सुनसरी जिल्लामा कांग्रेसको संगठन र गतिविधिहरुलाई फर्केर हेर्दा यो नेपालकै एउटा यस्तो जिल्लाको रुपमा देखिन्छ जसको नेत्रित्व प्रारम्भमा स्वयं जननायक बिपी कोइरालाले गर्नु भएको थियो । मोरङ र भारतको बिहार राज्य सँग जोडीएको सुनसरी जिल्लाले प्रत्यक्ष रुपमा बिपी र गिरिजा प्रसाद कोइरालाहरुको नेत्रित्व र अभिभावकत्व पाइआएको थियो । यस जिल्लाका दक्षीणी गाउँहरुमा स्वयं नेपाली राजनीतिका शिखर ब्यक्तित्व, पुर्व प्रधानमन्त्री एबम नेपाली कांग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोइराला संगठन गर्न अहोरात्र खटीनुहुन्थ्यो। गिरिजा प्रसाद कोइरालाका पैतालाका डोबहरु अनी वँहाले गूडाएको साइकलका पांग्राको निशानको प्रतिफल सुनसरीका गाउँहरुमा अझै पनि नेपाली कांग्रेसको संगठन सशक्त रुपमा देख्न सकिन्छ । वहाँले रोपेको कांग्रेसको रुख यस जिल्लामा बिशाल वटब्रिक्षको आकारमा फैलिएर रहेको छ । पुराना कांग्रेसका कार्यकर्ताहरुलाई सोध्दै जाँदा बडो दु:खले यहाँ संगठनलाई बिस्तार गरेको यथार्थ पाउन सकिन्छ ।
२००७ सालको क्रान्तिको बागडोर यस जिल्लामा गिरिजा बाबुले नै सम्हाल्नुभएको थियो। यही सुनसरिको कमानबाट नेपाली कांग्रेसमा डा. खलील आजाद, सुलेमान अन्सारी, नच्छेदी मेहता, बन्शी मेहता, बेख बहादुर नेपाली लगायतका सपुतहरुको जन्म भएको हो। गिरिजा बाबु र यि नेताहरुको अथक प्रयासले सुनसरिमा कांग्रेसले फल्ने फुल्ने मौका पाएको हो।
गिरिजा बाबुको यस जिल्लासँग गाँसीएका अनगिन्ती सम्झना एबम संघर्षका कथाहरु अब केवल ईतिहासका पानामा समेटिएका छन। यसरी स्वयम गिरिजा बाबु सँग सुनसरी कांग्रेसको साईनो गाँसिएको भएता पनि २०१५ सालको आम निर्वाचनमा यो स्थान मोरङ हुने गर्थ्यो । यही तत्कालिन मोरङ्को निर्वाचन क्षेत्र नं ३२ बाट त्यस बेला बिपी कोइराला र ज्ञानचन्द्र चौधरीले बिजय हासिल गर्नु भएको थियो । त्यस बेला नेपाललाई प्रशासनिक रुपमा केवल ३५ जिल्लामा बिभाजन गरिएको थियो जस अन्तर्गत हालको सुनसरी मोरङ जिल्लामा पर्दथ्यो भने यसको पश्चिमी केही गाउँहरु सप्तरी जिल्लामा पर्दथे ।
सुनसरिको उत्तरी पाटो धरानमा पनि कांग्रेसको संगठनलाई हुर्काउने काम २००७ साल देखिनै भैरहेको थियो। विद्वान पण्डीत छविलाल पोख्रेल,गणेशमान श्रेष्ठ, भागवत गोबिन्द लाखे, बिष्णु गोबिन्द लाखे लगायतका नेताहरुले धरानमा कांग्रेसलाई मलजल गर्ने काम गर्नु भएको थियो। यसरी हेर्दा समस्त सुनसरी जिल्लानै त्यस काल खन्डमा कांग्रेसको लागि उर्वर भुमिको रुपमा रहेको थियो। यो उर्वर भुमीमा फसल फल्न तब रोकियो जब २०१७ साल पौष १ गते तत्कालिन राजा महेन्द्रले सैनिक हस्तक्षेप द्वारा जबर्जस्ती निर्वचित सन्सद र मन्त्री परिषदको हत्या गरी निरन्कुश पञ्चायति ब्यवस्था लागू गरे । पञ्चायतको सुरुवात सँगै सुनसरीमा पनि कांग्रेसको संगठन कमजोर हुँदै गयो धरान अनी सुनसरीका दक्षिणी गाउँहरुको कांग्रेस