , मेरा पाखुरा पातला छन्
तर सिंगों संसार हाँक्ने हिम्मत राख्दछु
निष्ठा र कर्तव्यपरायणताको बलले
बाहुबली संग लड्ने क्षमता राख्दछु  ! !

म कुबेर पनि हैन है हजुर किन्तु परिश्रमी छु
नंग्रा खियाएर संघर्षमा खरो उत्रन सक्दछु
नैतिकताले अर्जापेका मेरो हर प्रयासहरुले
नवकुबेरहरु संग युद्दको शंघघोष गर्न सक्दछु ! !

केही क्षणको निष्पस्टतालाई चिर्दै
भोलि हुने प्रकाशको उज्यालोमा देखिने
सफलताको आशाकिरणहरुको झल्को
हर क्षण नयनमा झुण्डीएका छन्  ! !

किनकी मेरो आस्था प्रतिको निष्ठाले निरंकुशता पिल्सन्छ
मैले बोकेको बिचारहरु जहिल्यै कठिन परिक्षामा खरो उत्रन्छ
मेरो यात्राको निरंन्तरताले कहिले बाटो बिराएन
हेर्दै जाउ, दर्शन ढुंगा घोटींदा निस्केको झिल्के ज्वालाले
म स्वयं आदतले बाँचुला तर तिमी भष्म हुन सक्नेछौ ! ! 

Wednesday, November 6, 2019

विपी अस्पताल धरानको ईमर्जेन्सीमा दश घण्टा

"विपी अस्पताल धरानको ईमर्जेन्सीमा दश घण्टा"

"तिमी कति वर्षकी भयौ "
डाक्टरले हामी छेउको बेडकी एकदमै सानि देखिने बिरामी केटीलाई सोधे ।
हामी पुगे देखी वाकवाक मात्र गरिरहेकी केटीले मसिनो स्वरमा उत्तर दिई : " सत्र । "
ऊ संगै उ जतिकै उमेरका अरू दुई केटीहरू पनि थिए । उनीहरू सुनेर मात्र उभिईरहे । अन्य बिरामी कुरूवा जस्तो बिरामीको हिष्ट्री बताउन अघि सरेनन् ।
डाक्टरले अर्को प्रश्न तेर्साए : " जाँड रक्सी खान्छौ ? "

बिरामी बोलिन :"खान्छु ।"
"ए , कहिले देखी खान थालेको नि ? " पुनः अर्को पुरक प्रश्न सोधियो ।
केटीले नहिचकिचाई जवाफ दिई  :" सानै देखी "
प्रश्नोत्तर मै बुझियो केटी पूर्वी नेपालको ताप्लेजुंगको कुनै गाउँपालिकाबाट उपचार गर्न आएकी रहिछन् ।
 नजिकैको अर्को बेडमा एक जना बुढा बा सुतिरहेका थिए । ग्यास्ट्राइटीस र कब्जियत भएर आउनु परेको बताउदै बुढा भन्दै थिए : " दुई दिन देखी ग्याँस्टीक भएर अनि गोटा दिसा भएर पेट दुखेर आएको । "
छालामा रातो कालो सानो सानो खटीरो जस्तो देखेर डाक्टरले के हो भनेर सोध्नु भन्दा पहले नै बुढाले उत्तर दिए  , " यो खै के हो अति चिलाउँछ  अनि यसरी कन्याउनु पर्छ । "
यति भनेर उनी साच्चि कै दाहिने हातको पाँचै औंलाले खर्याउ खर्याउ कन्याउन थाले ।
उनको जाँच पड्ताल गरेको रिपोर्ट हेरेपछी डाक्टरले उनलाई भाईरल हेपाटाईटीस हो भनेर "एचबिएसएजी" जाँच गर्न पठाए ।
अलि पर एक जना सानो भाई ऐया ऐया भन्दै थिए । डाक्टर आएर तल्लो पेट थिचथाच पारे । जति थिच्थे त्यति भाई ऐया भन्थे । डाक्टरले एपेन्डिसाईटीसको शंका गरेर सर्जनलाई खबर गरि भिडीयो एक्सरे गर्न पठाए ।
त्यस्तै उनकै देखी माथिल्लो बेडमा एक जना आमालाई नर्सले "नेसोग्याष्ट्रीक ईण्टुबेसन" गराउदैथिन् ।
पातलो पाईपलाई बिस्तारै नाक भित्र ठेल्दै उनी महिलालाई भन्दै थिन :"निल्नुहोस आमा बिस्तरै निल्नुहोस । मैले ठेलेको छुईन । "
आमा पनि अलि अफ्ठ्यारो गर्दै पाईपलाई निल्दै जादैथिन् ।

