Sunday, November 23, 2014

धजे डाँडामा होम स्टे



बिजयपुर ट्राभल्स एण्ड टुर्सका प्रोप्राइटर साथी प्रियस गुरागाइले झण्डै एक हफ्ता अगाडि देखी धनकुटाको डाँडाबजारमा “होम स्टे” जानको लागि समय मिलाउन आग्रह गरी रहेका थिए । कार्तिक महिनाको अन्त्य तिर समयले पनि राम्रै साथ दियो । दुई दिनको फुर्सदलाई सदुपयोग गर्न शुक्रबार दिउसो लगभग दुई बजे केही आवश्यक तयारी मात्र गरेर हामी दुई जना मोटरसाइकलमा धरान देखी उकालो डाँडाबजार तर्फ लाग्यौं । भेंडेटारदेखी पुर्व काम्फेक , नाम्जे , ओख्रे हुँदै डाँडाबजार पुगिन्छ । त्यहाँ देखी अझै पर जाने हो भने राजारानी पुगिन्छ । धरान देखी भेंडेटार कति हिंडियो भनेर शायद धरानवासीले गनेका हुँदैनन । त्यस पछी क्रमस काम्फेक , नाम्जे, ओख्रे हुँदै जाँदा त्यताको भ्रमण चैं संख्यामा पक्कै पनि घट्दै गएको हुन्छ । ओख्रे भन्दा पनि अगाडिको डाँडाबजार त्यती सारो धरानबासीको रमाइलो गर्ने गन्तव्यमा पर्न सकेको छैन । धनकुटा जिल्लाको डाँडाबजार गाबिस प्राकृतिक सुन्दरताको अनुपम नमुना त हुँदै हो , त्यस माथि यहाँ अवस्थित धजे डाँडाले यो गाबिसलाई अझ सुन्दर र आकर्षक बनाउनका लागि गहनाको काम गरेको छ । महाभारत पर्वत श्रींखलाकै उच्चतम मध्ये एक यो डाँडाबाट पुर्वको सोहृवटै जिल्लाको दृष्य हेर्न सकिन्छ । यहाँबाट कुम्भकर्ण हिमाल , मकालु हिमाल एबम सगरमाथा समेतको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । धजे डाँडाको टाउको माथि पुग्दा जुन आनन्द प्राप्त हुन्छ त्यो भन्दा बढी आनन्द त्यहाबाट देखिने सूर्याेदय र सूर्यास्तको दृष्यले हामीलाई प्रदान गर्दछ । पुलकित बनाउने चिसो बिहानीको उषा र बेलुका देखिने संध्याको लाली देख्न पाउँदा कुनै पनि ब्यक्ती मोहित नबनी रहन सक्दैन ।

मैले धेरै पटक धजे डाँडा बारे पत्रपत्रिकामा पढिसकेको थिए । कयौं साथीभाइहरुबाट यसबारे वर्णन सुनेको थिँए । यहाँको पर्यटन ब्यवसाय बारे पनि धेरै ज्ञान हासिल भइसकेको थियो भने “ग्रामीण पर्यटन र होम स्टे ” बारे आँफैले पनि केही पत्रपत्रिकामा लेख लेखीसकेको थिए । मैले ग्रामीण पर्यटनको अध्ययनमा जे जती कुराहरु बुझेको थिए त्यसलाई व्याबहारीक रुपमा उतार्दा खेरी त्यो भन्दा धेरै गुणा बुझिने रहेछ । डाँडाबजार र धजे डाँडा एक आपसमा पर्यायवाची र परीपुरक रहेता पनि यो बजार र डाँडाको टुप्पोको पैदल दुरी करिब एक घण्टाको छ । अझ पैदल नहिंड्नेहरुलाई त्यो उकालो छिचोल्न त्यो भन्दा बढी समय लाग्न सक्छ । पहाडी परिबेश र नब शहरीकरण उन्मुखताको दोसांधबाट हिडिंरहेको यो स्थानमा पर्यटकले पाउनु पर्ने र खोजेको लगभग सबै कुराहरु पाउन सक्छन । ग्रामीण पर्यटनलाई चाहिने , पहाडी गाँउमा देख्न पाइने पाखा , पखेरा , कन्दरा र खोंच र उचाइ यहाँ देख्न सकिन्छ । शहरबासीले पुस्तकमा