कृयाकलाप र राजनीति ठप्प हुन पुग्यो । यो अलोकतान्त्रिक कदम चालेपछी मुलुकको स्वतन्त्र गतिबिधी ठप्प हुन पुगेको थियो । संगठित भई सामाजिक एबम राजनितिक क्रीयाकलाप गर्न सक्ने अवस्था बाँकी राखिएन । सम्पूर्ण राजनैतीक दलहरु माथि प्रतिबन्ध लगाइएको थियो भने नेताहरुलाई जेल हालिएको थियो । केही बाँकी रहेका नेताहरु मुलुक बहिर निर्बासनमा रहेका थिए । राजनीतिक कार्यकर्ताहरु लाखापाखा लाग्न थाले । धरानमा पनि लोकतन्त्र माथि र बहुदलिय ब्यबस्थाको पक्षमा रहेका युवाहरुको जोश र जाँगर माथि कालो बादल लाग्यो । समयको अन्तराल सँगै त्यो कालो बादल टिक्न सकेन । धरान जस्तो पूर्वाञ्चलकै शैक्षिक केन्द्रको रुपमा बिकसित हुँदै गरेको शहरमा रहेका युवा बिद्ध्यार्थिहरु कुनै न कुनै बहानामा संगठित हुन खोज्न थालेका थिए । । युवा विद्यार्थीहरु लोकतान्त्रिक बिद्ध्यार्थिहरुको संगठन (पछी गएर ने बि संघ) को छाता मुनी लोकतन्त्रका लागि गोलबद्ध हुन थाले। भूमिगत रुपमा युवाहरु जुर्मुराउन थाले। यसरी जुर्मुराएका युवाहरुले आफ्नो लोकतान्त्रिक अधिकार खोज्नथाले, शिक्षित युवाहरु कुनै पनि अवस्थामा स्वतन्त्र सामाजिक बिचरण गर्न चाहन्थे । साहित्य , खेलकुद र मनोरन्जन जस्ता कुरामा नियन्त्रण राख्नु हुँदैन भन्ने मान्यता बोकेका लोकतन्त्रमा विश्वास राख्ने युवाहरुको एउता जमात निर्माण हुँदै गयो । बिस २०२० देखि नै धरानमा बिद्ध्यार्थी र युवाहरुलाई लोकतन्त्रको पक्षमा संगठित गर्ने कार्यको शुरुवात भयो । यस कार्यमा राजेश्वर आचार्य ( चिनकालागी पुर्व नेपाली राजदूत ) को नेत्रित्वदायी भूमिका थियो । २०२१ सालमा विद्ध्यार्थीहरुले संगठन गर्न पाउनु पर्ने भन्ने आन्दोलन, त्यस्तै २०२३ सालको डिआइजी नारायण सिंह काण्ड मा पनि धरानका युवा बिद्ध्यार्थीहरुले भीषण बिरोध गरेका थिए । त्रिचन्द्र क्याम्पसकी एक छात्रालाई अभद्र व्यबहार गर्ने त्यो डिआइजीको बिरोधमा काठमाडौं मात्र हैन पुरा देश बलेको थियो । यो आन्दोलनलाई गती दिन धराने युवाहरुले धनकुटा र बिराटगरका युवाहरुलाई पनि उत्प्रेरणा दिने गर्थे । यही बेला नै धरानमा कांग्रेस र कम्युनिष्टलाई गोबर र खरानी भनिन थालेको हो । यस सम्बन्धमा यहाँ धेरै कृयाकलाप एबम घटना भएका थिए । यि सबै घटनाहरु धरानको लोकतान्त्रिक इतिहासमा बिर्सन नसकिने गरी लेखिएको छ । २०२७ सालमा नेपाल बिद्ध्यार्थी संघ गठन गर्ने क्रममा धरानका राजेश्वर आचार्य , हरिहर आचार्य र दुर्गा आचार्य घिमिरे ( साहित्यकार जगदिश घिमिरेकी श्रीमती , महिला तथा बाल अधिकारकर्मी ) लाई काठमाडौंमा पक्राउ गरिएको थियो । २०२८ साल फाल्गुण ७ गते प्रजातन्त्र दिवस मनाउने क्रममा राजेश्वर आचार्य , भागवत गोविन्द श्रेष्ठ , सतिशचन्द्र गिरी , कृष्णगोविन्द पलिखे, गिरिराज आचार्य लगायतलाई पक्राउ गरी पहिले धरान कोलेनी स्थित तत्कालिन एसपी कार्यालयमा रखिएको थियो । पछी गिरिराज आचार्य सहित केहीलाई छोडियो भने बाँकीलाई बिराटनगर जेलमा थुनिएको कुरा उक्त कार्यक्रमका नेत्रित्वकर्ता राजेश्वर आचार्य बताउछन ।