यि भए मेरो बिरामी र त्यस वरीपरीको दृश्य । यस बाहेक त्यँहा अरू धेरै विरामीहरू उपचारका लागी आएका थिए । तातो पानिले पोलेको ,  माईल्ड हार्ट एटेक भएको , काम जोरो र भमिटींग भइरहेको ,  गाडी एक्सीडेण्टमा घाईते भएको  , खुट्टा सुन्निएर भत्भति पोल्ने भएको लगायत अन्य धेरै बिरामीहरू त्यँहा निको हुन आएका थिए  ।
हेर्दा हेर्दै एक जनाको त ज्यान समेत त्यँहीबाट महाप्रस्थानको यात्रामा निस्कियो । वरिपरि घेरेर बसेका आफन्तको रूवाबासी चल्यो । वातावरण एक्कासी केही क्षण स्तब्ध भयो । शवलाई मोर्चरी लगेपछी त्यँहाको वातावरण पुनः पहीले जस्तै भयो , चहलपहल उस्तै । सबै बिरामीहरूको अनुहारमा रोगले दीएको कष्ट देखिन्थ्यो भने हस्पिटल प्रवेश गरेपछी आँखामा जिजिबिषाको चमक भने प्रष्टै देखिन्थ्यो  ।
यस्तो थियो विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी । डाक्टर  ,  नर्स र ईमर्जेन्सीमा कार्यरत सबैजना स्टाफहरू बिरामीको उपचार गर्न  र गम्भिर बिरामीहरूलाई बचाउन प्रयासरत थिए । मानिसहरूले भने जस्तो त्यँहाको स्टाफहरू आफ्नो मान्छेलाई मात्र हेरीरहेका थिएनन् । आवश्यकता र प्राथमिकताको आधारमा सबै बिरामीहरू निगरानी मै थिए । कोही कसै संग झर्केका थिएनन् । आफ्नो मेडिकल ज्ञानलाई सरसल्लाह र अनुभवको आधारमा बिरामी उपचारको क्रममा प्रयोग गरिरहेका थिए । खै किन हो एक प्रकारका मानिसहरू यहाँको ईमर्जेन्सीमा भेदभाव हुने कुरा बताउँछन्   । शायद मानिसहरूले आफ्नो बिरामीलाई पहिला हेरीदिओस्  भन्ने चाहन्छन् तर त्यँहा बिरामीको अवस्थालाई महत्व दिइने हुनाले पो यस्तो भ्रम बाहीर प्रचारित भएको हो की ?
मैले आफ्नो बिरामीलाई राखीएर "अब्जरवेसन"मा बसेको दश घण्टामा त्यहाँ नकारात्मक केही भेटीन । सबै कुरा काबिल-ए-तारिफ नै थियो ।
"डिस्चार्च" भएर निस्कने बेलामा छेउको बुढा मान्छेको कुरूवाले उनको "एचबिएसएजी"को रिपोर्ट ल्याएर नर्सलाई दिए । नर्सले हेरेर साथिलाई भनिन् :" ओई यिनको रिपोर्ट त एचबिएसएजी पोजेटीब आएछ । "
मलाई भने त्यस कुराले अचम्मित बनायो । " हेपाटाईटीस बि" सर्ने सम्भावना त लागू पदार्थ दुर्व्यसनिहरूले एउटै सुई प्रयोग गर्दा , संक्रमितको रगत कुनै अन्य माध्यमद्वारा शरिर प्रवेश गर्दा वा संक्रमित संग असुरक्षित यौन सम्बन्ध राख्दा मात्र सर्ने बुझेको छु ।
के यि बुढा मान्छेले कतै गल्लीको कुनामा सामुहिक रूपमा सुईले लागू औषध लिए होलान र ?
 के कोही संक्रमित महिला संग " अनप्रोटेक्टेड सेक्स" गरे होलान् र ?

