मध्य श्रावण ।
धमिलो पानिको मोटोमोटो मुस्लोको रुपमा भयंकर गर्जनका साथ कोशी आफ्नो उच्चतम गतिमा अविरल दक्षिण प्रवाहित भइरहेको थियो । सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकालाई एकापसमा अंकमाल गराउने कोशी नदीको नवनिर्मित पुल अन्य समयमा हो भने रमणीय पर्यटकिय स्थलको रुपमा विकसित हुदै गएको भान हुन्थ्यो । भिंडभाड र चहलपहलले एक किसिमको माहौल निर्माण गराएको हुन्थ्यो किनकी स्थानिय र बरपरको शहरवासीहरुको छोटो दुरीको घुम्नजाने गन्तव्य बनेको थियो कोशी माथिको यो पुल ।
तर आज , मतलब अहिले त्यही पुल , त्यही डाँडाकाँडा , त्यही हरियाली , अनि त्यही नदी अत्यंत डरलाग्दो आभाष भएको छ । बिहानको यो झिसमिसेमा रजत असिन पसिन भएको छ , दिमाग कुनै चलचित्र झैं विगत देखी आज सम्म कुदिरहेको छ ।
जिवनलाई खुशी , सुखी , उज्यालो र रमाईलो बनाउन संघर्षशील रजतले के गरेको थिएन ?
उसको परिश्रमले उसलाई न्यूनतम आवश्यकता पूर्ती गर्न अफ्ठ्यारो थिएन । जिवन खुशी साथ बितिरहेको थियो । समाएको सानो काम सफल हुदै गइरहेको अवस्थामा अचानक जिवनको एउटा दोबाटोमा आएर उसको संसार अन्तै मोडीयो । मोहनीलाई भेटेको क्षण उसले आजको दिनको परिस्थिति कल्पना पनि गरेको थिएन । केहीदिनको संगतले नै एकअर्कामा एकदमै नजिक भएका उनीहरु “ लिभिंग टुगेदर” को रिलेसनसिपमा पुग्न बेर लागेन ।
तर आकाश सधैं स्वच्छ र सफा नहुने रहेछ । मोहनी बदलिन थालिन अनि बदलिन थाल्यो उनको माया र व्यवहार । छ महिनाको विश्वासको सम्बन्ध रहेको बेला कहिले हो उनले शारिरीक सामिप्यताको भिडीयो बनाएकी रहिछन् । यो कुराबाट रजत बेखबर रहेछ । आज त्यही भिडीयो उसको उज्यालो जिवनमा अँध्यारो खोंच भएको छ , खुशी माथि सानो क्लिप मानसिक उथलपुथलको कारक भएकोछ ।
तसर्थ आज एकबिहानै ऊ कोशीको यो पुल माथि विक्षिप्त उभिएको छ , आवेश र मानसिक आवेगमा छ अनि यो निर्जनताको घनघोर आवाजले उसलाई छपक्क छोपेको छ । ऊ प्रतिक्षामा छ फ्याट निमेष भित्र उसले लिने कुनै निर्णयको , जुन अहिले चै रिक्त छ , अनन्त छ ।