मात्र पढेको र नदेखेको लालीगुरास , उत्तिस , कटुस र सल्ला यहाँको प्रमुख बोटबिरुवा हुन । यि बनस्पती तराइ तिर नहुने हुँदा तराइका मानिसलाई यसको भिन्नै महत्व र हेर्दा रमाइलो हुने गर्दछ । नेपालको पहाडी परिबेश सँग पर्यटकलाई परिचय गराउनु पहाडी ग्रामीण पर्यटनको प्रमुख उद्देश्य हो । उत्तरआधुनिक भन्न रुचाउने हाम्रो शहर तिरका युवाहरु पहाडको ठेट नेपालीपन झल्कने घरायसी भाडाकुडा र शब्दावलीबाट अपरिचित छन । यिनिहरुलाई ति वस्तुहरु सँग प्रत्यक्ष रुपमा परिचित गराइ त्यस बारे ज्ञान दिलाउन यस्तो पर्यटनले अहं भूमिका खेल्दछ । शहरका युवाले बोतलमा मात्र मह देखेका हुन्छन । यहाँ मौरीको प्राकृतक घार र चाका देख्दा तिनीहरुलाई एउटा अनौठो मज्जा आउछ । त्यस्तै नाम मात्र सुनेको पहाडी पंधेरो , अनी घरमा प्रयोग गरिने ठेकी , मदानी , ओदान र अगेनो जस्तो वस्तु सँग दृष्टिपरिचित गराउन ग्रामीण पर्यटनले धेरै ठुलो टेवा पु¥याइरहेको छ । नत्र भने आधुनिकताले घ्वाप्लाक्क निलेको शहरमा यस्ता चिज देख्न कहाँ पाउनु र । शहर केन्द्रित पर्यटनलाई महत्व दिने , यसलाई ब्यापारिकरण मात्र गरिएको वर्तमान अवस्थामा ग्रामीण पर्यटनको अर्को महत्वपूर्ण पाटो होम स्टेलाई डाँडाबजारवासीहरुले प्रयोगमा ल्याएका छन । पर्यटकहरुलाई आफ्नो घरमा आस्रय दिई आफु सँग आफ्नै भन्सामा खुवाउने र घरायसी बातावरणमा रहिरहन न्युनतम शुल्क लिई घर बाहिर पनि घर जस्तो अनुभुती दिलाउन हरेक प्रयास गर्ने यहाँका वासिन्दाहरुको यो कार्य अत्यन्त पारीतोषिक छ । अतिथी देवो भवः भन्ने नेपालीहरुको मौलिक संस्कार सँग हुर्किएका हामीहरुले यसलाई बिस्तारै बिर्सदै गइरहेका छौ । शहरमा छिमेक कै वल्लो र पल्लो घर पनि नचिन्ने जुन प्रकारको अवस्था सृजना भएको छ , होम स्टेले त्यो बातावरणमा हुर्किएकाहरुलाई झक्झकाउने काममा ठुलो योगदान गरेको छ ।
दुई बजे धरान बाट हिंडेका हामी दुईजना बिस्तारै जाँदा लगभग पौने चार बजे डाँडाबजार पुग्यौं । पहाडी बजार बेलुकाको समयमा त्यती भिडभाड देखिदैन थियो । हामी सिधै स्थानिय शिक्षक कृष्ण ब्लोनको घरमा गएर ढोका ढक्ढक्यायौं । ब्लोन सर नभए पनि म्याडमले हामीलाई राम्रो सँग स्वागत गरेर धजे डाँडामा होम स्टेको लागि मेरी चेम्जोङको घरमा बासको ब्यबस्था फोनबाट नै गरिदिनु भयो । मिठो चिया अनी बिस्कुट सँगै वहाँले हामीलाई त्यही बेला धजे उक्लने सल्लाह दिनु भयो । सल्लाह सहर्ष स्विकार गरी हामी दुई भाई मोटरसाइकल त्यही छाडी धजे डाँडा तर्फ लाग्यौं । डाँडाबजारको बसस्टपबाट धजे डाँडा तर्फ जाने उकालो बाटोको शुरुवात हुँदो रहेछ । एक घण्टा उकालो हिंड्नु पर्ने म्याडमले बताइदीइ सक्नु भएको थियो, त्यही कुरामा मानसिक तयारी गरी हामीले उचाइ नाप्न थाल्यौं । सिधा र ठाडो देखिने उकालो बाटोमा ढुङ्गा फोरी मिलाएर ओच्छाइएको