यही सेरोफेरोमा धरानमा फ्रेण्ड्स क्लबले जन्म लिन पुगेको थियो । यो नै धरानको सबभन्दा पहिलो संगठित संस्था हो ।संभवत पूर्वाञ्चल कै प्रथम संगठित संस्थाको रुपमा स्थापना हुन पुगेको फ्रेण्ड्स क्लबले त्यो बेला राजनीतिक दलको कमीलाई पुर्ती गर्ने काम गर्यो । लोकतन्त्रबादीहरु धेरै रहेको यो क्लबको स्वाभाबिक रुपमा प्रतिबन्धित नेपाली कांग्रेससँग सामिप्यता थियो । लोकतन्त्रलाई आत्मसात गर्दै पञ्चायत बिरुद्ध लागेका युवाहरुले यो क्लबलाई आफ्नो र आफुले चाहेको संस्थाको रुपमा बिकसित गरेका थिए । तसर्थ यस क्लब मार्फत नै कांग्रेसको संगठन त्यो बेला हुन थाल्यो । कांग्रेसको लागि धरान र आसपासको क्षेत्रमा फ्रेण्ड्स क्लब संगठन बढाउने माध्यमको रुपमा अगाडि आयो । केदारनाथ श्रेष्ठको नेत्रित्वमा राजेन्द्र बजगाइ , सुरेन्द्र ढकाल , भक्त गोबिन्द श्रेष्ठ ,राजेश्वर आचार्य , जीवनाथ बस्तोला , ठगेन्द्र आचार्य , हरिनाथ बस्तोला , ईन्द्र प्रसाद श्रेष्ठ ,डा हरिहर आचार्य , राधा प्रसाद रेग्मी , गिरिराज आचार्य , बिष्णु शर्मा दाहाल , आनन्द आचार्य , खगेन्द्र घिमिरे , मन प्रसाद राइ , शिव प्रसाद अग्रवल , बाबुराम खनाल , बसुदेव भण्डारी लगायतका युवाहरुले यस क्लबको माध्यमबाट कांग्रेसको कृयाकलाप र संगठनमा अथक प्रयास गरेका थिए ।यि युवाहरु बाहेक तत्कालिन अवस्थामा धेरैजनाले फ्रेण्ड्स क्लबको अगुवाइ गरेका थिए ।
यसरी धरानका धेरै युवाहरुको प्रत्यक्ष योगदानबाट फ्रेण्ड्स क्लबले आफुलाई धरान लगायत छिमेकी शहरहरुमा पनि सामाजिक ,राजनितिक र सांस्कृतिक कार्य गर्ने केन्द्रको रुपमा बिकसित गरेको थियो । भूमिगत राजनीतिक कार्यक्रम संचालन गरेर पनि यसले तत्कालिन अवस्थामा नेपाली कांग्रेसको नेत्रित्वलाई आफ्नो महत्व सम्झाउन सफल भएको थियो । यो क्लबको गतिबिधी र अगुवाहरुको बारेमा बिपी कोइराला , गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई चासो हुन्थ्यो । तसर्थ राजनीतिक कार्यक्रम सन्चालनका लागि यो अत्यन्त महत्वपूर्ण मन्चको रुपमा स्थापित भईसकेको थियो ।
फ्रेण्ड्स क्लबको आफ्नै बिबिध बिभागहरु पनि गठन गरिएका थिए । यिनै बिभागहरु मार्फत यसले आफ्नो गतिबिधिहरुलाई अगाडि बढाउ थियो । साहित्यिक बिभाग , सांस्कृतिक बिभाग र खेलकुद बिभागलाई प्रमुख रुपमा सम्झने गरिन्छ । यो क्लबले साहित्यको माध्यमद्वारा मुलुकमा लोकतन्त्रको पुनर्स्थापना गर्नका लागि "कल्पना" द्वैमासिक साहित्यिक पत्रीका प्रकाशन गर्ने गरेको थियो । त्यस बेलाको अती कठिन राजनीतिक कालखण्डमा यस प्रकारको पत्रीका प्रकाशन गर्न चुनौतिपूर्ण एबम गार्हो भएता पनि "कल्पना" मा राजनीतिक नेत्रित्व सँगको लोकतान्त्रिक र राजनैतीक बहस एबम अन्तर्वाताहरु प्रकाशन हुने गरेको थियो । २०२७ -२०२८ साल तिरको "कल्पना" को एउटा अंकमा जननायक बिपी कोइरालाको अन्तर्वाता छापिएको थियो । यो अंक अत्यन्त चर्चित भएको थियो भने धेरैले यसलाई पढेका थिए । यसलाई नै आधार बनाएर तत्कालिन सरकारले "कल्पना"का त्यस अंकका उपलब्ध सम्पूर्ण प्रतिहरु जफत गरी उक्त साहित्यिक पत्रीका प्रकाशन माथि प्रतिबन्ध लगाएको थियो भनेर उक्त पत्रीकाको सम्पादक मण्डलमा कार्य गर्नुभएका तथा फ्रेण्ड्स क्लबको साहित्यिक बिभागमा पहिला सदस्य र पछी संयोजक रहनुभएका डा हरिहर आचार्य बताउनु हुन्छ । वहाँका अनुसार पत्रीका प्रकाशनको शिलशिलामा बनारसमा बिपी कोइरालासँग नै बस्नु हुने कांग्रेस नेता भिम बहादुर तामाङले सबै कुरामा सहयोग गर्नु हुन्थ्यो । तामाङले लेख रचना संकलन गर्ने देखी प्रुफ हेर्ने सम्मका काममा सहयोग गर्नुभएको आचार्य स्मरण गर्नुहुन्छ । साहित्यिक पत्रीकाको अतिरिक्त फ्रेन्ड्स क्लबले दसैं तिहारको अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रम र महोत्सबको आयोजना गर्ने गरेको थियो । उक्त कार्यक्रमहरु धरानमा धेरै लोकप्रिय हुने गरेका थिए । यस्ता कार्यक्रमहरुनै क्लबको लागि एकमात्र आर्थिक आर्जनको श्रोत हुन्थ्यो । त्यसै गरी क्लबकै अगुवाइमा बिभिन्न खेलकुद प्रतियोगिताहरु पनि संचालन हुने गरेका थिए । फ्रेन्ड्स क्लवकै अगुवाइमा बिभिन्न नाटकहरु पनि मन्चन हुन्थे । ति मध्ये शिव सिनेमाको हलमा देखाइएको बिजय मल्लको नाटक "कोही किन बर्वाद होस" अत्यन्त लोकप्रिय भएको थियो ।
नेपाली कांग्रेसका सम्पूर्ण नेताहरुलाई क्लबको गतिबिधी बारेमा जानकारी र चासो हुने भएतापनी तत्कालिन प्रतिकुल अवस्थामा फ्रेन्ड्स क्लबले कसैलाई धरान ल्याएर कार्यक्रम सन्चालन गर्न सकेन । नेताहरु क्लबको कार्यक्रममा प्रत्यक्ष धरान आउन नसकेता पनि स्वयम बिपि कोइरला अत्यन्त संतुष्ट हुनुन्थ्यो । जेल वा निर्बासनमा भएका कारणले नेताहरु आउन नसके पनि वहाँहरुको सद्भाव क्लबले सधैं पाइरह्यो । त्यस्तो प्रतिकुल अवस्थामा पनि कुशल संगठनकर्ता मानिनुहुने गिरिजा प्रसाद कोइराला भने भेष बदलेर भए पनि एक दुई पटक धरान आएर फ्रेण्ड्स क्लबले आफ्नो सदस्यहरु मध्ये कसैको निजी घरभित्र गर्ने अती गोप्य बैठकमा सहभागी बन्नुहुन्थ्यो । यो क्लबले सिधै कांग्रेसले गर्ने राजनीतिक कार्य नगरेता पनि निर्बासनमा रहेका र मुलुक भित्र रहेका कांग्रेसका नेताहरुसँग बराबर संपर्कमा रहेर पार्टीको निती र निर्देशनलाई पुर्वान्चलका कार्यकर्ता माझ पुर्याउने कार्य गर्दथ्यो । यसले बनारसबाट प्रकाशन हुने नेपाली कांग्रेसको मुखपत्र "तरुण" ल्याएर पूर्वाञ्चलभरी बितरण गर्ने कार्य गर्दथ्यो । २०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको निती भनेर बिपि कोइराला र गणेशमान सिंह स्वदेश फर्कनु अघी त्यस बारेमा जरी गरिएको अपिल फ्रेन्ड्स क्लबकै सकृयतामा सुनसरीमा छरिएको थियो ।