विकास आचार्य
धरान

Sunday, August 25, 2019

निर्णय



मध्य श्रावण ।
धमिलो पानिको मोटोमोटो मुस्लोको रुपमा भयंकर गर्जनका साथ कोशी आफ्नो उच्चतम गतिमा अविरल दक्षिण प्रवाहित भइरहेको थियो । सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकालाई एकापसमा अंकमाल गराउने कोशी नदीको नवनिर्मित पुल अन्य समयमा हो भने रमणीय पर्यटकिय स्थलको रुपमा विकसित हुदै गएको भान हुन्थ्यो । भिंडभाड र चहलपहलले एक किसिमको माहौल निर्माण गराएको हुन्थ्यो किनकी स्थानिय र बरपरको शहरवासीहरुको छोटो दुरीको घुम्नजाने गन्तव्य बनेको थियो कोशी माथिको यो पुल ।
तर आज , मतलब अहिले त्यही पुल , त्यही डाँडाकाँडा , त्यही हरियाली , अनि त्यही नदी अत्यंत डरलाग्दो आभाष भएको छ । बिहानको यो झिसमिसेमा रजत असिन पसिन भएको छ , दिमाग कुनै चलचित्र झैं विगत देखी आज सम्म कुदिरहेको छ ।
जिवनलाई खुशी , सुखी , उज्यालो  र रमाईलो बनाउन संघर्षशील रजतले के गरेको थिएन ?
उसको परिश्रमले उसलाई न्यूनतम आवश्यकता पूर्ती गर्न अफ्ठ्यारो थिएन । जिवन खुशी साथ बितिरहेको थियो । समाएको सानो काम सफल हुदै गइरहेको अवस्थामा अचानक जिवनको एउटा दोबाटोमा आएर उसको संसार  अन्तै मोडीयो । मोहनीलाई भेटेको क्षण उसले आजको दिनको परिस्थिति कल्पना पनि गरेको थिएन । केहीदिनको संगतले नै एकअर्कामा एकदमै नजिक भएका उनीहरु “ लिभिंग टुगेदर” को रिलेसनसिपमा पुग्न बेर लागेन ।
तर आकाश सधैं स्वच्छ र सफा नहुने रहेछ । मोहनी बदलिन थालिन अनि बदलिन थाल्यो उनको माया र व्यवहार । छ महिनाको विश्वासको सम्बन्ध रहेको बेला कहिले हो उनले शारिरीक सामिप्यताको भिडीयो बनाएकी रहिछन् । यो कुराबाट रजत बेखबर रहेछ । आज त्यही भिडीयो उसको उज्यालो जिवनमा अँध्यारो खोंच भएको छ , खुशी माथि सानो क्लिप मानसिक उथलपुथलको कारक भएकोछ ।
तसर्थ आज एकबिहानै ऊ कोशीको यो पुल माथि विक्षिप्त उभिएको छ , आवेश र मानसिक आवेगमा छ अनि यो निर्जनताको घनघोर आवाजले उसलाई छपक्क छोपेको छ । ऊ प्रतिक्षामा छ फ्याट निमेष भित्र उसले लिने कुनै निर्णयको , जुन अहिले चै रिक्त छ , अनन्त छ ।

Wednesday, August 14, 2019

सपना


विज्ञान विषय लिएर १२ कक्षा पढ्दा पढ्दै दियाको हात माग्न प्रसुतका बा पुगे ।भरखरै १८ वर्ष टेकेकी अत्यन्त सुन्दरी दियाको न अहिले नै विवाह गर्ने चाहना थियो न त उसका बा आमा मानेका थिए तर केटा पक्षको बारबारको आग्रह पछी आखिर उनीहरु हारे ।
एक दिन धूमधाम संग प्रसुत र दियाको शुभविवाह सम्पन्न भयो । भरखर १२ कक्षाको परिक्षा दिएकी दिया नर्स बन्न चाहन्थिन् ।तर विवाह भएको उमेर र रहरले फस्टाएको मायाप्रितीमा एक वर्ष बितेको उनलाई पत्तै भएन । यस बिच उनी १२ कक्षा राम्रो अंक ल्याएर उत्तिर्ण भईन । यस संगै उनको नर्स बन्ने सपना पनि पुन: जागृत भयो । उनी दिनरात प्रसुतलाई आफु पढ्न चाहेको र पढेर नर्स बन्ने आकांक्षा राखेको कुरा कर गर्न लागिन ।
 प्रसुतको कुनै कमाई थिएन । पूर्ण रुपमा बाआमामा आस्रित थियो । उसले दियाको इच्छा नै आफ्नो पनि इच्छा भएको भन्दै धेरै पटक बालाई दियालाई पढाउने पैसा माग्यो तर बुहारी पढाउनु हुदैन भनेर उसको कुरा ठाडै अस्वीकार भयो ।
आफ्नो कमाई नभएको र आफूले प्राण भन्दा प्यारी मानेकी पत्नीको इच्छा पुरा गर्न नसकेकोमा उ धेरै दुखी थियो । धेरै सोच विचार गरेपछी उसले विदेश जाने निर्णय गर्यो । यसमा पनि बाको साथ नपाएकोले व्यापारी साथिसंग डेढ लाख ऋण काढेर यता श्रीमतीलाई नर्सिंग कलेजमा एडमिशन गराएको एक महिना मै उ मलेशिया उडेयो ।
कडा मिहेनत गरेर प्यारी श्रीमतीको इच्छा पुरा गरेर खुशी बनाउने सपनामा उसले दिनरात नभनी काम गर्यो । साथीभाईहरुले मिठो खाँदा , राम्रो लगाउँदा पनि उसले आफूलाई सम्झेन , दिया नै मेरो जीवन हो भनेर अनावश्यक खर्च गरेन । हरेक महिना घरमा दियालाई पैसा पढ़ाई रह्यो ।
यसरी नै चार वर्ष बित्यो । दियाको पनि पढाई सकिएर परिक्षाको रिजल्ट आउन बाँकी थियो । उसले अर्को हफ्ता घर आउने भनेर दियालाई भनिसकेको थियो ।
काठमाडौंबाट अलमल नगरी उ सिधै आफ्नो घर , सुनसरी तिर हानियो । घर पुग्दा सबैलाई उदास देख्छ , कोही केही बोल्दैन । सिधै आफ्नो कोठा पसेर हेर्दा सबै अस्तव्यस्त , नयाँ र मूल्यवान सामान केही छैन । उ थचक्क पलंगमा बसेको बेला आमा आएर भनिन् “ तेरो बुढीले तलाई  छोडेर काठमाडौं तिरको केटो च्यापेर हिंडी ।”
ठिक त्यही बेला पल्लो कोठाको भित्तामा झुण्डीएको टिभीले त्यस बर्षको नर्सिंग परिक्षाको परिक्षाफल प्रकाशित गरेको सूचना सम्प्रेषण गर्यो ।
- २०७६/०४/२९