अनी अली माथि पुगेपछी त्यसै गरी सिंढी बनाइएको रहेछ । कही अली तेर्साे अनी कतै भने ठाडो सिंढीको बाटोमा हिंड्ने मान्छे कहाँ पुग्दा गल्छन भन्ने अनुमान गरेर नै स्थानिय समाजसेवी दताहरुले बाटोको चार ठाउँमा छानो समेत भएको फलैचा बनाइदिएको हुनाले उकालो चढ्नेहरुलाई एकछिन बिश्राम गर्न सहज हुने रहेछ । बाटोको दुबै तर्फ भिर अनी भिरमा बिभिन्न प्रजातीका रुख बिरुवाहरु बाक्लै सँग झांगिएको देखिने । साँझ पर्न लागेकोले त्यो झाडी अँध्यारो देखिन्थ्यो । बिशेष गरी अली तल भिरमा उतिसको रुख अनी बाटोको छेउछेउमा लालीगुराँसको बोट धजेको झन्डै शिर सम्म नै देखिन्छ । केही थोरै भए पनि सल्लाका रुख पनि त्यहा देख्न पाईन्छ । लगभग तीनचौथाइ उकालो हिंडी सके पछी भने देब्रे पटी डाँडामा तीनचार वटा घरहरु रहेछन । ति घरहरु मध्ये नै एउटा घर हामीलाई होम स्टेको आतिथ्य प्रदान गर्ने मेरी चेम्जोङको होला, हामीले रात त्यही घरमा बिताउनु पर्ने होला भन्दै हामी सुर्यास्तको दृष्य हेरेर आनन्द लिनका लागि क्रमिक रुपमा उकालो चढ्दै गयौं ।
अलि माथि दाहिने तिर देवीथान रहेछ । ढुङ्गाको चेपलाई मन्दिर जस्तो बनाइएको , बिभिन्न देवी देवता जस्तो देखिने ढुङ्गाको आकृतीलाई विश्वासले पुज्ने नेपालीहरुको संस्कार नै छ । त्यहा पनि त्यस्तै दृष्य देखिन्छ । त्यही स्थान देखी शुरु हुन्छ कटुसको जंगल । बाटोको दुबै तर्फ चारै तिर सुर्यको प्रकाशनै छेक्ने गरी कटुसका रुखहरुको बक्लो जंगल झन्डै डाँडाको शिर सम्म छ । शिर भन्दा केही तल सानो पहाडी चउर र त्यहा एक छेउमा भर्खर निर्माण गरिएको एउटा अतिथी गृह छ । अतिथी गृह सन्चालनमा आइसकेको छैन । पानीको ज्यादै समस्या रहेको डाँडामा त्यो समाधान भए पछी त्यस्तो गृह सन्चालन गर्न सजिलो हुने देखिन्छ । 
कटुसको झाडीले गर्दा झमक्क साँझको अँध्यारो भए जस्तो लागि सकेको थियो । त्यहाबाट अलि माथि उक्लिएपछी डाँडाको शिर पुगिन्छ । शिरमा टेकी सकेपछी पो थाहा भयो अझै उज्यालो नै रहेछ । दश पन्ध्र मिनट पछी सूर्य अस्ताउने अनुमान हामीले गर्यौं । बिस्तारै पर पश्चिम क्षितिज सुन्तले रङ्गको हुँदै गयो । उत्तर तर्फ पर क्षितिजमै देखिने हिमालय सृंखलामा पनि त्यसरी नै लाली चढ्दै गयो । अनी हेर्दाहेर्दै एकैछिनमा सूर्य सुन्तले डल्लो हुँदै क्रमश क्षितिजमा बिलिन भयो । यो पाँच मिनट भित्रको दृष्य यती लोभलाग्दो देखियो जसलाई वयान गर्नलाई शब्दको खडेरी पर्छ । यस्ता दृष्यले संसार बिर्साउछ ,सम्पूर्ण तनावलाई हटाउदै एकछिन हामीलाई प्रक्रिती सँग एकाकार बनाउँछ । अब चै साचै अँध्यारो भइसकेकोले हामीलाई होम स्टे प्रादान गर्ने दिदी मेरीलाई मोबाइलमा कुरा गरेर हामीले घर पत्तो लगाउन खोज्यौ । वहाँ आँफै हामी भए ठाउँ सम्म हामीलाई स्वागत गर्न आउनु भयो । तेर्साे बाटो अली तल झरे पछी