Tuesday, October 28, 2014

नेविसंघ महाधिवेशन र आन्तरिक लोकतन्त्र

नेपालको लोकतान्त्रिक इतिहास रचना गर्दै गर्दा सबैभन्दा अगाडि नाम अङ्कित हुने दल हो– नेपाली कांग्रेस। र, त्यस्तैगरी पञ्चायती अँध्यारो युगमा विद्यार्थीमाझ लोकतन्त्रको मसाल बोकेर सडकमा उत्रने विद्यार्थी संगठन हो– नेपाल विद्यार्थी संघ।
यसरी नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने राजनीतिक दल तथा लोकतन्त्रलाई आत्मसात गर्ने विद्यार्थी संगठन दुवैले लोकतन्त्रलाई नै आफ्नो आदर्श मानेका छन्। मुलुकमा लोकतन्त्र स्थापना र पुनर्स्थापनामा निश्चय पनि यी दुवै संगठनको भूमिकालाई कम आक्न मिल्दैन। निश्चय पनि यी दुवै संगठनका कार्यकर्ताको रगत पनि नेपाली लोकतन्त्रको बिरुवामा सिँचित छ। यहाँ उठाउन खोजिएको सन्दर्भ मुलुकको लोकतन्त्रबारे नभई संगठनभित्रको लोकतन्त्रबारे हो। लोकतान्त्रिक मूल्य र मान्यतालाई आदर्श मान्ने संगठनको आन्तरिक प्रक्रियाहरुमा यसको कति प्रयोग भइरहेको छ, त्यो सवाल अहं हुन पुगेको छ। भन्नुको मतलव नेविसंघभित्र लोकतान्त्रिक प्रयोग आन्तरिक नेतृत्व चयन प्रक्रियामा कति व्यवहारमा उतारिएको छ त्यसले यसको लोकतान्त्रिक चरित्र उजागर गर्छ अन्यथा त्यसलाई समाजले भन्नेछ– पहिले आफ्नो घर बनाऊ अनिमात्र राष्ट्र बनाउन अग्रसर होऊ।
हामी लोकतन्त्रको क, ख, ग पढ्ने विद्यार्थीलाई थाहा छ, लोकतन्त्र भनेेको जनताका लागि, जनताद्वारा, जनताको शासन प्रणाली हो। यसलाई संगठन सञ्चालनका लागि अभिव्यक्त गर्नुपर्दा नेतृत्व चयन प्रक्रिया पनि त्यसरी हुनुपर्छ जसमा नेतृत्व गरिनेका लागि, उनीहरुद्वारा, उनीहरुको नेता चुनियोस् न कि माथिल्लो तहबाट थोपरिएको नेतालाई विवेकशील कार्यकर्ताले झेल्नु परोस्। यहाँ प्रसंग नेविसंघको आसन्न महाधिवेशनलाई लिएर उठाइएको हो। पार्टी र यसको भातृ संगठनको आन्तरिक लोकतन्त्रको बारेमा उठाइएको हो। हामीले उठाउँदै आएको विषय हो– नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक हुनुपर्छ। विवाद र धाँधलीरहित निर्वाचन प्रक्रियाबाट निर्वाचित नेतृत्व वास्तवमै लोकतान्त्रिक नेतृत्व कहलाउँछ। न यसमा पार्टी नेतृत्वको अनावश्यक हस्तक्षेप स्वीकार्य हुन सक्छ न त केन्द्रद्वारा लादिएको नेतृत्व नै। तर विडम्बना, नेविसंघको नेतृत्व चयन प्रक्रिया सदैव विवादित छ। यसमा धेरैजसो नेतृत्व पार्टीले चयन गरिदिएको छ। पञ्चायती कालरात्रिको समयमा त यसलाई सहजरूपमा लिइएको पनि हो तर त्यसैको सिको गर्ने कार्य हालसम्म हँुदै आएको छ। आफ्ना लागि आफँै नेता चुन्न पाउनुपर्ने लोकतन्त्रको प्रथम सूत्र प्रतिकूल विद्यार्थीहरुले पार्टीले चयन गरिदिएको नेतृत्व स्वीकार गर्नु परिरहेको छ। यसको दुईवटा बेफाइदा टड्कारोरूपमा देखिएका छन्। प्रथम त पार्टी नेतृत्वबाट नेता बनाइएका विद्यार्थी नेतामा संगठन सुदृढीकरणमा त्यति योगदान गर्ने सामर्थ्य, नेतृत्व क्षमताका रूपमा अनि नैतिकरूपमा पनि हुँदैन र दोस्रो कुरा विद्यार्थीमाझ लोकप्रिय बन्नुको सट्टा पार्टी नेतृत्वको चाकडी गर्नतिर विद्यार्थी नेताहरु लागेको पाइन्छ। त्यसैले यी दुवै कुराले विद्यार्थी संगठनको संख्यात्मक स्वरूप, गुणात्मक स्वरूप एवं कार्यसम्पादन कलाको स्वरूप पतनको गहिराइतर्फ अग्रसर भएको पाइन्छ।