Tuesday, July 23, 2019

तारा

एउटा उदीयमान तारा
हाम्रो आकाशमा उदाउँदा
सारा धरती चम्कने
सपना देखेको थिएँ मैले !
कृत्रिम होस या प्राकृतिक
यहाँको सुन्दरता निखार्न
तिम्रो शितल प्रकाश छरिने छ
एउटा उचाइमा पुग्न सकेका तिमी
आफ्नो विशेषता र गुण
मेरो माटोको उन्नतिको लागी पोख्छौ !!
विश्वास गरेको थिएँ
मृत्यु शैयामा सुताइएको मेरो भूमीलाई
तिम्रो चम्कँदो नेतृत्वले
आफू संगै उचाईमा पुर्याउने छ !
कहिले काँही अँधेरी रातमा
कालो बादलले तिमीलाई छोप्दा
मन हुँडलिएर आउँथ्यो
एउटा पिडाको लहर
अनायसै रजमा प्रवाहित हुन्थ्यो  !!
तिमी उदाएको बिहानीमा
सुस्तरी मेरो माटो प्रदीप्त हुदैथ्यो
यसलाई सिंगार्न तिमीले गरेका
प्रत्येक प्रयास पारितोषिक थिए !
तिम्रो प्रकाशको शितलताले
निर्माण शुरू गरेको मेरो माटोले
प्रथम वर्षाले सिंचेपछी छर्कने
सुगन्ध नाकबाट हट्न नसक्दै
एक रात अविरल वर्षा भईरह्यो
बफादार भनि चिनिएको
पल्लो घरको राते कुकुर पनि
त्यो रात एकोहोरो रोइरह्यो !
झस्किएको मेरो मन
अप्रिय कुनै आशंकाले
सगरमाथाको उचाइबाट
एक्कासी तल झर्दा
ऐंठन परेर अत्तालिएको थियो !
अर्को  दिन रातमा
सफा आकाशमा देखिएका
लाखौं ताराहरुको चमचम माझ
एउटा तारा तेजस्वी देखियो
हेर्दा हेर्दै  अनायस
त्यो तारा खसि गयो  ! !

तारा खसेको त्यो रात सम्झदा
आज पनि मन उद्वेलित हुन्छ
एकोहोरो शंख बजेको त्यो रातले
कहालिलाग्दो याद बोकेको छ
तारा खसेको माटोमा विहानै
समवेत भएका जनसागर देख्दा
तिम्रो अस्तित्व खड्किन्छ  !
त्यस पछी
हरेक रात आकाशमा
त्यही तारा खोज्ने गर्छु
बिहान नभई अस्ताएका तिमी
फेरी कहिल्यै उदाएनौ
हरेक रात मेरा नयनले
गगनमा तिमीलाई खोज्ने गर्छ
एउटा चम्किलो तारा
सधैं देंखिने
फेरी कहिल्यै देखिएन !!

