बिजयपुर ट्राभल्स एण्ड टुर्सका प्रोप्राइटर साथी प्रियस गुरागाइले झण्डै एक हफ्ता अगाडि देखी धनकुटाको डाँडाबजारमा “होम स्टे” जानको लागि समय मिलाउन आग्रह गरी रहेका थिए । कार्तिक महिनाको अन्त्य तिर समयले पनि राम्रै साथ दियो । दुई दिनको फुर्सदलाई सदुपयोग गर्न शुक्रबार दिउसो लगभग दुई बजे केही आवश्यक तयारी मात्र गरेर हामी दुई जना मोटरसाइकलमा धरान देखी उकालो डाँडाबजार तर्फ लाग्यौं । भेंडेटारदेखी पुर्व काम्फेक , नाम्जे , ओख्रे हुँदै डाँडाबजार पुगिन्छ । त्यहाँ देखी अझै पर जाने हो भने राजारानी पुगिन्छ । धरान देखी भेंडेटार कति हिंडियो भनेर शायद धरानवासीले गनेका हुँदैनन । त्यस पछी क्रमस काम्फेक , नाम्जे, ओख्रे हुँदै जाँदा त्यताको भ्रमण चैं संख्यामा पक्कै पनि घट्दै गएको हुन्छ । ओख्रे भन्दा पनि अगाडिको डाँडाबजार त्यती सारो धरानबासीको रमाइलो गर्ने गन्तव्यमा पर्न सकेको छैन । धनकुटा जिल्लाको डाँडाबजार गाबिस प्राकृतिक सुन्दरताको अनुपम नमुना त हुँदै हो , त्यस माथि यहाँ अवस्थित धजे डाँडाले यो गाबिसलाई अझ सुन्दर र आकर्षक बनाउनका लागि गहनाको काम गरेको छ । महाभारत पर्वत श्रींखलाकै उच्चतम मध्ये एक यो डाँडाबाट पुर्वको सोहृवटै जिल्लाको दृष्य हेर्न सकिन्छ । यहाँबाट कुम्भकर्ण हिमाल , मकालु हिमाल एबम सगरमाथा समेतको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । धजे डाँडाको टाउको माथि पुग्दा जुन आनन्द प्राप्त हुन्छ त्यो भन्दा बढी आनन्द त्यहाबाट देखिने सूर्याेदय र सूर्यास्तको दृष्यले हामीलाई प्रदान गर्दछ । पुलकित बनाउने चिसो बिहानीको उषा र बेलुका देखिने संध्याको लाली देख्न पाउँदा कुनै पनि ब्यक्ती मोहित नबनी रहन सक्दैन ।