हामी दिदिको घर पुग्यौं । दिदीले देखाइ दिएको कोठामा आफ्नो झोला राखेर सिकुवाको कुर्सीमा बसे पछी मात्र हामीले जाडोको महशुस गर्यौं । अँध्यारो भई सकेको रहेछ । कालो चियाले गरेको स्वागत सँगै दिदीको सन्ध्याकालिन काम सुरु भै सकेको थियो । बारी मै फलेको कालो भट्मास उत्तिखेरै भुटेर त्यसलाई प्याज , मुला अनी अकबरे खोर्सानी हालेर साँधेपछी त्यसैलाई खाजाको रुपमा स्विकार गयौं । यसरी नै बेलुकाको खानामा आफ्नै बारीको साग अनि इस्कुसको तरकारी ,कालो दाल ,धनिया र टमाटरको अचार अनी भात निकै स्वादिलो थियो । खाना खाइ सके पछी भोली बिहान पाँच बजे नै सुर्याेदयको दृष्य हेर्न डाँडाको शिर पुग्नु पर्ने हुनाले हामी, हामीलाई दिएको कोठामा पसेर ओछ्यानमा पल्टियौ र एकछिनमा नै निदाएछौ ।
बिहान पाँच भनेको जाडोले गर्दा साढे पाँच बजे मात्र हामी उठ्न सफल भयौ । नित्यकर्म हतारहतार दुबैजानाले सकेपछी हामी डाँडा तर्फ उकालो लाग्यौ । जाडो र भरखर सुतेर उठेको हामीलाई हिंड्न त्यसै गर्हो भएको थियो भने कटुसको घारीले बाटो झन अन्धकार देखिन्थ्यो । ब्लोन म्याडमले बेलुकानै धजे चढ्न किन सल्लाह दिनु भएको रहेछ बल्ल हामीले बुझेका थियौं । माथि डाँडाको शिरमा पुगेर पुर्व हेर्दा क्षितिज सुन्तले रातो देखिन्थ्यो । अर्काे एउटा समुह अघिनै त्यहा पुगेर रमाइलो दृष्यसँग एकाकार हुँदै थियो । हामीले पनि सुर्यको उदयलाई धजे बाट नियाल्न थाल्यौं । क्षितिजमा देखिएको रातोभन्दा केही नजिक बाट गोलाकार सुन्तले डल्लो क्रमश निस्कदै गयो ,हामीले एकोहोरो हेरी रह्यौंै । जब सम्म त्यसको तेजले आँखालाई नहेर भनेर रोकेन, हामीले हेरी रह्यौं । सूर्यास्तको जस्तै सूर्याेदयको दृष्यले पनि मन अल्लाहदित बनाउने रहेछ । मानिस प्रकृती सँग किन नजिक हुन खोज्छ भन्ने प्रश्नको उत्तर यस्तै अनुभुतीले दिन्छ ।
हामी जुन उद्देश्यले पुगेको थियौं त्यो सफलता पुर्वक पुरा भइसकेको थियो । दिदी मेरीको घर फर्के पछी वहाँले हामीलाई बिहानीको चिसोमा कालो चिया स्विकार गर्न वाध्य बनाउनु भयो । पानीको अभाव भएको डाँडामा केही बर्ष अगाडि कुहिरोलाई बिशाल प्लस्टिकको पर्दाले छेकेर पानी बनाइदो रहेछ । त्यसलाई अली तल लगभग पच्चिस हजार लिटरको ट्यांकी निर्माण गरी संकलन गरी सबैले प्रयोग गर्ने गरिएको रहेछ । तर अहिले हावाले त्यो प्लास्टिक च्यातिएको हुनाले त्यो परीयोजना अलपत्र परेको सुन्दा मन खिन्न भएर आयो । दिदी सँग केही बेर कुराकानी गरेपछी वहाँको डायरीमा केही शब्द कोर्न आग्रह गर्नुभएकोले केही सम्झनाका शब्द लेख्यौं । होम स्टे र खानाको पैसा दिदीलाई दिएर हामीले बिदा माग्दै ओरालो झर्दा फेरी एकपल्ट धजे डाँडामा आउने इच्छा प्रबल भएर आयो । पुनः कुनै दिन धजे आउने बाचा गर्दै हामीले धजेसँग बिदा माग्यौं ।

No comments:

Post a Comment