यसरी बिपिको स्वदेश आगमन भयो भने गिरिजा बाबु भारत मै बसेर संगठन गर्न थाल्नु भयो। कुशल संगठन कर्ता एबम क्रान्तिकारी छबी भएका गिरिजा बाबु स्वयमको प्रयासमा सुनसरिमा कांग्रेसको पहिलो जिल्ला समिती गठन भयो। यो समितीले नै गठन पश्चात द्रुत गतीमा लोकतन्त्रको लागि आफ्नो काम सुरु गर्न थाल्यो। पञ्चायतले सुनसरीलाई मोरङ सँग छुट्याइसकेको थियो।
नेपाली कांग्रेसका तत्कालिन महामन्त्री गिरिजा प्रसाद कोइरालाले भारतको फारबिसगन्जमा २०३४ सालमा यस जिल्लाका आग्रज नेता कार्यकर्ताहरुलाई आफु बसेको बंगाली टोलमा भेला गरी हरीनाथ बांसतोलाको सभापतित्वमा २१ सदस्यिय पहिलो जिल्ला कार्य समिती गठन गर्नु भयो।उक्त समितिको सचिबमा हरी सापकोटा चयन हुनु भएको थियो भने सदस्यहरु बेख बहादुर नेपाली, डा खलील आजाद,नच्छेदी मेहता, बन्शी मेहता, बिजय गच्छेदार, वीर नारायण चौधरी, भद्रलाल उरांव , नगेन्द्र ढुंगेल , प्रकाश कोइराला, सतिश चन्द्र गिरी , भक्त गोबिन्द श्रेष्ठ , केदारनाथ श्रेष्ठ , जीवनाथ बांसतोला, गिरिराज आचार्य, भिम बहादुर कटुवाल , नारायण प्रसाद अर्याल, जयहरी शर्मा , जयनारायण श्रेष्ठ र दशीलाल चौधरी रहेका थिए।
यही समितिको कुशल एबम जुझारु नेत्रित्वका कारणले यहाँका गाउँ गाउँहरुमा कांग्रेसको स्थिती अत्यन्त मजबूत हुनपुग्यो। मुलुकमा भएका हरेक कांग्रेसको गतिबिधिहरुमा सुनसरी कांग्रेसले पनि महत्वपूर्ण भूमिका निभाउन थाल्यो । बिसं २०३५ साल चैत्रमा बिपी कोइरालालाई बिराटनगर हावाइमैदानमा स्वागत गर्न धरान लगायत सुनसरीका सम्पूर्ण नेता कार्यकर्ताहरु बिराटनगर पुगेका थिए । तर पञ्चायतले भाडामा ल्याएका मान्छेहरुले हावाइमैदानको रनवेमा सुतेर हावाइजहाजलाई अवतरण हुन दिएनन ।
२०३६ सालको विद्यार्थी आन्दोलनमा सुनसरी कांग्रेसको प्रत्यक्ष सहयोग र समर्थन थियो भने त्यसको बलले भएको जनमत संग्रहमा बहुदलको पक्षमा यहाँको कांग्रेसले गरेको कार्यले निलो रङले सुनसरिमा बिजय हासिल गरेको थियो।
२०४२ सालको सत्याग्रहमा सुनसरी कांग्रेसले कुशलतापुर्वक नेत्रित्व गरेको थियो भने २०४६ सालको एेतिहासिक जनअन्दोलनमा पनि यहाँको जिल्ला समितिले आन्दोलनलाई बल पुर्याउन महत्वपूर्ण भूमिका निर्बाह गरेको थियो।
यसरी हेर्दा नेपाली कांग्रेस सुनसरीको पहिलो जिल्ला कार्य समितीले आफ्नो गठन पश्चात इमान्दारीपूर्वक, अत्यन्त सुझबुझका साथ अफ्ठ्यारो परिस्थितीमा पनि कुशल ढंगले कांग्रेसको पक्षमा काम गरेको पाईन्छ। यो समितीले गाउँ गाउँमा स्वयम गिरिजा बाबु सँग गएर गरेको संगठनले नै अझै सम्म यहाँ कांग्रेसलाई जिवित राख्न सकेको छ । यसले जनमत संग्रहमा आफ्नो जिल्लामा बहुदललाई जिताएको अनी २०४२ सालको सत्याग्रह र २०४६ सालको जन आन्दोलनमा ब्यापक जनसहभागीता जुटाएर लोकतन्त्रलाई पुनर्स्थापित गराएको कुरा ईतिहासमा सदा स्मरणिय रहने छ ।
बिकास आचार्य
सह सचिब
नेपाली कांग्रेस सुनसरी


https://en.m.wikipedia.org/wiki/Nepal_Student_Union
ReplyDelete