विकास आचार्य
२०७६/०३/०२

Monday, June 3, 2019

मेरो धरान

माथि सगरमा टिलपिल टिलपिल गर्छ तारा
तल नगरमा झिलमिल झिलमिल गर्छ सारा
निस्पष्ट अँध्यारो डुवेको छ गर्दै यहाँ आराम
हेरीरहेको छु निशामा आज मेरो प्यारो धरान !

निष्पस्ट निशा छ अन्धकार डुबेको
बलेको देह छ हेर सर्वांग खुलेको
फक्रेकी कली निम्त्याउने सबै लोचन
मन चन्चल बनाउँछ केही त सोच न  !

लालीमा बोकेको पुरा यौवनको
भवँरा जति छन् यो कंकृट वनको
पछी लाग्दछन् बलेकी सुन्दरीको
सब एकछन् रूप अप्सरा सरिको !

युवा पनि झन् के मा कम छन्
सिनेमा खेल्ने नायक सम छन्
वलिश्ठ शरिरको चटक्क छ ज्यान
सान मान सबै हुने हाम्रो धरान  !

सरदु सेउती सारंगा छ माथि
भय छैन यहाँ ठूलो छ छाति
देखिए यहाँ कुनै खराब समाज
सबै मिलि सुधार्न नमान्ने नि लाज !

सफा छन् सडक उस्तै छन् शाखा
भब्य छन् शहरका सबै भित्र पाखा
रंगीविरंगी घरले सजिएको छ जान
म जन्मी हुर्केको मेरो प्यारो धरान !

-बिकास आचार्य
धरान

Sunday, June 2, 2019

यथार्थ


आज श्रावण ६ गते , विपि कोइरालाको स्मृति दिवस, साँझको समयमा परमधामको कुनै स्थानमा एक्लै बसेर नेपाली राजनितिका महानायक एवं नेपाली कांग्रेसका संस्थापक , जननेता विपी कोइराला आफ्नो एण्ड्रोइड मोवाइलको चौडा स्क्रिनमा लामा लामा औंलाले स्क्रोल गर्दै आफ्नो फेसबुक हेर्दै थिए । काठमाण्डौ लगायत धेरै जिल्लाहरूमा बिभिन्न विचार गोष्ठीहरू सम्पन्न भएछन् । त्यसैगरि कहीं वृक्षारोपण त कहीं बृद्ध , असहाय , अशक्त र बिरामीहरूलाई फलफुल वितरण गरेका रहेछन् । 
यिनै सन्दर्भहरूमा स्थानिय नेता कार्यकर्ताहरूले अपलोडेका बर्गेल्ती फोटाहरू माथि उनी एकछिन टक्क अडिदै अगाडी स्क्रोल गर्दै जाँदैछन । कुनै कुनै पुरानो महत्वको स्थानमा केही गरेनछन् , उनलाई पूर्ण रूपमा बिर्सेछन् । यो थाहा पाउँदा उनलाई कार्यक्रम गर्नेले पनि केवल झारो टार्न केही गरेको जस्तो लागेको छ भनेर उनको स्निग्ध मुहारले देखाइरहेको थियो । 
सबैले आ-आफ्नो पोष्टमा उनले धेरै बर्ष पहिले बोलेको "सुकिलो मुकिलो " वाला भनाईलाई महत्वका साथ पोस्ट्याएको देखेर उनले मनमनै सोचे : " मैले अधुरो बोलेको कुरालाई सबैले समय सापेक्ष भनेर प्रचार गरेका रहेछन् तर यो अब अपूर्ण राख्न हुदैन , मैले त्यसलाई पुरा गर्नु आवश्यक भइसकेको रहेछ त्यसैले म पनि अब एउटा स्टाट्याटस पोष्ट्याइदिनुपर्यो । "
यस पछी उनले एउटा फेसबुक स्ट्याटस लेखे जुन यस्तो थियो - " मुलुकमा गणतन्त्र आएपछी ठूलाठूला भिडको नेतृत्व गर्ने , त्यस्तै महलहरूमा बस्ने , महंगा एवं चिल्ला गाड़ी चढ्ने , पहुँच , पैसा र पाखुरा भएकाहरू पार्टीमा हावी हुनेछन र त्यस्तो बिरुद्ध एकपल्ट फेरी नेपाली कांग्रेसको लागी रगत र पसिना बगाउने निष्ठावान कार्यकर्ताहरूले ठूलो संघर्ष गर्नु पर्ने छ । अब त्यो बेला आइसक्यो । "