Friday, March 13, 2015

राजनीति

उसको पार्टी मुलुककै अगुवा पार्टी भनिने गर्थ्यो । लोकतन्त्रको पर्यायबाची भनेर पनि धेरैले भन्ने गर्थे । यस्तो पार्टीको सदस्य हुन पाउँदा उसलाई पनि अत्यन्त गर्व महशुस हुन्थ्यो । कुनै कालखण्डमा देशको राजनीतिमा प्रतिबन्ध भएको आफ्नो पार्टी खुला राजनीतिक गतिबिधीमा संलग्न हुन पाउने भई सकेपछी अब देशले मुहार फेर्ने कुरामा उ निश्चिन्त थियो । आफ्नो पार्टीको संगठन सुढ्रीडिकरणका लागि उ अहोरात्र खट्थ्यो । हरेक कार्यक्रमहरुमा सकृय सहभागिता जनाउथ्यो ।
समय बग्दै जाँदा मुलुकमा आमुल परिवर्तन गर्छौ भन्दै एउटा समुह जंगल प्रवेश गरेर सशस्त्र बिद्रोह गर्न थाल्यो भने अली पछी दाजुको रहस्यमय हत्या भए पछी भाईले श्रीपेच लगाएर सकृय हुन खोजे । दाजु जस्तो टुलुटुलु हेरेर नबस्ने घोषणा गरेका उनले लोकतन्त्रलाई आत्मसात गर्ने सबै पार्टी र ब्यक्तिहरुलाई नियन्त्रण पनि गरे । आधुनिक संसारको मेरुदण्डको रुपमा स्थापित भइसकेको संचारका सबै साधनहरुको समेट घाँटी निमोठे । झन्डै एक दशक अगाडिको आन्दोलनबाट प्राप्त उपलब्धीहरु कुन्ठित गरियो । तत्पश्चात पुन: अर्को आन्दोलनको बिगुल फुकियो । अबको आन्दोलनले जंगल बस्नेहरुलाई घर फर्काउने र सकृय हुन चाहने भाईलाई तह लगाउने मूल उद्देश्य साथ आँधीबेहरी ल्याउन सफल भयो । उ फेरी अत्यन्त खुशी भयो । अब आफ्नो देशमा शान्ती स्थापना हुने आशाले उसको रक्तसंचार प्रबाहमा समेत नौलो तरंग उत्पन्न भयो ।