नेविसंघको दशौँ महाधिवेशनले निर्वाचित गरेको अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि आन्तरिक मतभिन्नता र विवादले जेलिएको नेविसंघ झन् धेरै समस्याले ग्रस्त भएको थियो। विद्यार्थीको नेतृत्व गर्न त्यसपछि बनाइएका रञ्जीत कर्णले आसन्न महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन गराउन सक्छन् कि सक्दैनन् हेर्न बाँकी नै छ। एउटा लोकतान्त्रिक मूल्य र मान्यतालाई आदर्श मान्ने विद्यार्थी संगठनले लोकतान्त्रिक प्रक्रियालाई अञ्जाम दिन सकेन भने त्यो उसका लागि कति हीनतावोधपूर्ण र लज्जास्पद हुन्छ, त्यो रञ्जीतलाई पनि थाहा छ। कर्णको नेतृत्वमा नेविसंघ केन्द्रीय समिति गठन भइसकेपछि पनि यसले हामीले सोचेेजस्तो काम गर्न नसकेको हामीलाई थाहा नै छ। अनेकौँ विवाद र समस्या चिर्दै अहिले नेविसंघ महाधिवेशनको संघारमा छ तर जिल्ला र क्याम्पसहरुमा देखिएको अनावश्यक झमेलाहरुले महाधिवेशनको गरिमालाई तेजोबोध गरेको देखिन्छ। यसरी तेजोबोध गर्नेहरु स्थानीय नेविसंघका कार्यकर्ता नभएर केन्द्रीय नेताहरु नै देखिएकाले यसलाई विडम्बना नै ठान्नुपर्छ। लोकतन्त्रका लागि पटकपटक लड्दै आएका तरुण विद्यार्थीले निर्वाचन नगरिकन थोपरिएको नेतृत्वको खुलेर नै विरोध गर्न सक्नुपर्छ। त्यस्तो कार्यलाई सहजरूपमा स्वीकार्नुहुँदैन। यस्तो क्रियाकलापको समर्थन गर्नु नै किन? लोकतन्त्र सम्पूर्ण नेपाली जनताका लागि आएको होइन? अनि के नेविसंघका कार्यकर्ता नेपाली जनता होइनन्? राज्य सञ्चालनको प्रक्रियामा मात्र लोकतन्त्र चाहिने हो कि संगठनहरु सञ्चालनमा पनि चाहिने हो? सम्पूर्ण लोकतन्त्रवादी विद्यार्थीले सोच्नुपर्ने बेला आइसकेको छ। तसर्थ तमाम विद्यार्थीले लोकतान्त्रिक प्रक्रिया कहाँनेर मिचिएको छ र मिचिने सम्भावना छ त्यसलाई सुधार्ने वा रोक्ने काम गर्नुपर्छ। यदि पार्टी नेतृत्वको अनावश्यक हस्तक्षेप वा पार्टी नेतृत्व त्यस प्रकारको कार्य गर्न अग्रसर हुन्छ भने हामीले त्यसको सशक्त विरोध गर्दै विद्रोहसम्ममा उत्रने साहस गर्नुपर्छ।
नेविसंघको आसन्न महाधिवेशनको संघारमा हुँदै गरेका संगठनात्मक क्रियाकलापले राम्रो सन्देश विद्यार्थीमाझ दिन सकेको छैन। यसलाई नेविसंघको केन्द्रीय नेतृत्वमा बसेका विद्यार्थी नेताहरुले तत्काल समाधान गरी परिस्थितिलाई सहज बनाउन सक्नुपर्छ। क्याम्पस तथा जिल्ला समितिहरु पनि विवादरहित हुन सक्नुपर्छ। जिल्लाहरुमा पार्टीगत गुटबन्दीको प्रभाव परेको प्रत्यक्ष देखिएका छन्। कतिपय जिल्लामा देखिएको पार्टीगत गुटबन्दी र व्यक्तिवादी प्रवृत्तिले गर्दा नै विवाद सिर्जना भएका छन्। उपल्लो तहका नेताहरुले आफ्नो निहीत स्वार्थ पूर्तिका लागि पनि जानाजान विवाद उत्पन्न गराएका छन्। यसरी विवादित बनाउँदा केन्द्रीय महाधिवेशनसम्मका लागि केही विद्यार्थी नेतालाई त फाइदा होला तर समग्ररूपमा सम्पूर्ण नेविसंघलाई दीर्घकालसम्म त्यसको असर परी नै रहन्छ। तसर्थ वर्तमान नेतृत्वले संगठनभित्रको कुनै एउटा गुटको मात्र नेतृत्व नगरी सम्पूर्ण संगठनकै नेतृत्व गरेर बृहत् सकारात्मक सोच राखेर महाधिवेशन सम्पन्न गर्नुपर्छ। तत्पश्चातमात्र लोकतन्त्रवादी विद्यार्थीको गरिमा कायम रहन्छ।
विकास आचार्य
पूर्वसभापति, नेविसंघ, सुनसरी

No comments:

Post a Comment